जनमुखी नीति ल्याउन सरकार असफल: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मुलुकको अर्थतन्त्र बिग्रिएको बेला सरकार जनमुखी हुन नसकेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २४औं साधारणसभामा बोल्दै उनले सरकारले व्यापार घाटा घटाउने, आयात घटाउने र निर्यात बढाउने खाले नीतिगत व्यवस्था गर्न नसकेको बताए ।
उनले सरकारको नीतिका कारण महँगी बढेको र नागरिक समस्यामा परेको आरोप लगाए ।
मुख्यमन्त्री कार्कीले अर्थतन्त्र रेमिट्यान्सको भरमा हुँदा पनि सरकारले आयात घटाउने र निर्यात बढाउने नीति ल्याउन असफल भएको बताए । ‘यो बेला बैङ्कको ब्याजदर घटाउनुपर्ने हो । तर, यस्तो नीति आएन । नाफामा अन्तर्राष्ट्रिय व्यापारी र बैङ्कहरूमात्रै रहे’, उनले भने, ‘अर्थतन्त्रमा सङ्कट उत्पन्न हुँदा स्वदेशी उद्योगी र उद्योग अहिले धराशायी भएको छ ।’
देशको आर्थिक अवस्था दिन प्रतिदिन खस्कँदै जानु राम्रो सङ्केत नभएको उनको दाबी छ । बैङ्कमा मौज्दात भएको पूँजी परिचालन गर्नुपर्ने बताए । तर, सरकारले बैंकमा सञ्चित भएको पूँजी साना तथा मझौला उद्योगलाई लगानी गर्ने नीति ल्याउन नसकेको बताए ।