भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगीलाई संगठित अपराधकाे रुपमा अनुसन्धान गरिँदै
काठमाडौं । नेपालीलाई भुटानी शरर्णार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौं प्रहरी परिसरले आइतबार संगठित अपराधमा ७ दिनको म्याद लिएको छ । यसअघि ठगी मुद्दामा अनुसन्धान भइरहेको थियो । यो प्रकरणमा हालसम्म ५ जना पक्राउ परेका छन् । प्रहरीले चैत ८ गते तीन जनालाई सार्वजनिक गरेको थियो ।
करिब एक वर्षअघि आएको उजुरीको अनुसन्धान अगाडि बढाउनेक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । त्यसपछि फरक फरक समयमा दुई जना पक्राउ परेका छन् ।
आफूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २० देखि ५० लाख रुपैयाँसम्म लिइएको तर पैसा लिएर काम नभएको भन्दै सूरुमा ८१ जनाले निवेदन दिएका थिए । निवेदकको संख्या एक सय ५० भन्दा बढी पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो प्रकरणमा निवेदकले गृह मन्त्रालयमा रहेको भुटानी शरर्णार्थी समस्या समाधानका लागि गठित कार्यदलको गोप्य प्रतिवेदनका अंशहरु पनि पेश गरेका छन् ।
पक्राउ परेकाहरुले विभिन्न उच्च पदस्थ व्यक्ति, उनीहरुका आफन्तहरुलाई पैसा बुझाएको तर उनीहरुले काम नगरेको बताएको बुझिएको छ। पक्राउ परेकाहरुले नै आफूलाई पिडित दावी गरिरहेको अनुसन्धान अधिकृत बताउँछन् ।
‘पैसाको कारोबार धेरै मात्रामा नगदै भएको हुँदा माथिको लेयरलाई अनुसन्धानको दायरामा ल्याउन समस्या भइरहेको छ’, अनुसन्धान अधिकृत भन्छन् ।
प्रहरीले पहिलोपटक म्याद थपेको मितीले ६० दिनसम्म हिरासतमा राखेर संगठित अपराधमा अनुसन्धान गर्न सक्ने छ। ठगीमा २४ दिनको मात्र समय थियो। प्रहरीले गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदन पनि माग गरेको छ ।