व्यक्तिगत विवरण अद्यावधिक गर्न उपसचिव र शाखा अधिकृतलाई निर्देशन, १ महिनाको समय सीमा – Nepal Press

व्यक्तिगत विवरण अद्यावधिक गर्न उपसचिव र शाखा अधिकृतलाई निर्देशन, १ महिनाको समय सीमा

काठमाडौं । राष्ट्रिय किताब खाना (निजामती)ले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीलाई एक महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको किताब खानाले जनाएको हो ।

निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको विभागका सूचना अधिकारी प्रकाशजंग कार्कीले जानकारी दिए ।

उनका अनुसार कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताब खानाले यस्तो सूचना जारी गरेको हो ।

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ ।

धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

विवरण अद्यावधिक गर्न किताब खानाको वेबसाइटमा रहेको इमेल मार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण आवधिक गर्न सकिने किताब खानाले जनाएको छ ।

हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारी कार्यरत रहेका छन् ।

यसअघि किताब खानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर