नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिने मेयरविरुद्ध पक्राउ पूर्जी जारी – Nepal Press

नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

जनकपुरधाम । एसईई परीक्षामा आफ्नो ठाउँमा नक्कली परीक्षार्थी राखेका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

मेयर कानुले एसईई परीक्षामा आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेका थिए । नक्कली परीक्षार्थी कमल साह पक्राउ परेका थिए । उनी पक्राउ परेपछि रौतहट जिल्ला अदालतले मेयर कानुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नक्कली परीक्षार्थी राखेको विषयमा अनुसन्धान गर्नुपर्ने देखिएकोले मेयर कानुविरुद्ध पक्राउ पुर्जी जारी गराइएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

मेयर कानुको सट्टामा परीक्षा दिँदा पक्राउ परेका साह गरुडा नगरपालिका ६ पोठियाहीका छन् । उनले मौलापुर नगरपालिकास्थित लक्ष्मीनियाँ मावि केन्द्रमा मेयरको सट्टा परीक्षा दिने क्रममा अनुगमन टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमै रहेका साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी भएको बुझिएको छ । उनले मेयर कानुले आफूलाई परीक्षा दिन लगाएको प्रहरीमा वयान दिएका छन् ।

नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने शिक्षा ऐनले व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार आरोप पुष्टि भएमा मेयर कानु र नक्कली परीक्षार्थी बनेका रेडियो नेपालका कर्मचारी साहलाई कैद र जरिवाना दुबै सजाय हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *