सन्दीपविरुद्धको मुद्दा: सातौंपटकको पेशीमा सरकारी पक्षले भन्यो- बकपत्र गर्न अझै बाँकी छ
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी आरोपको फैसला सुनुवाइका लागि सातौंपटक तोकिएको पेशीमा आएर पीडित पक्षका कानून व्यवसायीले बकपत्र गर्न अझै बाँकी रहेको र उनीहरुको बकपत्र भएपछि मात्र बहस हुनुपर्ने माग गरेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा आइतबार अपराह्न सुनुवाइ सुरु हुन लाग्दा पीडित पक्षका कानून व्यवसायीले बकपत्रको काम अझै बाँकी रहेको र उनीहरुलाई झिकाउनुपर्ने माग गरेका थिए । त्यसपछि न्यायाधीशले उनीहरुको पनि बकपत्र गर्न आदेश गरेका थिए ।
अदालत स्रोतका अनुसार पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने मेडिकल टीमका लिडरको बकपत्र हुनुपर्ने माग उनीहरुको थियो । यद्यपि चिकित्सक टोलीका एक जनासँग यसअघि नै अदालतले बकपत्र गरेको थियो ।
यस्तै सरकारी साक्षीका रुपमा रहेका दुई जनाको बकपत्र बाँकी रहेको भन्दै उनीहरुको पनि बकपत्र गर्न उनीहरुले माग गरेका थिए ।
अदालतमा साक्षीलाई बकपत्रका लागि अदालतले बोलाएको हुन्छ । बकपत्रका लागि उपस्थित नभएमा निश्चित प्रक्रिया पूरा गरेपछि अदालत फैसलाको सुनुवाइका लागि अगाडि बढ्छ । अब फैसलाको सुनुवाइ हुने भन्दै अदालतले गत माघ ९ गते पहिलोपटक पेशी तोकेको थियो । तर, सरकारी वकिलले स्थगित गराए ।
त्यसपछि माघ २३ गते दोस्रोपटक पेशी चढेकोमा फेरि सरकारी वकिलले स्थगित गराएका थिए । फागुन ८ गते तोकिएको पेशी न्यायाधीश बिदामा रहेको भन्दै स्थगित गरिएको थियो । फागुन २९ र चैत १३ गते चढेको पेशी सन्दीपका कानून व्यवसायीले स्थगित गरेका थिए । पछिल्लोपटक चैत २२ गते पेशी चढेकामा न्यायाधीशले हेर्न भ्याएका थिएनन् । त्यसयता आइतबार पेशी चढेको हो ।
यसअघि सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दाको फैसला चाँडोभन्दा चाँडो गर्न निर्देशन दिएको थियो । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि दुवै पक्ष सर्वोच्च अदालत पुगेका थिए । त्यतिबेला सन्दीपको आफूलाई विदेश जान अनुमति दिनुपर्ने मागलाई सर्वोच्च अदालतले सम्वोधन गरे पनि जिल्लामा विचाराधीन मुद्दाको यथाशीघ्र किनारा लाग्नुपर्ने भनिएको थियो ।