मधेशमा सीके-उपेन्द्रबीच जुँगाको लडाइँ : एकअर्कामा खनिँदै – Nepal Press

मधेशमा सीके-उपेन्द्रबीच जुँगाको लडाइँ : एकअर्कामा खनिँदै

मनिष सुमन भन्छन्- मौकामा जवाफ दिन्छौं

काठमाडौं । गएको मंसिरमा सप्तरी २ को निर्वाचनमा मात्रै होइन मधेशको राजनीतिमा पनि जसपा अध्यक्ष उपेन्द्र यादवमाथि तगारो बन्दै उदाए जनमत पार्टीका अध्यक्ष डा. सीके राउत । उपेन्द्रले मधेशमा आफूले एकछत्र राज गर्ने प्रयास गरिरहेको बेलामा मंसिरको निर्वाचनपछि राउतको उदय भयो ।

मधेशी दलहरू आन्तरिक स्वार्थकै कारणले छिन्नभिन्न भइरहेको बेलामा राउतले मधेशी किसानको नारा लिएर बलियो शक्तिको रूपमा स्थापित भए । कांग्रेस-एमालेमात्रै नभएर मधेशको राजनीतिमा उपेन्द्रविरुद्ध टक्कर दिन अहिले सीके राउत कडा रूपमा प्रस्तुत भएका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्रभाव जमाउन नसकेको जनमत पार्टीले प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा बलियो शक्तिको छाप छाड्न सफल रह्यो । जुन कुरा उपेन्द्रलाई सहज भएन ।

तराई-मधेशका मुद्दा बोकेर आएका नेताहरू एउटाले अर्कोलाई अघि बढ्न बाटो छेक्नमै कम्मर कसेर लागिरहेका छन् । सप्तरीमा राउतसँगै चुनाव हारेका उपेन्द्र अहिले बारा २ बाट उपनिर्वाचन लड्दैछन् ।
तर, राउत बारामै पुगेर उपेन्द्र हराउने अभियानमा व्यस्त छन् । एउटै सत्ता गठबन्धनमा रहेको उनीहरू ठूला दलले उपेन्द्रलाई नै च्याप्न थालेपछि राउत सरकारबाटै बाहिरिएर एक्लै चुनावी मैदानमा होमिएका छन् ।

सीकेले माओवादीका प्रभावशाली नेता शिवचन्द्र कुशवाहालाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाए । कुशवाहा गएको निर्वाचनमा करिब तीन सय मतले पराजित भएका थिए । यसअघि नै झिनो मतले हारेका कुशवाहालाई पार्टीमा भित्र्याउनु सीकेको एकमात्रै लक्ष्य हो, उपेन्द्रलाई हराउनु ।

महागढीमाईको दर्शन गर्दै ‘मिसन बारा २’ अभियानको थालनी गर्दै राउतले भनेका थिए, ‘माताको यो दरबारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन । यहाँ हरेक हालतमा जनमत पार्टी हौरन छाप नै वीजयी हुनेछ ।’

उपेन्द्रलाई संसद प्रवेश गराउन निर्वाचनको आयोगको दुरूपयोग गरेको आरोपसमेत लगाउन भ्याए ।

उपेन्द्रलक्षित उनको भनाइ थियो, ‘कसैलाई तीन/चार महिना मन्त्रीविना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन हतारमा चुनावको मिति तोक्छ । आयोगले निष्पक्षरूपमा गराउनुपर्छ । त्यहाँ प्रहरी प्रशासनको दुरूपयोग गराउन हुँदैन ।’

सीकेले मधेशमा उपेन्द्रविरुद्ध लोसपा र नागरिक उन्मुक्तिलाई पनि समेटेर मोर्चाबन्दीको प्रयास गरेका थिए । तर, त्यो प्रयास उपनिर्वाचनसम्म पनि टिकाउन सकेनन् ।

अध्यक्ष राउतले आफू जीवनको कुरुक्षेत्रमा रक्ताम्य भएर संघर्षमा रहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘युद्ध टुंगिएको छैन । म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु । चारैतिरबाट घेराबन्दीमा छु। देशभरिकै जनताको अपेक्षा ठूलो छ ।’

राउतले एकपछि अर्को गर्दै उपेन्द्र र जसपालक्षित टिप्पणी गर्दै आइरहेका छन् । तर, जसपा प्रवक्ता मनिष सुमन आफ्नो पार्टीको जिम्मेवार नेताहरूले अहिलेसम्म जनमत पार्टी लक्षित गरेको कुनै टिप्पणी नगरेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘हामीले अहिले उहाँहरूले भनेगरेका कुराहरूलाई खासै ध्यान दिएका छैनौँ । तर, हदै भएपनि हामी पनि बाध्य हुन्छौं । उहाँले उपराष्ट्रपतिको निर्वाचनमा पनि प्रतिशोध साध्नुभयो । हामी चुप लगेर बस्यौं । अहिले बारा २ को निर्वाचनमा पनि गठबन्धनविरुद्ध उम्मेदवारी तय गनुभएको छ ।’

सीके राउतको जस्तै आफूहरूले पनि व्यवहार गरेको भए मधेश प्रदेश सरकारबाट जनमतका मन्त्री तत्काल निकाल्न सक्ने उनको जिकिर छ ।

उनले भन्छन्, ‘हामी अझै पर्ख र हेरको अवस्थामा छौं। तर, हदै पार गर्न थाल्नुभयो भने हामी पनि चुप लागेर बस्न सक्दैनौँ। हामीपनि आवश्यक ठाउँमा जवाफ दिन्छौं ।’

मधेशबाट उदय हुँदै गर्दा आफ्नो प्रतिस्पर्धी जसपा देखेर हो कि ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘जनमत सिद्धान्तविनाको पार्टी हो । वर्तमान राज्य सत्ताबाट नैरास्य भएकाहरूले निर्वाचनमा भोट हालेर यहाँ सम्म आएका हुन्। उनीहरूले केही गर्न सक्दैनन् ।’

आफ्नै निर्वाचन क्षेत्रमा समेत किसानको समस्या समाधान गर्न नसक्नेले केही गर्न नसक्ने आरोप लगाए । उनले सिद्धान्त नभएका पार्टीहरू कहिलेकाहिँ उदाएपनि छोटो समयमै आफैं हराउने जिकिर गरे ।

उनले भने, ‘पार्टी भनेको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ। उहाँहरूको त्यस्तो केही छैन । अरुलाई गाली गरेर पार्टी बनाउन सकिँदैन । न संघीयताको पक्षधर हुन् न त संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा केही सिद्धान्त छ । न त राष्ट्रलाई कसरी हाँक्ने भन्ने चिन्तन छ ।’

पार्टी ओरालो, उपेन्द्र ‘उकालो’

कम्युनिष्ट पृष्ठभूमिबाट राजनीतिमा उदाएका उपेन्द्रले उनले २०५६ सालमा पार्टीभित्र मधेशको कुरा उठाए । उनलाई पार्टीले उल्टै साम्प्रदायिक व्यक्ति भनी आरोप लगाएपछि राजीनामा दिएका थिए । त्यसपछि २०५४ सालमा नै गठन भएको मधेसी जनअधिकार फोरम, संघीय समाजवादी हुँदै अहिले जसपाको नेतृत्व गरिरहेको छन् ।

अहिले जसपामा अधिकांश नेताहरूले उनको साथ छाडेका छन् । तर, मधेशवादी दलमध्ये पहिलो शक्ति भएपनि पार्टी ओरालो यात्रामा छ । आफ्नो शक्ति बढाउँदै लगेका उपेन्द्रले यसलाई अझ बलियो बनाउन नेकपा एसदेखि माओवादीसँग समाजवादी मोर्चा बनाएर जान लालायीत देखिएका छन् ।

अहिले पनि कांग्रेस-माओवादी नेतृत्वको सत्ता गठबन्धनको आडमा उनले मधेश प्रदेशमा अंकगणितमा तेस्रो रहेको पार्टीको हातमा मुख्यमन्त्री पार्न सफल भए । एमाले नेतृत्व गठबन्धन टुटेर कांग्रेससहितको गठबन्धनमा उनी मधेशमा निर्णायक नै हुने छन् ।

यस्तै, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन सफल भए। रामसहायलाई उपराष्ट्रपति बनाउन सफल भएपछि आफ्नो संसद यात्रा तय गर्नका लागि उपनिर्वाचनमा उम्मेदवारी दिइसकेका छन् ।

अहिले उनलाई सत्ता स्वार्थकै कारणले कांग्रेस, माओवादी, लोसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ । त्यसैले अहिले उनले आफ्नो जित सुनिश्चिता गराउन लागिपरेका छन्।

भारतले नरुचाएको पात्र ?

त्यसो त मंसिरमा भएको चुनावताका पनि उपेन्द्र गठबन्धन छाड्न बाध्य बनाएपछि बालकोट पुगेका थिए । मधेशकेन्द्रित दलका अन्य नेताहरू भारत परस्त भएपनि उपेन्द्र पर्दैनन् ।

अन्य नेताहरूले भारतीय दूतावासको कर्मचारीले समेत भनेको मान्छन् । तर, उपेन्द्र स्वीकार्दैनन् । त्यसैले उपेन्द्रलाई हराउन बाह्य शक्ति पनि लाग्ने गरेको टिप्पणी हुने गरेको छ ।

संयोग, नै मान्नुपर्छ मंसिरको निर्वाचनमा भारतले नरुचाएको एमाले अध्यक्ष केपी शर्मा ओली र उपेन्द्र एउटै गठबन्धनमा थिए । तर, राजनीतिक विश्लेषक रोशन जनकपुरी नेपालको राजनीतिमा बाह्य हस्तक्षप हुनु स्वभाविक भएको तर्क गर्छन् ।

उपेन्द्र र सीकेबीचको जुँगाको लडाइँमा बाह्य हस्तक्षेपबारे जिज्ञासामा उनले भने, ‘यी दुईको मात्रै होइन । नेपाली राजनीतिमा बाह्य हस्तक्षेप त छ नै । अहिले समग्र सत्ताको राजनीतिमै बाह्य हस्तक्षेप भएको देखिन्छ । उनीहरू पनि त्यसैको एउटा पार्ट हुन् । कांग्रेस, एमाले र माओवादीजस्तै यीनिहरू पनि एउटा हिस्सेदारी हो ।’

उनले उपेन्द्रमात्रै नभएर सीके पनि सुरूमा त भारतले नरुचाएको पात्रकै रूपमा रहेको विश्लेषण गर्छन् ।

उनले भने, ‘उपेन्द्रमात्रै नभएर सीके पनि सुरूमा त भारतले नरुचाएको पात्रमध्येमै पर्थे । तर, अहिले कसरी प्रस्तुत हुन्छन् त्यसमा फरक पर्छ । अहिले उनीहरूको टकराबमा वैदेशिक फोर्स खुलेर देखिएका छैनन् । भारतसँग सिकेको कहिले राम्रो त कहिले नराम्रो देखिरहेको छ । त्यसैले को कस्को भन्न त सक्ने अवस्था छैन ।’

टकराब किन ?

अमेरिकाबाट फर्केर स्वतन्त्र मधेश अभियान चलाइरहेका राउतलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २४ गते ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा ल्याएका थिए ।

मूलधारको राजनीतिमा सीकेले निरन्तर उपेन्द्रविरोधी गतिविधिमा सक्रिय छन् । मधेशमा किसान आन्दोलन अगाडि बढाएकै कारणले अहिले जनताले पत्ताएका छन् ।

उपेन्द्रसहित मधेशकेन्द्रित अन्य दलहरू स्वार्थकेन्द्रित स्वार्थमा लागिरहेको बेलामा राउतले जनताको मुद्दा अगाडि उठाए । त्यसपछि उनले पार्टीलाई छोटो समयमै राष्ट्रिय पार्टी बनाउन सफल भए ।

त्यसपछि उनले मधेश सरकारलक्षित विरोधका गतिविधि अघि बढाए । त्यसैले उपेन्द्र र सीकेबीचको राजनीतिक द्वन्द्व अहिलेमात्रै होइन । अहिले आफूविरुद्ध जनमतले बारा २ मा उम्मेदवारी दिएपछि मधेश सरकारबाटै हटाउने प्रयासमा छन् उपेन्द्र । संघीय सरकारबाट यसअघि नै बाहिरिसक्यो ।

आन्दोलतका क्रममा सीकेले सबैभन्दा बढी उपेन्द्रलक्षित धेरै गतिविधि गरे । तर, अहिले अहिले उपेन्द्रले मधेशी जनताको एजेण्डा बोक्न छाडिसकेको सीके आरोप लगाउँछन् । पुरानै राजनीति द्न्द्वकै कारणले सीकेले पछिल्लो समय उपेन्द्रविरुद्धको गतिविधि र विरोधका कार्यक्रम गर्दै आइरहेका छन् ।

फागुनमा भएको उपराष्ट्रपतिको निर्वाचनमा उपेन्द्रलाई उपनिर्वाचनमा ठाउँ खाली गराउन रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउँदै उपेन्द्रको समर्थनमा गठबन्धनका शीर्ष नेताहरू लागे ।

तर, उपेन्द्र र सीकेबीच मधेश आन्दोलन नेतृत्व गर्नेभन्दा पनि सत्ता स्वार्थकै लडाइँ भइरहेको चित्रण गर्छन् विश्लेषक जनकपुरी ।

उनी भन्छन्, ‘हिजोको जस्तो राजनीति अहिले रहेन। मधेश आन्दोलनको रापताप अहिले छैन । अहिले मधेशको नाममा सत्तामा कसरी जाने भन्ने मात्रै छ । हिजोको दिनमा लोसपा र उपेन्द्रबीच आफ्नै टकराब थियो । अहिले लोसपा आफ्नै कारणले खुम्चिँदै गइरहेको बेलामा सीके राउत नयाँ प्रतिस्पर्धीको रूपमा अगाडि आएका छन् । उनीहरूबीच यही प्रतिस्पर्धा हो ।’

उनले अहिले सीकेको राजनीति अलिक आक्रमक र मधेशमा वर्चस्वकै लडाइँ चलिरहेको बताए ।

उनले थपे, ‘हिजोकै लिगेसि देखिएको छ । विगतमा सिके राउतले पनि स्वतन्त्र मधेश आन्दोलनबाटै राजनीतिमा अगाडि आएका हुन् । तर, यहाँ मेनस्ट्रिमभित्र त्यो भन्दा बाहिरको राजनीति थियो । उपेन्द्रहरूको मेनस्ट्रिमभित्रकै राजनीति थियो । त्यसैले सुरूदेखि नै उहाँहरूबीच फरक धार र दलका बीच पनि रुखो रुखो व्यवहार पहिलेदेखि हो ।’

सीकेले पनि आफ्ना विरोधी शक्तिलाई साइजमा राख्न नसके समस्या हुने बुझेरै आक्रमक शैली अपनाइरहेको उनको बुझाइ छ ।

‘अरुको आलोचना गर्दा गर्दै सीके राउत पनि उपेन्द्रहरूकै मुख्य राजनीतिक धारामा बगिरहेका मधेशवादी पार्टीहरू थिए । तीनिहरूको आलोचना गर्ने गर्थे’, विश्लेषक जनकपुरीले भने, ‘अहिले सीके पनि त्यही राजनीतिमा छिरेपछि आफ्नो प्रतिस्पर्धीको रूपमा उपेन्द्रलाई देखे । संगठन सानै टीम भएपनि राउतलाई शक्तिको रूपमा अन्यले पनि देखेका छन् ।’

सीके आक्रमक भएपछि सत्ता गठबन्धनमा रहेको शीर्ष नेताहरूको आड पाएकाले उपेन्द्रले रक्षात्मक राजनीति गरिरहेको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘उपेन्द्रहरू एउटा रक्षात्मक स्थितिमा छन् । उनी अहिले मुख्य राजनीति दलसँगको गठबन्धनमा भएकाले पनि आफूलाई थोरै सुरक्षित भएको महसुस गरिरहेका छन् । सीकेसँगै चुनावमा हारिसकेपछि उनमा पनि केही असुरक्षाको भाव त देखिन्छ त्यसैले उनीहरूबीचको प्रतिस्पर्धा सत्ताकै भएपनि नयाँ प्रकृतिबाट देखिएको छ ।’


प्रतिक्रिया

One thought on “मधेशमा सीके-उपेन्द्रबीच जुँगाको लडाइँ : एकअर्कामा खनिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर