युवा संघमा सर्वसम्मत नेतृत्व, जोगियो ‘टिम महेश’को एक दशकदेखिको बर्चश्व – Nepal Press

युवा संघमा सर्वसम्मत नेतृत्व, जोगियो ‘टिम महेश’को एक दशकदेखिको बर्चश्व

काठमाडौं । ठिक एक दशकपछि नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा निर्वाचनबाट नेतृत्व चयन हुँदै थियो । अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दर्ता समेत भइसकेका बेला बुधवार मध्यराति नेपालगञ्ज महाधिवेशनमा निर्वाचन रोकियो र बिहीबार इन्चार्ज महेश बस्नेतले सर्वसम्मत पदाधिकारीको नाम घोषणा गरे ।

संयोग नै मान्नुपर्छ २०६९ फागुनमा बुटवल महाधिवेशनबाट महेश बस्नेत निरज आचार्यलाई पराजित गर्दै युवा संघको अध्यक्ष निर्वाचित भएका थिए । ठिक १० वर्षपछि २०७९ चैतमा सम्पन्न नेपालगञ्ज महाधिवेशनमा उनैले सर्वसम्मतिको नेतृत्व गरे ।

बस्नेत युवा संघको अध्यक्ष निर्वाचित भएपछि विधिवत् महाधिवेशन भएको पनि यसैपटक हो । यसबीचमा महाधिवेशन नभई निरु पाल, राजीव पहारी, रमेश पौडेल र किरण पौडेल चारजना अध्यक्ष भएका थिए । पार्टी एकताको बेला वाइसिएलतर्फका रामप्रसाद सापकोटा अध्यक्ष भए ।

नेकपा एमालेले चैतभित्र सबे जनवर्गीय संगठनहरुको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिए बमोजिम युवा संघको महाधिवेशन भएको हो ।

अनेरास्ववियुमा निर्वाचनबाट नेतृत्व चयन भएकाले यसपटक युवा संघमा पनि निर्वाचनबिना सयौँ आकाङ्क्षीहरूको व्यवस्थापन सम्भव नहुने भन्दै केही नेताहरूले जबजको सिद्धान्त बमोजिम प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न भनेका थिए ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले महाधिवेशनको बन्द सत्रमै निर्वाचनबाट नेतृत्व चयन होस् भन्ने आशय व्यक्त गरेका थिए । एमाले सचिव रघुवीर महासेठदेखि कर्ण थापा र युवा संघकै पूर्व अध्यक्ष रमेश पौडेललगायतका नेता पनि निर्वाचनको पक्षमा रहेको बताइन्छ ।

नेताहरूको चाहना बमोजिम नै सन्तोष रावल अध्यक्ष र अञ्जना रावलले महासचिवमा उम्मेदवारी दिएका थिए । तर एक दशकदेखिको युवा संघमा महेश बस्नेतको दबदबा यसपटक पनि तोड्न सकेनन् ।

प्रतिस्पर्धाका लागि चुनावी मैदानमा गइसकेका उम्मेदवारहरूलाई समेत सहमतिमा ल्याएर बस्नेत टिमले सर्वसम्मत २९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । युवा संघमा सर्वसम्मति कायम गर्न ‘टिम महेश’मा निरु पाल,राजीव पहारी र सञ्जीवकुमार झाको भूमिका थियो भने निवर्तमान हुँदै गरेको किरण पौडेल पनि त्यसमा थिए ।

युवा संघको नेतृत्वबाट क्रान्ति बुर्लाकोटी र रामजी सापकोटाले स्वैच्छिक अवकाश लिँदा सन्तोष रावल र अञ्जना अधिकारीको भने बाध्यात्मक बहिर्गमन भयो । अध्यक्ष र महासचिवमा उम्मेदवारी दिएका उनीहरूलाई सर्वसम्मतिको टिममा अटाउन नसकिएको नेताहरूले बताएका छन् ।

निर्वाचन हुँदा पराजित भइने भएकाले धेरैले सो टिममा उम्मेदवारी नै दिन आँट नगरेका कारण पनि सर्वसम्मतिको महेश बस्नेत टिमको प्रयासमा उनीहरू बाधक बन्न सकेनन् । विभिन्न पद सिर्जना गरेर विद्रोही पक्षलाई पनि सेटल गरिएको बस्नेत पक्षधहरुको दाबी छ ।

तर केही नेताले भने ‘टिम महेश’को कोप भाजनमा उनीहरू पारिएको बताएका छन् । आफूहरूलाई देखाउने भन्दै केही नेताको उक्साहटमा विद्रोही बनेपछि टिम महेशले उनीहरूलाई बहिर्गमन गराएको हो । विद्रोही टिमका नेता अमित लामा भने उपाध्यक्षमा अटाएका छन् । उनी अध्यक्षका दाबेदार थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्दा विद्रोही टिमबाट दुई उपाध्यक्ष र दुई सचिव समेटिएका छन् । उपाध्यक्षमा अमित लामा र प्रकाश गौतम तथा सचिवमा कुबेर अधिकारी र पर्वत भण्डारी सो समूहबाट परेका छन् । प्रकाशलाई समेट्नका लागि उपाध्यक्षको संख्या ७ पुगेको बताइएको छ ।

युवा संघमा महेश बस्नेतको दबदबा तोडियोस् भन्नेमा एमालेकै केही नेताहरूको सद्भाव महेश विरोधी नेताहरूमाथि थियो । तर करिब १७ सय प्रतिनिधिमा ७० प्रतिशत टिम महेश पक्षधर आएको बुझेपछि चुनावभन्दा सर्वसम्मतको पहलमा उम्मेदवारहरू नै लागेका थिए ।

यद्यपि केन्द्रीय सदस्यका धेरै उम्मेदवारले प्रतिस्पर्धा गर्ने जबजको मान्यतामाथि बन्देज लगाइएको भन्दै सार्वजनिक रूपमा विरोध गरेका छन् । चुनाव हुँदा नेताले चाहेका धेरै ‘हाटहुटे केटा’हरू पराजित हुने भएकाले सर्वसम्मतका नाममा राजनीतिक चेत भएका कार्यकर्तालाई नेतृत्वमा जाने अवसरबाट वञ्चित गरिएको आरोप समेत छ ।

क्षितिज थेबेको पक्षमा प्रतिनिधिहरूको दुई तिहाइ हिस्सा देखिए पनि अन्य पदमा प्रतिस्पर्धाको सम्भावना थियो । तर टिम महेशको पहलमा सर्वसम्मत गरियो र बिदा हुनेहरूको जिम्मा पार्टीले लिने भनिएको छ । बस्नेत पक्षका नेताहरूले भने युवासंघभित्र खेल्न खोज्ने नेताहरू नेपालगन्जबाट निराश भएर फर्किएको बताएका छन् ।

यो सर्वसम्मतिको प्रक्रियामा पार्टी अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल,सुवास नेम्वाङदेखि महासचिव शंकर पोखरेललगायतका नेताहरूको परामर्श लिइएको युवा संघका सहइन्चार्ज सञ्जीवकुमार झाले बताए ।

युवा संघको कोषाध्यक्ष भएका बेला वाइसिएसलँग भिड्न बनेको युथफोर्स कमाण्डर भएपछि चर्चामा आएका बस्नेतले त्यसयता संगठनमा आफ्नो एकल वर्चस्व कायम राखेका छन् । २०६९ मा अध्यक्ष भएपछि उनी लामो समय सो पदमा रहे ।

त्यसपछि उनकै रोजाइका पात्र अध्यक्ष बने । जसले बस्नेतसँग विद्रोह गरेर अर्को टिम बनाउँन खोजे उनीहरू युवा संघबाटै बिदा भएका छन् । यसपटक पनि बस्नेतको वर्चस्व ढाल्ने प्रयास असफल भएको छ र यसबापत केही युवा नेताहरू संगठनबाट अनिश्चित बहिर्गमनमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर