अमेरिका र नेटोको युद्ध रणनीति सामाजिक सञ्जालमा लीक ! – Nepal Press

अमेरिका र नेटोको युद्ध रणनीति सामाजिक सञ्जालमा लीक !

काठमाडौं । रुस-युक्रेन युद्धको बीचमा युक्रेनी सेनासँग सम्बन्धित अमेरिका र नेटोको गोप्य युद्ध रणनीति सामाजिक सञ्जालमा लीक भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार यो युद्ध रणनीति ट्विटर र टेलिग्राममा लीक भएको हो । यी प्लेटफर्मका ५० करोडभन्दा बढी रुसी प्रयोगकर्ता छन् ।

गोप्य रणनीति लीक भएसँगै अमेरिकी सैन्य संयन्त्र पेन्टागनले यसबारे अनुसन्धान सुरु गरेको छ । यद्यपि उक्त रणनीति सामाजिक सञ्जालमा कसरी पुग्यो भन्नेबारे हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।

हाल उक्त रणनीतिलाई रुसका विभिन्न सञ्चारमाध्यमहरुले प्रसारण गरिरहेका छन् । अमेरिकी सैन्य विज्ञहरूका अनुसार लीक भएपछि मूल कागजातमा पनि धेरै परिवर्तनहरू देखिएका छन् । यसमा युद्धमा मारिएका युक्रेनी नागरिकको संख्या बढेको छ भने रुसी सैनिकको संख्या घटाइएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी विज्ञहरुले रुसले गलत सूचना प्रवाह गर्न विवरण हेरफेर गरेको अनुमान गरेका छन् । लीक भएका कागजातमा रहेको हतियारको डेलिभरी, सैन्य शक्ति र अन्य गुप्तचरसँग सम्बन्धित तस्बिरहरू हुनुले अमेरिकी गुप्तचर निकायको सुरक्षा प्रणालीमा ठूलो त्रुटि रहेको सङ्केत गरेको जानकारहरुको भनाइ छ ।

अमेरिकाले हाल उक्त कागजात डिलिट गर्ने प्रयास गरिरहेको भए पनि बिहीबार बेलुकासम्म सो प्रयास सफल भएको थिएन । कागजातहरूमा युद्धको निश्चित योजना भने समावेश थिएन ।

रिपोर्टका अनुसार लीक भएका कागजातहरू पाँच हप्ता पुरानो हो र यसमा मार्च १ सम्मको युद्धको लागि अमेरिकी र युक्रेनी दृष्टिकोण र अगाडि बढ्ने सेनाको आवश्यकताको डाटा समावेश छ । यद्यपि उक्त कागजातबाट युक्रेनी सैनिक संख्या र अन्य सैन्य विवरणबारे जानकारी पाउन सकिन्छ ।

यसबाहेक केही कागजातमा जनवरीदेखि अप्रिलसम्म युक्रेनी सेना, उनीहरुको उपकरण र तालिमको सूचीबारे जानकारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर