नेपाली युवाको चुनौती- झ्यालबाट फोहोर हेरेर बस्ने कि सफा गर्न पोखरीमा पस्ने ? – Nepal Press

नेपाली युवाको चुनौती- झ्यालबाट फोहोर हेरेर बस्ने कि सफा गर्न पोखरीमा पस्ने ?

एक महिनापछि नेपाली युवा विद्यार्थीको विशेष पर्व आउँदैछ । जेठ १ गते भन्नासाथ प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको राष्ट्रिय युवा संघ नेपाल) र अनेरास्ववियु स्थापना भएको दिन । नेपाली युवा विद्यार्थी आन्दोलनका नेता संगठन युवा संघ र अनेरास्ववियुमा आज लाखौं युवा गोलबद्ध भएका छन् ।

नेपालको समकालीन राजनीतिका सर्वाधिक लोकप्रिय नेता केपी शर्मा ओली संस्थापक रहेको युवा संघले यसै साता आफ्नो महाधिवेशन पनि आयोजना गर्दैछ भने विश्वकान्त मैनाली संस्थापक अध्यक्ष रहेको अनेरास्ववियुले हालै महाधिवेशन सम्पन्न गरेको छ ।

हालै सम्पन्न र केहीमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेर पहिलो संगठन बन्न अनेरास्ववियु सफल हुनुले पनि नेपाली युवा विद्यार्थीको मनोविज्ञानले के भन्छ भन्ने प्रस्ट हुन्छ । अझ धेरै युवालाई हामीले समेट्नुछ ।

सर्वहारा वर्गका महान गुरु कमरेड माओले ‘यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो तर, अन्त्यमा तिमीहरुकै हो’ भनेर युवा वर्गमा प्रेरणा जगाएका थिए ।

गुणात्मक र संख्यात्मक दुवै दृष्टिले राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन अत्यन्त जरुरी विषय हो ।

वास्तवमा युवा भनेको देशको सबैभन्दा ठूलो पूँजी हो । १६ देखि ४० वर्षका उर्बर उमेर समूहलाई राष्ट्रिय युवा परिषद ऐनले युवा परिभाषित गरेको छ । राष्ट्रिय युवा नीति २०६६ अनुरुप नेपालमा युवा कुल जनसंख्याको ३८.८५ प्रतिशत रहेको छ ।

गुणात्मक र संख्यात्मक दुवै दृष्टिले राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन अत्यन्त जरुरी विषय हो ।

युवाहरु स्वभावले नै विद्रोही हुन्छन् । उनीहरुको नशानशामा क्रान्ति, परिवर्तनको नवीन ऊर्जा सल्बलाइरहेको हुन्छ । हिजोको व्यवस्था परिवर्तनदेखि भइरहेको स्थितिबाट समाजको सामाजिक रुपान्तरणसम्ममा युवाहरुको महत्वपूर्ण योगदान छ र हुन्छ ।

इतिहासलाई हेर्दा विसं १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि विसं २००६, विसं २०१५, विसं २०३६, विसं २०४६ का जनआन्दोलन, विसं २०५२ देखि सुरु भएको सशस्त्र जनयुद्ध र विसं २०६२÷६३ को जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा युवाको सहभागिता र योगदान अतुलनीय छ ।

राजनीतिमा युवा

राज्यको व्यवस्था ठीक गर्ने नीतिलाई राजनीति भनिन्छ । राजनीतिलाई घरसँग तुलना गर्दा युवाहरुलाई घर सुन्दर र मजबुत बनाउन खटिएका कामदारसँग तुलना गर्न सकिन्छ । देशले संविधान पाए पनि सबैले यसको अपनत्व महसुस गर्न पाएका छैनन् ।

राजनीतिमा युवा पुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुन्छ र देशको ऊर्जावान पंक्तिका मुद्दा ओझेलमा पर्छन् ।

सरकार फेरबदल, पार्टी टुटफुटका श्रृंखलाले राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुग्यो । दुर्भाग्य भनौं, युवाहरु यो सबै गतिविधिको मुकदर्शक बनिरहन पर्‍यो ।

आज राजनीतिलाई परिभाषित गर्दा युवाहरु २ ठाँउमा उभिएका छन् २ वर्ग बनेर । एकथरि युवा राजनीतिलाई आफ्नो धर्म ठान्छन् । उनीहरु फरक फरक विचार राख्ने राजनीतिक पार्टीमा रहेर साम्यवाद र समाजवादका लागि लडिरहन्छन् ।

एकथरि युवाहरु सुहाउँदो सफल व्यवस्थाको परिकल्पना गरेर देशलाई अग्रगामी बाटोमा डोर्‍याउन सकिनेमा विश्वास गर्छन् । अर्काथरि युवाहरुलाई राजनीतिमा कुनै चासो छैन । उनीहरु आफ्नो भविष्य राजनीतिको घेराभन्दा बाहिर रहेर कल्पना गर्छन् । उनीहरु राजनीतिलाई फोहरी खेलसँग दाँज्छन् र आफूलाई यसबाट टाढै राख्न चाहन्छन् ।

यसरी युवाहरु दुई धारमा बाँडिनु संघर्षपछि प्राप्त भएको व्यवस्थालाई खोक्राउने पथतर्फ डोर्‍याउनु हो । अब राष्ट्रले यो समस्याको समाधान मध्यमार्गी बाटोबाट खोज्नुपर्दछ । राजनीतिमा युवा पुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुन्छ र देशको ऊर्जावान पंक्तिका मुद्दा ओझेलमा पर्छन् ।

नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई फुलेको केश, बुढ्यौली भेष र जेलनेल र संघर्षसँग दाज्ने गरिन्छ । अभ्यास पनि यस्तै छ । यो धारणाले युवालाई राजनीतिक अवसर र अर्थपूर्ण सहभागिता गराउने विषय ओझेलमा पारेको छ ।

सुकिला मुकिलाको वरपर घुम्ने र चाकडी चाप्लुसीको आधारमा जिम्मेवारी बाँडफाँट नभई क्षमताका आधारमा जिम्मेवारी दिने संस्कार विकास गर्ने हो भने युवामा राजनीतिप्रति सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ ।

अब, युवाको नेतृत्वले देशको काँचुली फेरेको प्रशस्त उदाहरणसँगै राजनीतिमा युवालाई कसरी संलग्न गर्ने र उनीहरुको दिगोपनका लागि के गर्ने, उनीहरुलाई सामाजिक र आर्थिक रुपमा देशमै कसरी टिकाइराख्ने भन्ने विषयमा राज्य गम्भीर हुँदै उचित कार्यक्रम र योजना ल्याउन आवश्यक छ ।

राजनीतिको विषयमा युवालाई विभाजित नगर्न अब राज्यले उनीहरुलाई सहयोग पुग्ने खालका वैकल्पिक काम र उनीहरुलाई आर्थिक रुपमा मजबुत बनाउन सघाउनु पर्दछ । सुकिला मुकिलाको वरपर घुम्ने र चाकडी चाप्लुसीको आधारमा जिम्मेवारी बाँडफाँट नभई क्षमताका आधारमा जिम्मेवारी दिने संस्कार विकास गर्ने हो भने युवामा राजनीतिप्रति सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ । युवालाई नाफाघाटामा हैन, उत्पादनसँग प्रत्यक्ष जोड्नुपर्दछ ।

यतिभन्दा युवाहरुले पनि राजनीति फोहोर भयो भनेर झ्यालबाट मात्र औंला ठड्याएर आफ्नो दायित्व पूरा हुँदैन । आफैं पोखरीमा पसेर त्यसलाई सफा गर्ने आँट गर्नुपर्दछ । देश, दुनियाँ र विश्वलाई आफ्नै नजरले नियाल्नुपर्छ ।

हिजो जीवन जोखिममा पारेर परिवर्तनको जग युवाले नै हाले । अब समृद्धिको युगमा युवाको सहभागिता अपरिहार्य छ । हरेक नयाँ पुस्ता पुरानोभन्दा अब्बल हुनुपर्छ र यसका लागि युवा पुस्ता राजनीतिमा भित्रिन अति आवश्यक छ ।

अहिले राम्रो पक्ष, केही मात्रामा युवाहरुले स्वःस्फुर्त हक, अधिकार, सुशासनका लागि खबरदारी गर्न थालेका छन् । सत्यको पक्षमा र सुदृढीकरणको पक्षमा ऐक्यबद्धता जनाउँदै युवाले मडारिइरहेको कालो बादल चिर्दै नीलो आकाश खोज्न थालेका छन् ।

युवा उठे देश हाँस्छ, युवा जुटे भ्रष्टाचार रुन्छ ।
मेहनत गरे जे हुन्छ, हाम्रा युवा उठे देशको काँचुली फेरिन्छ ।

(न्यौपाने एमाले निकट अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन् ।)


प्रतिक्रिया

One thought on “नेपाली युवाको चुनौती- झ्यालबाट फोहोर हेरेर बस्ने कि सफा गर्न पोखरीमा पस्ने ?

  1. विचारधारात्मक राजनीतिका बारेमा जनता सचेत र साक्षर नहुँदा अनि लोकप्रियतावादले निम्त्याउने दुर्घटनाका बारेमा पर्याप्त ज्ञान जनमा नहुँदा हिजोआज नेपालको राजनीतिमा विचारहीन चरित्रहीन र नैतिकहीन पात्र र प्रवृत्तिलाई देवत्वकरण गरिदैछ।यसले भोलि लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न सक्छ। यतिमात्र होइन, नेपालको राजनीतिमा जेलेन्स्की प्रवृत्तिलले स्थान पाउनेछ अनि देशले युक्रेनले नपाएको दुःख व्यहोर्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *