समीक्षालाई दीपकराज गिरीको ढाडस- सबै भुलेर अगाडि बढ
काठमाडौं । गायिका समीक्षा अधिकारीलाई अभिनेता दीपकराज गिरीले सामजिक सञ्जालमार्फत सान्त्वना र हौसला दिएका छन् । अधिकारीले लेखेको एक भावुक स्टाट्समा गिरीले उनलाई हिम्मत नहार्न र सबै कुरा भुलेर अघि बढ्न सल्लाह दिएका हुन् ।
हाल अष्ट्रेलियामा रहेकी अधिकारीले आइतबार मध्यान्ह आफू गलत नभएको र पर्दामा देखाइएका सबै कुरा सही नहुने बताउँदै एक स्टाट्स पोष्ट गरेकी थिइन् ।
उनले लेखेकी छन्, ‘अगाडि बढ्न खोज्छु, मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु, हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कतै भुलाउन खोज्छु, जताततै अँध्यारो देख्छु । मेरो पनि तपाईंको जस्तै भावना अनि मन छ । मलाई पनि आँसु झर्दा, दुख्छ, पोल्छ। अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो लाग्छ । म गलत छैन । म कुनै चरित्रहीन छोरी होइन । पर्दामा देखिएका हर कुरा सही हुँदैनन् । सत्यता मनमा अड्किएर बसेको हुन्छ ।’
उनको एकाएक आएको उक्त स्टाट्स देखेपछि गिरीले सबैलाई स्पष्टीकरण दिन जरुरी नभएको बताएका छन् । बुझ्न नचाहने मान्छेलाई प्राणै त्यागेर दिए पनि नबुझ्ने उनको भनाइ छ । ईश्वरको नाम लिएर अगाडि बढ्ने सुझाव दिँदै अधिकारीको साहस र हिम्मतप्रति आफू सकारात्मक रहेको कुरा पनि उनले आफ्नो भनाइमा उल्लेख गरेका छन् ।
उनको स्टाट्स, ‘कतिलाई स्पष्टीकरण दिन्छौ ? कति स्पष्टीकरण दिन्छौ ? जसले बुझेका छन्, उनीहरुलाई बुझाउनै पर्दैन । जसले बुझ्न चाहेका छैनन्, प्राण गए पनि बुझ्ने छैनन् । तिमीले लडेर पनि फेरि उठ्ने जुन साहस गरेकी छौ, त्यो अत्यन्तै सकारात्मक छ । म तिम्रो त्यो साहसलाई नमन गर्छु । ईश्वरको नाम लिउ, सबै भुलेर अगाडि बढ । अरूले के भन्छन् त्यो नसोच । आफ्नो लागि बॉच्ने हो, अरूको लागि होइन । ‘कुछ तो लोग कहेगे, लोगोका काम है केहेना ।’