भारतमा नेपाली हेपिएका पीडा र मुसहर बस्तीको प्रेरणा
केही दिनदेखि भारत उत्तर प्रदेशका गाउँहरु घुम्दैछु । आफ्नो स्वास्थ्य समस्या, आर्थिक, राजनीतिक, सामाजिक अनेकौं तनावलाई झेल्दै नियाल्दै अकस्मात भारतीय भूमि प्रवेश गरियो । भारतका शहर, गाउँ र औद्योगिक क्षेत्र हरेक चोकमा निराशाजनक अनुहार बोकेका नेपालीहरु पाइला पाइलामा भेटिए । नेपाली दाजुभाइ, दिदीबहिनीहरुका कथाव्यथाहरु निकै कम पीडादायी छन् ।
देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि नागरिकको दैनिकीमा परिवर्तन हुन सकेको छैन । म केही दिनअघि भारतमा वैकल्पिक स्वास्थ्योपचार प्राप्तिको खोजीमा आएको थिएँ । आफ्नो व्यक्तिगत जीवन कमजोर स्वास्थ्य अवस्था र केही तनाव बोकेर निश्चित समय भारत घुम्ने निर्णय गरेर म आएको थिएँ । भारत प्रवेश गर्दैगर्दा आर्थिक समस्या, भाषिक समस्या, नेटवर्कको समस्या यी कुराले मलाई सताइरहेको थियो । तैपनि केही भारतीय भूमिका साथीहरुलाई सम्झना गरें । अनि भारतीय सरकारी परिवहन रोडवेजबाटै यात्रा गर्ने निर्णय गरी बसमा बसें । बसमा मलाई लागिरहेको थियो- नेपाली ममात्र छु । तर, चालीस जना सवार बसमा दुईतिहाइ नेपाली भेटिए । उनीहरु भारतका विभिन्न शहरमा रोजगारीको गन्तव्यमा जाँदै थिए । मातृभूमि छाड्दै गर्दा उनीहरुको अनुहार भाव र भाषाले घरपरिवार र देश छाड्दाको पीडाबोध गरिरहेको थियो ।
भारतीय सरकारी सेवामा रहेका साथीहरुको बोलीचालीमा भने केही दम देखिन्थ्यो । तर, अल्पकालीन रोजगारीमा भौंतारिरहेका नेपाली मित्रहरुको कथा भने धेरै पीडादायी देखिन्थ्यो । बसमा भारतीय सेनामा कार्यरत बाग्लुङका प्रकाश मगर र पूर्ण सुवेदी भेटिनुभयो । म पेशाले पत्रकारिता र राजनीतिसँग जोडिएको थाहा पाएपछि उहाँहरुले केही गुनासा र अनुभव सुनाउनुभयो । भारतीय सेनामा नेपालीले दिएको योगदानवापत प्रत्येक महिना अर्बौं भारतीय मुद्रा नेपालले प्राप्त गरेको छ । तर, भारतीय सेनामा कार्यरत नेपालीलाई हेर्ने दृष्टिकोण अहिलेसम्म सकारात्मक छैन ।
बसमा मलाई लागिरहेको थियोऔ नेपाली ममात्र छु । तर, चालीस जना सवार बसमा दुईतिहाइ नेपाली भेटिए । उनीहरु भारतका विभिन्न शहरमा रोजगारीको गन्तव्यमा जाँदै थिए । मातृभूमि छाड्दै गर्दा उनीहरुको अनुहार भाव र भाषाले घरपरिवार र देश छाड्दाको पीडाबोध गरिरहेको थियो ।
त्यसमाथि विगत तीन वर्षदेखि नेपाल सरकारले भारतीय सेनामा भर्ना रोकेर नेपाली युवाहरुको यता आउने बाटो नै बन्द गरिदिएको छ । नेपाल सरकारको यो कदमले मुलुकले राम्रो आर्थिक लाभ र अवसर गुमाउँदैछ । प्राविधिक कारण देखाएर तीन वर्षदेखि नेपाल सरकारले भारतीय सेनामा भर्ना कार्यक्रम रोकेको छ । अर्कोतर्फ भारतमा मोदी सरकार उदाएपछि नेपालीहरुलाई रोजगारका अवसरमा पनि अघोषित निषेधको नीति लागू गरेको छ । भारतका प्राइभेट प्रतिष्ठान र सरकारी संस्थानमा पनि विगतमा जस्तो प्रवेशको सहज अवसर छैन । विगतमा प्रदान गरिएका आधार कार्ड, भोटर कार्डहरुलाई पनि छानबिनको दायरामा राखी नेपालीहरुमाथि विभेदको नीति अख्तियार गरिएको छ ।
भारतको दिल्लीमा चार दशकदेखि बस्दै आएका गुल्मीका प्रेम नेपालीका अनुसार भारतका सबै प्रान्तको अध्ययन अनुभव गर्दा करिब तीस लाख नेपालीहरु भारतीय भूमिमा कार्यरत छन् र उनीहरु असंगठित रोजगारीमा छन् । तैपिन उनीहरु घरपरिवार नेपाली समाजको गर्जो टार्ने काममात्र होइन, देशलाई नै ठूलो मात्रामा रेमिट्यान्स दिएर साथ दिएका छन् । तर, नेपाल सरकारसँग त्यसको कुनै लेखाजोखा छैन । अर्कोतर्फ भारतविरुद्ध नेपाली भूमिमा चर्को नारा घन्काउने साथीहरुसँग पनि नेपालीले भोगिरहेका समस्या समाधान गर्ने कुनै एजेण्डा र विकल्प छैन भनिन्छ ।
भारतसँग नेपालको रोटी र बेटीको सम्बन्ध छ । यो यथार्थ पनि हो । तर, त्यो नागरिक सम्बन्धलाई सहज बनाउन दुबैतर्फका सरकारहरु गम्भीर छैनन् । परापूर्वकालदेखि नागरिकहरुले बचाएको नेपाल-भारत सम्बन्ध बलियो नै छ । धेरै कुरा भारतले नेपाल निर्यात गर्दछ । तर, नेपालका शासकहरु लिनमात्र जानेका छन्, दिन जान्दैनन् । भारतको संविधान, ऐन, कानूनहरुले निर्धारण गरेका जनपक्षीय नीति नियमहरु दशगजा पारिका नागरिकहरुले उपभोग गरिरहेका छन् । दशगजा वारि नेपाली भूमिका नेपालीहरुले टुलुटुलु हेरेर बसिरहनुपरेको छ । दैनिक उपभोग्य वस्तुमा समेत भारी विभेद कायम छ । धन्न राष्ट्रियताको नाममा नेपालीहरुले शासन गरिरहेका छन्, विद्रोह गरिरहेका छैनन् ।
भारतीय सेनामा नेपालीले दिएको योगदानवापत प्रत्येक महिना अर्बौं भारतीय मुद्रा नेपालले प्राप्त गरेको छ । तर, भारतीय सेनामा कार्यरत नेपालीलाई हेर्ने दृष्टिकोण अहिलेसम्म सकारात्मक छैन ।
मुसहर बस्तीको प्रेरणा केन्द्र
मैले बसबाटै भारतको दिल्लीलाई केन्द्र बनाएर दलित मुसहर बस्तीहरुमा अधिकार आन्दोलनमा जोडिएका मित्र विद्याभूषण रावतलाई फोन गरें । रावतजीले आफ्नो संरक्षणमा निर्मित प्रेरणा केन्द्र अध्ययन गर्ने सुझाव दिनुभयो । उहाँ र स्नेही बहिनी संगीताको पहलमा प्रेरणा केन्द्र मुसहर बस्ती मलवावर गाउँ देवरिया जनपथ उत्तर प्रदेशमा निर्मित छ । भूमिहीन गरिब मुसहर समुदायको जीवनमा बदलाव ल्याउने उद्देश्यले निर्मित प्रेरणा केन्द्र साँच्चिकै प्रेरणाको स्रोतको केन्द्र बनेको छ । सन् २००७ देखि गाउँ नै उज्यालो भएको छ । हरेक घरधुरीका बालबालिका विद्यालय जान लागेका छन् । सामन्ती समाज, पूँजीवादी व्यवस्था र दासप्रथा युगिन सामाजिक व्यवहारबाट पीडित देवरिया मलवावर गाउँमात्र होइन, पूरै उत्तर प्रदेशका मुसहर समुदायमा प्रेरणा छर्न सफल भएको छ प्रेरणा केन्द्र । संस्थाको आफ्नै भवन, सामुदायिक खेती र पशुपंक्षी पालन नमुनायोग्य छ ।
यो संस्थाको नेतृत्व बहिनी संगीताले गरिरहनुभएको छ । यही संस्थाका कारण मुसहर बस्तीमा चेतनाको ज्योति प्रवाह भएको छ । निजी जीवन व्यक्तिगत स्वार्थ त्यागेर संगीताको टीम अधिकारको लागि संघर्ष गरिरहेको छ । बहिनी संगीता भन्नुहुन्छ- ‘हिजो मुसहर समुदायलाई हेंलाहोचो गर्नेहरु आज सजक भई अधिकार दिन बाध्य भएका छन् ।’ प्रेरणा केन्द्रको अध्ययन गर्न स्वदेश तथा विदेशका धेरै मान्छेहरु मलवावर गाउँ आउने कुरा बहिनी संगीताले सुनाउनुभयो ।
केही समयअघि सोच नेपालका उत्तम निरौलाले परिवारसहित प्रेरणा केन्द्रको अध्ययन गर्नुभएको थियो । आफ्नै कार्यालय भवन, अतिथि निवास, तालिम केन्द्र, कृषि बगैंचा सुन्दर छन् । प्रेरणा केन्द्रको आर्थिक स्रोत नागरिकहरु नै हुन् । यसलाई वैभव बनाउने भूमिकाको नेतृत्व सोसियल डेभलपमेन्ट फाउण्डेशन दिल्लीका अध्यक्ष विद्याभूषण रावत र बहिनी संगीताले गरिरहेका छन् । यो उपलब्धिका लागि उनीहरुको स्रोत विदेश सहायता होइन र भारत सरकारको सहयोग पनि छैन । केवल विद्या र संगीताको योजना, समर्पण, अठोट र लगावमात्र हो । नेपालमा जस्तो गैरसरकारी संस्थाहरुलाई अनुदान दिने नीति भारतमा छैन । बरु मोदी सरकारले भारतमा गैरसरकारी संस्थाहरुमा विदेशी लगानीलाई कडाइ गरेको छ । तर पनि नागरिक पहलमा प्रेरणा केन्द्र सवल बन्न पुगेको छ, संस्थाको वलमा उनीहरु अधिकारको आवाज घन्काउँछन् । उत्तर प्रदेशमा एकैसाथ विरोधको आवाज घन्काउन सफल छन् । प्रेरणा केन्द्रले अन्य सामाजिक सुधारका अभियानहरु पनि जोडदार चलाएको छ ।
भारतमा मोदी सरकार उदाएपछि नेपालीहरुलाई रोजगारका अवसरमा पनि अघोषित निषेधको नीति लागू गरेको छ । भारतका प्राइभेट प्रतिष्ठान र सरकारी संस्थानमा पनि विगतमा जस्तो प्रवेशको सहज अवसर छैन ।
केन्द्रद्वारा समाजमा दाइजोविरोधी सामूहिक विवाह समारोहको आयोजना गर्दछन् । एउटै समारोहबाट दजनौं युवायुवतीको विवाह सम्पन्न गर्दछन् । आगामी मे महिनामा २५ जना जोडीको विवाह समारोह आयोजना गरिँदैछ । यसअघि अधिकारका लागि उनीहरु लामो पैदल यात्रा गरे । उत्तर प्रदेशका विभिन्न जिल्लाहरुमा ५०० किमिभन्दा लामो यात्रा गर्दै भूमि, खाद्य, शिक्षा, राजनीतिक र रोजगारमा अधिकारका लागि सडक सभाहरु गरे, अहिले प्रेरणा केन्द्र मुसहर समुदायको लागि मात्र होइन अन्य समुदायको लागि पनि नमुनायोग्य बनेको छ । हामी नेपालीहरुका लागि पनि यो अनुभव आदानप्रदान अनुकरणीय बन्दैछ । म यही अध्ययन गर्दैछु ।
भारत उत्तर प्रदेश देवरिया, महाराजगञ्ज गोरखपुर, कुशीनगरका बस्तीहरु त्यससँगै भारतका सुपरिचित समाजवादी नेता, सामाजिक अभियन्ता, बहुजन पार्टीका संस्थापक काशीरामका नाममा उत्तर प्रदेश सरकारले काशीराम ग्रामीण विकास अभियान चलाएको छ । छिमेकी देशका यिनै अनुभवहरुमाथि भारतीय नागरिकसँग अध्ययन र अन्तरक्रिया गरेको छु ।
२०७९ चैत २६ कुशीनगर भारत ।
(पहाडी संविधानसभा सदस्य तथा दलित पत्रकार महासंघका अध्यक्ष हुन् ।)