संसद बैठक : सांसदले उठाए नागरिकता समस्यादेखि पाठेघर खसेको उपचारसम्मकाे माग – Nepal Press

संसद बैठक : सांसदले उठाए नागरिकता समस्यादेखि पाठेघर खसेको उपचारसम्मकाे माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य रायले अंगिकृत नागरिक र जन्मसिद्ध नागरिकका छोराछोरीहरु अझैपनि नागरिकताबाट वञ्चित हुनुपरेको बताए । नागरिकता नहुँदा राज्यबाट पाउने हरेक सुविधाबाट वञ्चित हुनुपरेको भन्दै उनले नागरिकता समस्या अविलम्ब समाधान गर्न आग्रह गरे ।

उनले भने, ‘अंगिकृत नागरिकका छोराछोरीहरुलाई र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकताबाट वञ्चित छ । नागरिकता समस्या कहिले समाधान हुन्छ ? सरकारका हरेक सुविधाबाट वञ्चित छन् । बैंकमा खाता खोल्न, विदेश जान, सिमकार्ड समेत पाएका छैनन् । नागरिकता समस्या अविलम्ब समाधान होस् भनेर आग्रह गर्न चाहन्छु ।’

सांसद मुक्ताकुमारी यादवले धनुषामा जिल्ला अस्पताल तयारी अवस्थामा रहेपनि उद्घाटन हुन नसकेको भन्दै तुरुन्त सञ्चालन गर्न सरकारसँग माग गरिन् । त्यस्तै, राजर्षि जनक विश्वविद्यालयमा भिसी, रेक्टर र क्याम्पस चिफ वर्षौदेखि रिक्त हुँदा विश्वविद्यालयको अवस्था नाजुक बनेको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

‘धनुषाको पूर्वीभेग डुमरिया चोकमा रहेको जिल्ला अस्पताल तयारी अवस्थामा रहेको । उद्घाटन हुन नसकेर सञ्चालन हुन सकेको छैन’, उनले भनिन्, ‘तुरुन्त सञ्चालन होस् । राजर्षि जनक विश्वविद्यालय भिसी, रेक्टर र क्याम्पस चिफ समेत वर्षौदेखि रिक्त रहदा नाजुक र अस्तव्यस्त बनेको छ विश्वविद्यालय । सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधि सभा सदस्य मैना कार्कीले जाजरकोटमा महिलाहरु पाठेघर खस्ने समस्यामा पर्दा उपचार गर्ने अस्पतालको अभाव भएको भन्दै जाजरकोट अस्पतालको स्तरोन्नति गर्न माग गरिन् ।

‘जाजरकोटमा महिलाहरुको पाठेघर खस्ने, सुरक्षित सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेको अवस्था छ’, उनले भनिन्, ‘जाजरकोट अस्पतालको स्तरोन्नति विशेषज्ञ डाक्टरको व्यवस्था, प्रविधि सहितको उपकरण, जनशक्ति व्यवस्थाको सरकारको ध्यानाकर्षण गराउछु ।’

सांसद रामकुमार राईले पहाडी जिल्लाहरुमा शव पोष्टमार्टम गर्न समस्या रहेको भन्दै हरेक पालिकामा सरकारले पोष्टमार्टम गर्ने व्यवस्था गराउनुपर्ने माग गरे ।

त्यस्तै, सांसद रोशन कार्कीले मिटरब्याजी समस्या समाधानका लागि फास्टट्र्याकबाट कानून बनाउनुपर्ने बताए ।
उनले भने, ‘सरकारप्रति मिटरब्याजीहरुले विश्वास गरेनन् । मिटरब्याजीले गठन आयोगप्रति प्रश्नचिन्ह लगाइदिए । मिटरब्याजी अझै काठमाडौंमा छन् । कानून बनाएर फास्ट ट्रयाकबाट तिनीहरुको माग सम्बोधन गर्नुपर्यो ।’

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले राष्ट्रिय भूमि आयोग निस्क्रिय रहेको भन्दै त्यसलाई सक्रिय बनाउनुपर्ने बताए । त्यस्तै, घरजग्गा किनबेचलाई राजस्वको दायरामा ल्याउनुपर्ने उनले बताए ।

‘अधिकारसम्पन्न राष्ट्रिय भूमि आयोग बनेको धेरै भयो । यसको जिल्लासम्म संरचना छ । सिन्धुलीको भिमानदेखि पूर्व पश्चिम दशौँ हजार घर किनबेच हुन्छ । तर राजस्वको दायरामा आउँदैन’, उनले भने, ‘अव्यवस्थित बसोबास र भूमिहिन समस्या समाधान गर्ने उद्देश्यसहित बनेको भूमि आयोगलाई सक्रिय बनाउने कुरा र राजश्वको दायरामा ल्याएर सिन्धुलीमा मात्रै अर्बौँ राजश्व उट्छ भने देशैभरी पुँजी निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले घरजग्गा किनबेचलाई राजस्वको दायरामा ल्याउन सकेमा अर्बाैँ राजश्व उठ्ने र पुँजी निर्माण हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर