न्यायाधीश गिरीले हिजो राति आफ्नै कोठामा आएर जबरजस्ती गरेको पत्नीको आरोप – Nepal Press

न्यायाधीश गिरीले हिजो राति आफ्नै कोठामा आएर जबरजस्ती गरेको पत्नीको आरोप

काठमाडौं । न्यायापरिषदका न्यायाधीश भुवन गिरीकी पत्नी पार्वती गिरी रावलले आफूलाई श्रीमानले हिजो राति पनि जोर–जबरजस्ती गरेको बताएकी छन् । गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रेसको सम्पर्कमा आएकी रावलले गिरीले आफूलाई बारम्बार फोन गरेर हिजो भेट्न बोलाएको बताइन् । उनीहरुले सुन्धाराको काठमाडौं मलमा भेटेका थिए । भेट्नासाथ आफ्नो मोबाइल कब्जामा लिएको र मुद्दा फिर्ता लिन दवाव दिएको रावलको भनाइ छ ।

आफूले नमानेपछि पछ्याउँदै आफ्नो कोठासम्म आएको र रातभरी टर्चर दिएको उनको भनाइ छ । ‘मलाई रातिदेखि बिहानसम्म आठपटक जबरजस्ति गर्यो,’ उनले भनिन् । मुद्दा फिर्ता नलिएमा आत्महत्या गर्ने धम्कीसमेत दियो ।

यसअघि पनि रावलले गिरीविरुद्ध दिएको जाहेरी दुईपटक फिर्ता लिएकी थिइन् । यसपटक चाहीँ कुनै फिर्ता नलिने उनको अडान छ ।

गिरीकी कान्छी श्रीमती हुन् पार्वती । गिरीले जेठी श्रीमतीसँग सम्वन्धविच्छेद नगरिकन पार्वतीसँग बिहे गरेका थिए । श्रीमानले आफूलाई पटकपटक गर्भपतन पनि गर्न लगाएको र यातनासमेत दिएको पार्वतीको आरोप छ ।

उनले पछिल्लो जाहेरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिएकी थिइन् । न्यायाधीस भएपछि गिरी पहिलोपटक सो जिल्लामा पदस्थापन भएका थिए । उनी एक महिना अगाडि मात्रै त्यहाँबाट न्यायपरिषदमा सरुवा भएर आएका छन् ।
पार्वतीले न्यायको माग गर्दै धेरैपटक सडकमा प्रदर्शन समेत गरेकी छिन् ।

हिजोको घटनाबारे पार्वतीले यसरी बेलिबिस्तार लगाइन्:

हिजो एकैछिन काम छ, जसरी पनि भेट्न आउ भनेर बोलायो । मैले पनि साथीसँग सल्लाह गर्दा उनले पनि एकपटक भेटेर कुरा सुन्दा फरक नपर्ने सल्लाह दिइन् । त्यसपछि हिजो साढे दुई बजेतिर सुन्धाराको मलमा हामी भेट्यौं ।

भेटेर चिया खान बस्नासाथ मेरो मोबाइल खोसेर स्वीच अफ बनाइहाल्यो । मैले माग्दा पनि दिएन । अनि नानाराथरि कुरा गर्न थाल्यो । मुद्दा फिर्ता नगरे म मर्छु भन्न थाल्यो । मलाई नराम्रो नसोच, मैले धेरै रियलाइज गरेको छु, मैले धेरै यातना दिएको छु, अन्याय गरेको छु, मलाई माफ गरिदेउ भन्यो ।

एक–डेढघन्टा बसेपछि म जान खोज्दा तिमीले मलाई माफ नगरेसम्म छोड्दै छोड्दिन भन्यो । मलाई त्यहाँबाट हातमा समातेर तान्दै बानेश्वरसम्म ल्यायो । त्यहाँ एउटा चिया पसलमा फेरि चिया खुवाउन भनेर बसायो । त्यहाँ पनि उही कुरा दोहोर्याइरह्यो ।

त्यहाँबाट म हिँड्न खोज्दा उ पनि पछिपछि लाग्यो । म पनि तिम्रो कोठामा नै जान्छु भन्यो । मलाई छोड्दै छोडेन । त्यहाँबाट सामाखुसीमा रहेको कोठामा पुग्यौं । कोठामा ममात्रै बस्छु । राति १० बजिसकेको थियो । भित्र पस्नासाथ उसले चुकुल लगायो । फेरि मुद्दा फिर्ता गर भनेर टर्चर दिन थाल्यो । मुद्दा फिर्ता नलिए आत्महत्या गर्छु भनेर धम्क्याइरह्यो । ३१ गतेसम्म छुट्टि मागेको छु, मलाई केही पनि हुँदैन, बरु तिमीलाई नै गाह्रो हुन्छ भनेर दवाव दिइरह्यो । राेएर मेराे खुट्टासमेत ढाेग्याे । 

यति मात्र होइन, मलाई राति जबरजस्ति पनि गर्यो । त्यो पनि एकपटक होइन, पटक-पटक । राति ११ बजेदेखि बिहानसम्म पनि मलाई छोडेन । कहिले प्रलोभन देखाएर कहिले धम्की दिएर मलाई लुटिरह्यो ।

बिहानसम्म पनि मेरो मोबाइल उसकै कब्जामा थियो । उ बाथरुम गएको बेलामा मैले चुकुल खोलेर अर्को कोठामा बस्ने बैनीको मोबाइल मागेँ र मेरो साथी बिनु यादवलाई फोन गरेँ । बिनुले प्रहरीलाई खबर गरिन् । प्रहरी कोठामा नै आयो । त्यसपछि बल्ल मैले आफ्नो मोबाइल फिर्ता लिएँ । प्रहरीले उसलाई पक्राउ गर्यो ।

अहिले हामी प्रहरी परिसर टेकुमा छौं । मेडिकल चेकअप गर्नुपर्छ र अर्को जाहेरी दिनुपर्छ भनिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *