उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा महाभिडन्त- पूर्वअध्यक्षहरुकाे क-कसलाई छ साथ ? – Nepal Press

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा महाभिडन्त- पूर्वअध्यक्षहरुकाे क-कसलाई छ साथ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गएको छ । यही चैत २८ र २९ गते महासंघको साधारणसभा हुँदैछ । यो साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र केन्द्रीय सदस्यहरुलाई निर्वाचित गर्नेछ ।

निर्वाचन नजिकिएसँगै महासंघका पूर्वअध्यक्षहरु किङमेकरको रुपमा देखिने गरेका छन् । महासंघको यसअघिका चुनावमा पनि पूर्वअध्यक्षहरुले वरिष्ठ उपाध्यक्षको प्यानललाई खुलेरै सहयोग गरेका थिए । यस पटक पनि पूर्वअध्यक्षहरुको लडाइँ सुरु भएको छ ।

यसअघि चन्द्र ढकालको प्यानललाई पूर्वअध्यक्ष चण्डीराज ढकालले साथ दिएका थिए । त्यस्तै किशोर प्रधान नेतृत्वको प्यानलको पक्षमा पूर्वअध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा खुलेर नै लागेका थिए ।

अन्य पूर्वअध्यक्षहरु विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी पनि महासंघमा आफ्नो पकड जमाउने प्रयासमा छन् । विशेष गरी मुरारका, ढकाल र जोशी आफू पक्षीय प्यानल जिताउन लागिपरेका छन् ।

यसपटक पूर्वअध्यक्ष ढकालको साथ उमेशलाल श्रेष्ठको प्यानललाई रहेको छ । महासंघका पूर्वअध्यक्षहरुमध्ये सबैभन्दा धेरै पावरफुल ढकाल नै मानिन्छन् ।

महासंघका एक केन्द्रीय सदस्य भन्छन्, ‘उमेशलाल श्रेष्ठलाई पूर्वअध्यक्ष चण्डीराज र हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको साथ रहेको छ । तर, ढकाल बाहिर खुलेर भने देखिएका छैनन् ।’

अञ्जन श्रेष्ठको प्यानललाई जिताउन यसपटक पूर्वअध्यक्ष मुरारका लागिपरेका छन् । सार्वजनिक रुपमा मुरारकाले कसैलाई भोट नमागे पनि भित्री रुपमा श्रेष्ठलाई जिताउन लागेको बुझिएको छ ।

उनी पक्षीय एक केन्द्रीय सदस्यका उम्मेदवारले भने, ‘यस पटकको महासंघको चुनावमा मुरारका दाइले सार्वजनिक रुपमा भोट माग्नुभएको छैन । तर, भित्री रुपमा उहाँसँगै पूर्वअध्यक्ष जोशी लागिपर्नुभएको छ ।’

मुरारकाको एसोसियटतर्फ राम्रो पकड मानिन्छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईको पक्षमा भने अहिलेसम्म कुनै पनि पूर्वअध्यक्ष देखापरेका छैनन् । त्यस्तै वर्तमान अध्यक्ष शेखर गोल्छा यस पटक कुनै टीममा खुलेका छैनन् ।

वरिष्ठ उपाध्यक्षको रेसमा रहेका कसलाई कुन पार्टीको साथ ?

महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बहालवाला उपाध्यहरू रामचन्द्र संघाई र अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षको रेसमा छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधानले पनि वरिष्ठ उपाध्यक्षको चुनावलाई चासोका साथ हेर्ने गरिन्छ । साधारणसभाबाट अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठलाई नेकपा एमालेको समर्थन छ । उमेशलाल पुष्पलाल-सहना प्रधानका छोरासमेत हुन् । तर, उनी आफूलाई सबै पार्टीको साथ रहेको बताउँछन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलाई नेपाली कांग्रेसको समर्थन छ । अन्जनलाई कांग्रेस महामन्त्री गगन थापाको समर्थन रहेको छ । रामचन्द्रलाई देउवापत्नी आरजु राणाले साथ दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर