चितवन २ उपचुनाव: जीत जोगाउने चुनौतीमा रवि, कांग्रेस र एमालेको जित्ने दाबी – Nepal Press

चितवन २ उपचुनाव: जीत जोगाउने चुनौतीमा रवि, कांग्रेस र एमालेको जित्ने दाबी

चितवन । चितवन क्षेत्र नम्बर २ यति बेला चर्चामा छ । मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा अत्यधिक मतले विजयी रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि उनको सांसद पद खारेज भएको थियो । त्यसैकारण चितवन २ उपनिर्वाचनमा होमिएको छ । अहिले यस क्षेत्रमा चुनावी रस्साकस्सी जोडतोड बढेको छ ।

देशैभरमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित लामिछाने पुनः चुनावी रणसंग्राम छन् । लामिछानेविरुद्ध यस क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका निवर्तमान चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ चुनावी मैदानमा छ्न । दुई ठूला दलका जिल्ला अध्यक्ष तथा सभापति नै उम्मेदवार भएकाले पनि यस क्षेत्रको चुनाव सबैको चासोको केन्द्र बनेको छ ।

लामिछानेलाई पहिलेको मतान्तर जोगाउने चुनौती

गत मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने ३४ हजार २८१ मतान्तरले निर्वाचित भएका थिए । यो मतान्तर नै उनको लागि यतिबेला प्रतिष्ठाको विषय बनेको छ । यति धेरै मतान्तरसहित विजयी लामिछानेलाई यो मतान्तर कायम राख्न चुनौतीपूर्ण छ ।

त्यस्तै उपचुनावको मुखैमा भएको विभिन्न किसिमका आरोप उनको जीतको लागि तगारो बनेको छ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएसँगै उनी नैतिक रुपमा अप्ठेरोमा परेका छन् । अडियो टेप बाहिरिएपश्चात् रास्वपाबाट मन्त्री बनेकाहरु अन्यले पनि पैसा बुझाएर मन्त्री बनेका त होइनन् भन्ने बहस चलेको छ ।

यसअघि सहज जीत हासिल गरेका रविलाई फेरि पनि जित्नैपर्ने दबाब छ । तर, मत परिणामलगत्तै सरकारमा जाने रास्वपाको निर्णयले पनि लामिछानेका धेरै मतदाताहरुलाई झस्काएको छ । सरकारमा सामेल नभई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने मतदाताको अनुमानविपरीत सरकारमा गएको धेरै मतदातालाई चित्त बुझेको छैन । अझ उपप्रधानमन्त्री पदको लागि बार्गेनिङ गरिएको, मतदाताको चाहनाविपरीत गठबन्धन कायम गरेको र पुनः गठबन्धन परिवर्तन गरिएको घटनाले मंसिर ४ मा भोट दिएका उनका मतदाताहरु अहिले बिच्किएका छ्न ।

त्यसो त उनका धेरै मतदाताहरु मंसिर ४ को चुनावमा आएको मतान्तर अहिले दोहोरिन नसक्ने बताउँछन् । कालिका नगरपालिका- ४ का मतदाता रणबहादुर तामाङ पहिलेको जस्तो रविको पक्षमा माहोल नभएकाले हारजीत यसै भन्न नसकिने बताउँछन् ।

उनी भन्छन्, ‘वर्षौंदेखि हामी एमालेका मतदाता हौं । मंसिरमा भएको चुनावमा भोट घण्टीमा दिएका थियौं । अब भने घरसल्लाह गरेरमात्रै कसलाई भोट दिने निधो गर्नेछौं ।’

मंसिरमा भएको निर्वाचनमा लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याएका थिए । जुन आँकडाबाट एमाले र कांग्रेस एकै हैसियतको रहेको प्रमाणित हुन्छ ।

गुमेको मत फर्काउने प्रयासमा कांग्रेस-एमाले

मंसिरमा सम्पन्न चुनावपछि एमाले र कांग्रेस एकै लाइनमा आएका छ्न । दुबैको समान हैसियत भएकोले दुबै पार्टी रविलाई गएको भोट आफ्नोतिर तान्न प्रयासरत रहेका छ्न । ठूला पार्टीको मतदाताले नै रास्वपाका उम्मेदवारलाई मत दिएको विश्लेषणपश्चात् दुबै पार्टी गुमेको मतको अंक गणित मिलाउन हदैसम्म प्रयासरत देखिन्छन् ।

जसको लागि एमाले तथा नेपाली कांग्रेसका शीर्ष नेताहरुको चितवनमा आवतजावत बाक्लिएको छ । चितवन-२ लाई ठूला दलहरुले प्रतिष्ठाको क्षेत्र बनाएको यसबाट प्रस्टै छ ।

नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन लागिरहेको छ । यसअघि चितवन- २ मा एमालेका कृष्णभक्त पोखरेलले दुईपटक जीत हासिल गरे पनि मंसिरको चुनावमा उनको दाल गल्न सकेन । त्यसैले पनि नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन चाहन्छ । चितवनमा कायम तीन वटा क्षेत्रमा कहीं पनि एमाले, कांग्रेस तथा नेकपा माओवादीका प्रतिनिधि मंसिरमा निर्वाचित भएनन् । त्यसैले पनि ठूला दलहरुलाई उपचुनाव इज्जत बचाउने मेसो बनेको छ ।

नेपाली कांग्रेस तथा नेकपा एमालेका उम्मेदवारहरु एकअर्काप्रति नरम देखिए पनि रविमाथि चर्को खनिएका छन् । सभा तथा सम्मेलनमा लामिछानेप्रति आक्रामक देखिएका उम्मेदवारहरु एकअर्काविरुद्ध सार्वजनिक रुपमा उत्रिएका छैनन् ।

एमाले उम्मेदवार न्यौपाने आफ्नो एकमात्र प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार श्रेष्ठसँग रहेको बताउँछन् । आफू जीतको नजिक रहेको र एकमात्र प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हुने उनको ठोकुवा छ ।

यता नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठ पनि आफ्नो प्रतिस्पर्धा एमालेसँगै हुने बताउँछन् । मुलुकको कुनैपनि कालखण्ड र परिवर्तनमा योगदान नै नभएको पार्टीलाई जनताले सधैं विश्वास नगर्ने उनको भनाइ छ । तत्कालीन अवस्थामा रास्वपाको जीतलाई हावाहुरीको संज्ञा दिँदै हावाहुरी सधैं नआउने उनी बताउँछन् ।

जनता सचेत भएकाले अबको जीत आफुहरुको पक्षमा आउने उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर