पूर्वी तराईमा वैशाख भर लाग्ने सिरुवा मेला : मासिँदै ग्रामथान, मिचिँदै संस्कृति – Nepal Press

पूर्वी तराईमा वैशाख भर लाग्ने सिरुवा मेला : मासिँदै ग्रामथान, मिचिँदै संस्कृति

विराटनगर । पूर्वी तराइका गाउँमा गाउँमा वैशाख महिना सिरुवा मेला लाग्ने गर्छ । थारु समुदायले मनाउने सिरुवा (धाम पावन) पर्व पछिल्लो समय अन्य समुदायले समेत मनाउँदै आएका छन् । तर पर्वको व्यापकता र रौनक बढे पनि सिरुवासँग जोडिएका ग्रामथान र सांस्कृतिक पक्ष भने मासिएर जाने अवस्थामा पुगेका छन् ।

धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवासँग जोडिएका कतिपय सांस्कृतिक पक्ष लोप भएरगएका छन् ।दिन दिनै बढ्दो अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका छन् ।

थारुहरूको बसोबास रहेको प्रत्येक गाउँ भन्दा दक्षिण पट्टी ग्रामथान रहेको हुन्छ । प्रकृति पूजक पूर्वका थारुहरू जन्मदेखि मृत्यु सम्मका संस्कारमा ग्रामथानमा पूजा गर्न जान्छन् । जन्म, विवाह, मृत्यु जस्ता कार्यहरूका लागि उनीहरूलाई ग्रामथान आवश्यक पर्छ ।

थारुहरूले कुनै सङ्कट पर्दा पनि ग्रामथानमा गएर पूजा अर्चना गर्ने गर्छन् । विभिन्न पर्व र उत्सवहरूमा पनि ग्रामथानमा गएर पूजा गर्ने चलन रहेको छ ।

थारुहरूले ग्रामथानलाई देवस्थलको रूपमा मान्ने गरेको थारुहरूको जातीय संस्था थारु कल्याण कारणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नु लाल चौधरी बताउँछन् ।

ग्रामथान भनेको देवताहरूको बास स्थल हो । चौधरीले भने,‘देवता बस्ने स्थलमा खुसी हुँदा पनि दुख पर्दा पनि हामी जाने गर्छौ । यो हाम्रो सबै भन्दा पवित्र स्थल हो ।’

ग्रामथानको नाममा धनी पूर्जा नहुँदा थारु समुदायको आस्थाको केन्द्र ग्रामथान भने अहिले सङ्कटमा परेका छन् ।

देवताको घरको नाप जाँच गर्नु हुँदैन भन्ने मान्यता थियो । ७४ बर्सिया टेकनारायण चौधरीले भने नापी आउँदा नाप जाँच गरिएन अहिले मेरो जग्गा भन्दै हडप्नेहरू धेरै आए ।

उनका अनुसार जग्गा प्लटिङ गर्नेहरूले समेत ग्रामथानको जग्गा आफ्नो बनाए ।

इटहरीको मुख्य चोक भन्दा ५० मिटर उत्तरमा धरान इटहरी सडक खण्डसँगै टाँसिएको ग्रामथान छ । तीन कट्ठा भन्दा बढी जग्गा रहेको सो ग्रामथानमा अहिले भने मुस्किलले ५ धुर पनि जग्गा बाँकी छैन ।

इटहरीमा जग्गाको मूल्य बढेसँगै सँधियारले ग्रामथानको जग्गा मिच्दा सो ग्रामथान सङ्कटमा छ । यस्तै बाटो निर्माण हुँदा समेत सो ग्रामथानको आकार घटेर गएको छ ।

ग्रामथानको जग्गा हडप्दा अहिले थारु समुदायको सांस्कृतिक कार्यक्रम गर्न समेत समस्या छ ।

इटहरी वडा नम्बर ४ मा कचना ग्रामथान रहेको छ । कचना ग्रामथान थारुहरूको विशेष आस्थाका साथ पूजा गर्ने ग्रामथान मध्येको एक हो । सो ग्रामथानको कुनै बेला १० कट्ठा भन्दा बढी जग्गा थियो ।

सोही ग्रामथानको जग्गामा अहिले खानेपानी र विद्यालय बनेका छन् । ग्रामथानको जग्गामा अहिले ४ नम्बर वडा कार्यालय धमाधम बनिरहेको छ । विकासका नाममा ग्रामथान अतिक्रमण हुँदा कचना ग्रामथान पनि सङ्कटमा छ ।

ग्रामथान संरक्षण समिति सुनसरीका अनुसार सुनसरी जिल्ला भर ६ सय भन्दा बढी ग्रामथान रहेका छन् । मोरङ र झापामा समेत ५ सयको हाराहारीमा ग्रामथानहरू रहेका छन् ।

तर सरकारी काजगतमा कहीँ कतै ग्रामथान नदेखिँदा कुन ग्रामथानको अवस्था कस्तो छ भन्ने कुनै आधिकारिक तथ्याङ्क भने छैन ।

तर परापूर्व कालबाट पूजाआजा भएका ग्रामथान मध्ये अहिले आधा भन्दा बढी ग्रामथानको भूमि नै अस्तित्वमा नरहेको संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरी बताउँछन् । बाँकी रहेका ग्रामथान मध्ये पनि ८० प्रतिशत ग्रामथान अति सङ्कटमा रहेको चौधरीले बताए ।

ग्रामथानसँगै पोखरी र इनार हुने गर्थे । तर अहिले इनार र पोखरी भएका ग्रामथान भने बिरलै मात्रै रहेको चौधरीले बताए ।
सुनसरीमा जग्गा प्लटिङ हुन थालेपछि ग्रामथानमा मुद्दा मामिला समेत पर्ने गरेको छ । इटहरी ६ टेङ्ग्रा टोलीकी साबित्रा चौधरी अहिले ग्रामथान संरक्षणका लागि सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् ।

सो टोलमा रहेको ग्रामथानको जग्गा मेरो हो भन्दै सँधियार दामोदर पोखरेले डोजर लिएर भत्काउन आए ।

सशस्त्र र जनपद प्रहरीको टोली सहित डोजर लिएर आएका पोख्रेलले ग्रामथान भत्काउन थालेपछि स्थानीय महिलाहरू प्रतिकारमा उत्रिए । ४ वर्ष अगाडिको कुरा सम्झिँदै चौधरीले भनिन्, ‘सशस्त्र र जनपद प्रहरी सहित आएका जग्गा धनीले दिउँसो छोरा मान्छे नभएको बेला ग्रामथान भत्काउन थालेपछि हामी महिलाहरू प्रतिकारमा उत्रियौ ।’

ग्रामथान भत्काउन नदिन महिलाहरू अगाडि आएपछि प्रहरीसँग उनीहरूको झडप समेत भयो । केही महिलाहरू घाइते भए । झडपपछि उनीहरूलाई प्रहरीले पक्राउ समेत गर्‍यो ।

ग्रामथान भत्काउन नदिएपछि सो जग्गा आफ्नो भएको भन्दै पोखरेल अदालत गए । जिल्ला र उच्च अदालतले ग्रामथानको पक्षमा फैसला ग¥यो । अहिले सोही मुद्दा सर्वोच्चमा विचाराधिन छ ।

सावित्री चौधरी सर्वोच्च अदालत धाइरहेकी छन् । सावित्रीको जस्तै मुद्दा धाउने सुनसरी मोरङमा दर्जन छन् ।

आदिवासीहरूको अधिकारका पक्षमा कानुनी सहायता गरिरहेको लाहुर्नीप नामक गैर सरकारी संस्थाले पुस्तौँ देखि पूजाआजा गर्दै आएको ग्रामथानको जग्गा मेरो हो भन्दै मुद्दा हाल्ने सँधियार धेरै भएको बताएको छ ।

लाहुर्नीप कोशी प्रदेशका संयोजक गोपाल देवान ग्रामथान संरक्षणका लागि १२ भन्दा बढी मुद्दा दायर भएका छन् । यसरी मुद्दा खेप्ने जनप्रतिनिधि समेत छन् ।

मिचिँदै संस्कृति

चैत्र महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा ( बाहिर ) मनाउ छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता राम सागर चौधरीले बताए ।

सुनसरीको राम धुनीमा रहेको पाञ्चायन थानमा बैशाख १ गते मेला लागेसँगै पूर्वी तराईका जिल्लाहरूमा सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् ।

पाञ्चायन थान नजिकै रहेको सिरा थानमा विधि पूर्वक पूजा गरेपछि सिरुवा पर्व सुरु हुने गर्छ । प्रकृति पूजक थारुहरू शिरा थानमा दही चिउरा चढाउने गर्छन् । दही चिउरा चढाउँदा गाई वस्तु र चौपाया सप्रने उनीहरू विश्वास गर्छन् ।

पाञ्चायन थानमा भने बलि दिने गरिन्छ । नयाँ वर्षको दिन यहाँको मेला भर्न सुनसरी मोरङ सप्तरी उदयपुरबाट समेत मानिसहरू आउने गर्छन् । तर सिरुवा मेलाको जगका रूपमा रहेको पाञ्चायन थानमा भने अहिले शिव मन्दिर बनेको छ।
ठुलो शिव मन्दिरका पछाडि पट्टी जब्धी ( पोखरी) को छेउमा रहेको थानमा थारुहरू पूजाआजा गर्ने गर्छन् ।

इटहरी वडा नम्बर ४ मा रहेको कचना थान समेत अहिले कचना महादेवमा परिणत भएको छ ।

थारु समुदायले बलि दिने कचना थानमा अहिले महादेव मन्दिर बनाइएको छ । प्रकृति पूजक थारुहरूको थानमा महादेव मन्दिर बनाएको यहाँ मात्रै होइन । प्रसिद्ध जब्धी थानमा समेत देवीको मन्दिर बनाइएको छ ।

जब्धी इटहरी १६ मा पर्दछ । वैशाख ५ गते यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ । यो धार्मिक अतिक्रमण हो ग्रामथान संरक्षण समितिका उपाध्यक्ष मोहीनारायण चौधरीले ग्रामथानहरू धार्मिक अतिक्रमणमा परेको बताउँछन् ।

कहीँ महादेव मन्दिर बनाइएको छ भने कतै देवीको मन्दिर बनाइएको छ । उनले भने, बलि दिने ठाउँमा महादेवको मन्दिर बनाएपछि हामीले बलि समेत दिन पाएका छैनौ ।

रोग नलागोस् बाली नाली सप्रियोस् र अन्न पात धेरै फलोस् भनेर हामी ग्रामथानमा वर्षमा २ पटक हामी विशेष पूजा गर्छौ ।
उनले भने अखाडी र नेमानीमा समेत हामीले अहिले हामीले विधि पूर्वक पूजाआजा गर्न पाएका छैन । हाम्रो परम्परा र रित्ती रिवाज अतिक्रमणको चपेटामा परेको छ ।

अभियन्ता राम सागर चौधरीले जानी जानी ग्रामथानको सांस्कृतिक अतिक्रमण भएको बताए । थारुहरूको ग्रामथान अहिले मन्दिरमा परिणत भएका छन् । मन्दिर र ग्रामथान भनेको अलग हो भनेर बचाउन सक्ने अवस्था नै नरहेको उनले बताए।

उनले भने सिरुवा मेलामा धेरै मानिसहरू आउने गर्छन् । बसाइँ र सामाजिक अन्तर घुलनले सिरुवाको रौनक त बढ्यो तर यसको सांस्कृतिक पक्ष भने लोप हुने अवस्थामा पुग्यो ।

स्थानीय सरकार र प्रदेश सरकारले ग्रामथानका लागि बजेट प्रशस्तै हालेका छन् । योजनाहरू पनि आएका छन् उनले भने तर अधिकांश योजना ग्रामथानमा मन्दिर बनाउन परेका छन् यो कुरा कसले बुझ्ने ? कसले बुझाई दिने ?

हराए गीत सङ्गीत

राम धुनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष केशव गौतमलाई आफू सानो हुँदा ग्रामथानमा गाइने गीत र बजाइने झ्याली मृदङ्गको खुब सम्झना आउँछ । धान रोप्दा गाइने गीत होस् यो सिरुवा मेला लाग्नु अगाडि गाउँमा गाइने गीत ।

आजकाल गाइन छाडेको छ । परम्परागत रूपमा गाउने यस्ता गीत गाउने पुस्ता नै लोप भएकोमा गौतमलाई चिन्ता छ । ग्रामथानमा न्वारनका बेला गाउने,विवाह जस्ता उत्स बका बेला गाउने र मर्दा पर्दा गाउने गीत सङ्गीत फरक फरक हुन्छ । तर आजकाल भने यसरी गीत गाउने मानिसहरू भेटिन छाडेको उनले सुनाए ।

म थारु गाउँमै हुर्किए बढे, उनले सुनाए ‘यस्ता गीत सङ्गीतको पुस्ता हस्तान्तरण नहुँदा लोप भएर गएको छ । ’

ग्रामथानसँग जोडिएका बाजागाजा बजाउने मानिसहरू समेत अहिले नभएको थारु महिला सभा सुनसरीकी अध्यक्ष सुशीला लेखी बताउँछिन् ।

लेखिका अनुसार अहिले थारु समुदायसँग जोडिएका गीत सङ्गीत अहिले हराएर जाने अवस्थामा पुगेको छ । यसलाई संरक्षण गर्न आफूहरूले लागि परेको भए पनि सिकाउने मानिस नै भेट्न मुस्किल परेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर