काठमाडौंको संस्कृति जोगाउन नदी सभ्यता बचाउनु पर्छ, सबैले सहकार्य गरौं : बालेन – Nepal Press

काठमाडौंको संस्कृति जोगाउन नदी सभ्यता बचाउनु पर्छ, सबैले सहकार्य गरौं : बालेन

उपप्रमुख सुनिता भन्छिन्- सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताएका छन् ।

‘नदी सभ्यतालाई छुट्याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा गरेको छु’, प्रमुख शाहले भने, ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ।’

आज राष्ट्रिय सभा गृहमा आयोजित गुँला बाजा र परम्परागत ज्यापू गुथि, खलः पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि अनुदान रकम उपलब्ध गराउँदै बालेनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोलले, ज्यापू महागुथि अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गरिन् । ‘सामाजिक व्यवस्थापन र पहिचानका लागि संस्कृति क्रियाकलापको महत्वलाई काठमाडौँ महानगरपालिकाले नीति र कार्यक्रममा समेट्ने छ’, भन्ने प्रतिवद्धता जनाउँदै उनले परम्परागत र संस्कारगत चलन, यस्ता चलनसँग जोडिएका ठाउँ, आँग छेँ, त्वाः छेँ, द्योः छेँः जस्ता स्थानको अध्ययन गर्ने र प्रवर्धनका लागि शैक्षिक क्षेत्रसँग जोड्ने बताइन् ।

अहिलेसम्म यसप्रकारका क्रियाकलापहरु समुदाय स्तरबाट सञ्चालन, व्यवस्थापन र प्रवर्द्धन भइरहेकोले उनीहरुको योगदानलाई सम्मान गर्दै परम्परागत क्रियाकलापको निरन्तरताका लागि अनुदान रकम उपलब्ध गराइएको उपप्रमुख डंगोलको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *