जारी- उपेन्द्र सुब्बाको मास्टरपिस
काठमाडाैं । व्यवसायिक पाटोलाई बिर्सने हो भने पछिल्लो एक दशकलाई नेपाली चलचित्रको ‘स्वर्ण काल’ मान्दा हुन्छ । खासगरी २०६९ सालमा प्रदर्शित ‘लुट’ यता नेपाली चलचित्रमा नयाँ पुस्ताले हस्तक्षेप गर्यो । बासी भारतीय फर्मुलामा टेकेर चलचित्र बनाउने परम्परागत ढर्राबाट बाहिर निस्कँदै यो पुस्ताका लेखक–निर्देशकले आफ्नै मौलिक कथाहरू खोज्न र भन्न थाले । फलतः नेपाली चलचित्रको छवि र मूलधार बदलिएको छ ।
यस दशकमा सयौँ यस्ता चलचित्रहरू बनेका छन् जसमा नेपाली माटोको सुगन्ध भेटिन्छ । मौलिकता र सिर्जनात्मकताको आभास पाइन्छ । तर, दुखको कुरा यीमध्ये अधिकांश चलचित्रले लगानीसमेत उठाउन सकेनन् । दर्शकहरू हाइ बजेट र उडन्ते कथामा बनेका भारतीय र दक्षिण भारतीय चलचित्रहरूमा रमाउँदा सृजनशीलताको जगमा उभिएका नेपाली फिल्महरू बक्स अफिसमा एकपछि अर्को पछारिए । यद्यपि, सर्जकहरूले हरेस खाएका छैनन् । पछिल्लो उदाहरण हो ‘जारी’ ।
बहुप्रतिक्षित चलचित्र ‘जारी’ नयाँ वर्षको पहिलो दिन रिलिज भयो, नेपाली चलचित्र उद्योगलाई नै नयाँ रक्तसञ्चार गर्दै । नयाँ वर्षमा एकै पटक तीन वटा आशालाग्दा चलचित्र (जारी, बुलाकी र बिहे पास) आपसमा जुधेका थिए । त्यसमध्ये जारीले बम्पर ओपनिङ गर्यो । सम्भवतः यसले बक्स अफिसमा लामो यात्रा गर्न सक्छ र थुप्रै रेकर्डहरू तोडिन सक्छन् । नेपाली फिल्मलाई माया गर्नेहरूका लागि यो एकदमै उल्लासपूर्ण समाचार हो ।
‘जारी’ प्रति दर्शकको प्रारम्भिक आकर्षण देखिनुका दुई कारण छन् । पहिलो त हिट सिक्वेल ‘कबड्डी’को ‘कोर टिम’, खासगरी रामबाबु गुरुङ–उपेन्द्र सुब्बा–दयाहाङ राई संलग्न भएकाले दर्शकको एउटा कित्तामा पहिल्यैबाट उत्साह थियो । दोस्रो कारण हो, यसको टिजर तथा सिक्वेल । लिम्बु समुदायको पालम गीतमा आधारित रहेर फरक शैलीमा बनाइएको टिजरले माहोल तताइसकेको थियो । ट्रेलर उत्तिकै दमदार आयो । धेरैले यसलाई हेर्नैपर्ने सूचीमा राखे । फलतः रिलिजअघि नै पहिलो दिनको टिकट सोल्डआउट भइसकेको थियो ।
टिजर–ट्रेलरबाट जुन अपेक्षा बोकेर दर्शक हलसम्म गइरहेका छन्, उनीहरूलाई ‘जारी’ले निराश बनाउँदैन । निराश नबनाउने मात्र होइन, तृप्त र आनन्दित बनाएर घर फर्काउँछ । यो चलचित्रमा नेपाली माटोको सुगन्ध छ । देशको अन्तरकुन्तरका मानिसहरूको जनजीवन झल्किएको छ, जुन अहिलेका शहरवासीहरुका लागि दन्त्यकथाजस्तो लाग्छ । एउटा खास समुदायको संस्कृति र पहिचान बोकेको छ यस चलचित्रले । सबैभन्दा ठूलो कुरा, भरपुर मनोरञ्जन दिएको छ । चलचित्रले तपाईंलाई कहिले हँसाउँछ, कहिले रुवाउँछ, कहिले काउँकुति लगाउँछ, कहिले जिरिङ्ग पार्छ ।
चलचित्रको नाम र ट्रेलरबाट थाहा पाइसक्नुभयो होला, ‘जारी’ को मुख्य कथावस्तु ‘जारी प्रथा’ नै हो । जारी- अर्थात् एउटी विवाहित महिलालाई कुनै पुरुषले भगायो भने जारलाई तिर्नुपर्ने आर्थिक क्षतिपूर्ति । संयोगले एकैदिन ‘जारी’को कथामा आधारित दुईवटा चलचित्र रिलिज भए । लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ ले कर्णालीको कथा भन्छ, जुन ‘जारी’ भन्दा केही भिन्न छ, जसले पूर्वी भेगका लिम्बु समुदायको कथा भन्छ । ‘बुलाकी’मा भगाउने श्रीमानको परिवारले जारी तिर्छ भने ‘जारी’ मा महिलाको माइती परिवारले । विषयवस्तु उस्तै भए पनि स्थानीय परिवेश, भाषा, संस्कृति यी दुई फिल्ममा नितान्त भिन्न छन् ।
‘जारी’को कथातिर लागौं ।
दयाहाङ राई र मिरुना मगर श्रीमान-श्रीमती हुन् । बिहे गरेको पाँच वर्षसम्म सन्तान नभएकोमा दयाहाङ श्रीमतीसँग रुष्ट छन् । यही निहुँमा बारम्बार उनीहरुबीच ठाकठुक परिरहन्छ । एक दिन श्रीमानले अति गरेपछि मिरुना घर छोडेर माइती हिँडिदिन्छन् । दयाहाङ पनि उनलाई लिन जाँदैनन् ।
माइती बस्ने क्रममा एउटा मेलामा अर्को युवकले ‘पालम’ मा जितेर मेलिनालाई आफ्नो बनाउँछ । बिहे गरेर श्रीमतीका रूपमा घर भित्र्याउँछ । त्यसपछि दयाहाङको परिवार जारी उठाउन मिरुनाको माइतीमा पुग्छ । दयाहाङले मागेको रकम मिरुनाको माइतीले दिन सक्दैनन् । अन्तमा मिरुना स्वयम् दयाहाङको घरमा ‘नोकर’ बस्न तयार हुन्छिन् ।
यो सुरुवाती कथा हो । यसपछिका घटनाक्रमहरू निकै रोचक छन्, जुन यहाँ धेरै खुलासा नगरौँ । तपाईँले ट्रेलरमा देखेका दृश्यहरू चलचित्रको पूर्वाद्धमै सकिन्छन् । फिल्मको खास मजा चाहिँ दोस्रो हाफमा छ । पछिल्लो समयमा धेरै नेपाली चलचित्रहरू विषयवस्तु र प्रस्तुतिमा उत्कृष्ट हुँदा हुँदा मनोरञ्जनको पाटोमा कमजोर हुँदा व्यवसायिक रुपमा धोका खाइरहेका छन् । तर, जारीमा मनोरञ्जनका खजानाहरुको कुनै कमी छैन । ती खजानाहरु परम्परागत फिल्मी मसलाहरू होइनन् । मिठो स्थानीय लवज, चोटिला संवाद, रोचक घटनाक्रमहरूले दर्शकलाई जतिबेला पनि बाँधेर राख्छ ।
निर्देशक सुब्बाले नै लेखेको कथा–पटकथामा खोट लगाउने खासै ठाउँ छैनन् । तर, एक ठाउँमा चाहिँ अलिकति खट्किन्छ । माइतीले ‘जारी’ तिर्न नसकेर मिरुना पूर्वपतिको घरमा ‘नोकर’ बस्न जाँदा उनका वर्तमान पति दृश्यबाटै गायब छन् । आफूले श्रीमती बनाइसकेकी महिला जारको घरमा नोकर बसिरहँदा उनले किन खोजीनिती गरेनन् ? आफ्नो घरमा फर्काउने किन प्रयास गरेनन् ? भन्ने प्रश्न उठ्छ । पूर्वपतिको घरमा नोकर बस्न जाने चलन जारी प्रथा अन्तरगतकै हो कि अलिकति लेखक–निर्देशकले अलिकति तोडमोड गरेका हुन् भन्ने चाहिँ यस संस्कृतिका विज्ञहरूबाट आउला ।
जे होस, मिरुना दयाहाङको घरमा ‘नोकर’ बस्न आइसकेपछि उनीहरुबीच फेरि माया पिरती उम्रिँदै गरेका दृश्यहरू निकै स्वादिला र मर्मस्पर्शी छन् । चलचित्रको क्लाइमेक्स पनि बलियो छ । बलियो मात्र छैन, पृथक् पनि छ ।
यो चलचित्रको एउटा महत्त्वपूर्ण पाटो हो ‘पालम’ । लिम्बु समुदायमा प्रचलित पालम गीत चलचित्रको मुटु हो भन्दा पनि हुन्छ । जति सुन्दा पनि सुनिरहन मन लाग्ने मिठासपूर्ण पालम गीतको लिम्बु समुदायमा कति महत्त्व छ भन्ने चलचित्रले दर्शाएको छ । यद्यपि, पालम जितेर केटी भगाउने प्रथा अहिलेको समयमा पक्कै सान्दर्भिक होइन ।
स्थानीय जनजीवन, भेषभुषा र लवजलाई फिल्मले टपक्क टिपेको छ । कतैपनि बनावटीपन लाग्दैन । दृश्यहरुलाई ब्याकग्राउन्ड म्युजिक र प्रकाशको संयोजनले राम्ररी सपोर्ट गरेको छ । ब्याकग्राउन्ड संगीतमा चाहिँ शोक धुन अलि बढी हाबी भएको भान हुन्छ ।
अभिनयको हकमा कुरा गर्दा दयाहाङले बाजी मारेका छन् । उनको अभिनय क्षमतामा कसैलाई शंका छैन, तर पछिल्लो समय ‘कबड्डी’ को ह्याङबाट बाहिर निस्किन सकिरहेका थिएनन् । भन्नै पर्दा, लामो समयपछि उनले अभिनयमा मिहिनेत गरेका छन् । रिसाहा र कारुणिक दुवै खालका दृश्यमा उनी अब्बल छन् । यो चलचित्रले सबैभन्दा ठूलो फाइदा सम्भवतः दयाहाङलाई नै हुने छ । उनको करिअरमा अर्को कोसेढुंगा बन्ने छ जारी ।
अभिनेत्री मिरुना मगरले निकै सशक्त भूमिका पाएकी छन् । उनले पनि आफ्नो तर्फबाट कसर छोडेकी छैनन् । धेरै अभिनय उनले आँखाबाटै गरेकी छन् । कबड्डी–४ बाट जोडिएको दयाहाङ–मिरुनाको केमेस्ट्री लगातार दोस्रोपटक सफल देखिएको छ ।
चलचित्रका अर्का खम्बा हुन् विजय बराल । कबड्डी सिरिजमा जस्तै उनी यसमा पनि दयाहाङको मतियारकै रूपमा छन् । तर, यसमा उनको हुलिया र अभिनय कबड्डीभन्दा विल्कुलै फरक छ । बरालको भूमिका धेरै लामो छैन, तर जति छ, चोटिलो छ । आफ्नो गहकिलो अभिनयले बेग्लै प्रभाव छोड्न उनी सफल छन् । आफू कुन स्तरको कलाकार हुँ भन्ने उनले देखाइदिएका छन् ।
चलचित्रमा कहिल्यै क्यामरा फेस नगरेका थुप्र नवकलाकारहरूको भिड छ । वृद्धवृद्धाहरु पनि छन् । उनीहरूबाट पनि स्वभाविक र जीवन्त अभिनय निकाल्न सफल भएका छन् निर्देशक सुब्बा । कसैले पनि अभिनय गरिरहेका छन् भन्ने लाग्दैन । यो ठूलो निर्देशकीय सफलता हो ।
चलचित्रमा परम्परागत गीतसंगीतलाई उति महत्त्व दिइएको छैन । कालीप्रसाद बास्कोटाको ‘चरी बस्यो डाली…’ मा बोलको गीत चलचित्र रिलिज पहिल्यै हिट भएको थियो । तर, चलचित्रको कथामा यो गीत अटाएको छैन, जसले दर्शकलाई केही खिन्न बनाउन सक्छ ।
लेखक–साहित्यकारका रूपमा आफ्नै पहिचान बनाएका उपेन्द्र सुब्बाको निर्देशकका रूपमा यो डेब्यू चलचित्र हो । पहिलो परीक्षामा नै उनलाई डिस्टिङ्सन नम्बर दिन सकिन्छ । चलचित्रका प्रत्येक दृश्यहरूमा निर्देशकको पकड छ । स्क्रिप्ट राइटरका रूपमा पनि सुब्बा अब्बल छन् । आफैँले लेखेको स्क्रिप्ट भएकाले पनि त्यसमा काम गर्न सायद उनलाई सजिलो भयो ।
चलचित्र रिलिज अघि निकै घबराएका थिए सुब्बा । नेपाल प्रेससँगको अन्तर्वार्तामा भन्दै थिए, ‘म त नकारात्मक प्रतिक्रिया सुन्नै सुक्दिनँ, सल्यातसुलुत्तै हुन्छु’ । चलचित्रको प्रिमियरमा पनि उनी नर्भस देखिएका थिए । हलभित्र भर्याङमा एक्लै बसेर चलचित्र हेरेका उनी शोपछि मिडिया फेस नगरीकन टाप ठोके ।
तर, यतिबेला सुब्बाले चौतर्फी प्रशंसा कमाइरहेका छन् । उनले नकारात्मक प्रतिक्रिया पाउने गुञ्जायस नै छैन । देशको एउटा समुदायमा रहेको कुप्रथालाई उनले कलात्मक तवरबाट सबैसामु उजागर गरिदिएका छन् ।
सारमा ‘जारी’ एउटा ‘मास्टरपिस’ हो, जसको जताततै ‘ब्लकबस्टर’ छापिएको छ । पछिल्लो एक दशकमा रिलिज भएका उत्कृष्ट १० चलचित्रको सुची बनाउने हो भने ‘जारी’ लाई छुटाउन सकिन्न । उपेन्द्र सुब्बाको निर्देशन यात्रा जारी रहोस् ।