वेद र विज्ञान के झगडिया हुन् ? – Nepal Press

वेद र विज्ञान के झगडिया हुन् ?

म आफ्ना आलेखमाथिका हरेकजसो प्रतिक्रिया पढ्न छुटाउँदिनँ । किनकि सामाजिक मनोविज्ञान अध्ययन गर्ने यो सहज उपाय पनि हो । यसअघि प्रकाशित ‘अघि अघि वेद पछि पछि विज्ञान’ शीर्षकको आलेखमाथिका बहस पनि मैले पढें ।

ती बहसहरुमा कसैको विचार विज्ञान र वेदमा भेद छ भन्नेमा त कसैको समान छ भन्नेमा देखिन्थ्यो । कसैको तर्क विज्ञान तुलना गर्ने कुरा नै होइन भन्ने थियो । तर, के उहाँले भन्नुभएको जस्तै वेद र विज्ञान फरक कुरा हुन् ? खासमा वेद के हो, अनि विज्ञान के हो ? कतै हामी विज्ञान र वेदको भिन्नतामा अल्मलिएका त छैनौं ? त्यसैले आउनुस् यस आलेखमा वेद र विज्ञानको सम्बन्ध, भेद र यसका प्रभावबारे चर्चा गरौं ।

पाठकहरुमध्ये एकजनाले जिज्ञासा राख्नुभएको छ- वेद अघिअघि र विज्ञान पछिपछि भएको भए हाम्रो समाजमा हवाईजहाज किन बनेन ? किन पश्चिमी समाजले नै आविष्कार गर्‍यो ? परिणाममा नदेखिने ज्ञानको के अर्थ हुन्छ ?

वेद र विज्ञानको अर्थ खोज्नु अघि आलेखको सुरुवात गरौं वेद नै विज्ञान रहेको पुष्टि हुने गरी भारत वर्षमा भएका आविष्कारको यो तथ्यबाट–
महाभारत, रामायण जस्ता पुराना शास्त्रमा उल्लेख भएका पुष्पक विमानबारे हामी पढ्नमात्र सक्छौं, देख्न सक्दैनौं । ती विमानबारे शास्त्रमा लेखिएका मात्र होइन, आधुनिक कालमा पनि पश्चिमी देशहरुमा भन्दा पहिले नै यहाँ विमान उडाएर परीक्षण गरिएको थियो ।

१७ डिसेम्बर १९०३ मा अमेरिकाको साउथ क्यारोलिनाको समुद्री किनारमा राइट दाजुभाइले सबैभन्दा पहिला हवाईजहाज उडाएका थिए । जुन जहाज १२० फीटमाथि उडेर तल झरेको थियो । हामीले त्यसलाई पहिलो विमान आविष्कार भनेर पढ्दै आएका छौं ।

तर, आधुनिक कालमा पनि राइट दाजुभाइले भन्दा आठ वर्षअघि नै सन् १८९५ मा १५०० फीटमाथि उड्ने विमान परीक्षण भएको थियो । यसरी हाम्रा प्राचीन शास्त्रको आधारमा विमान उडाउने वैज्ञानिक थिए शिवकर बाबुजी तलपदे (सन् १८६४-१९१६) । जसले मुम्बईको समुद्री किनारमा विमान उडाएका थिए । त्यो विमान १५०० फीटमाथि पुगेर सकुशल अवतरण भएको थियो ।

नेपालमा पनि विमान वैज्ञानिक थिए । जसको नाम थियो, अच्युतानन्द (वि.स.१९०७-१९८९) । धादिङमा जन्मेका उनी बनारसमा पढेर आएका थिए । त्यस बखत राइट दाजुभाइको विमानलाई आकार नै दिएर उडाउने समाचार वि.स. १९६० मा आउँदै गर्दा उनले पनि विमान बनाइरहेका थिए ।

मतलब अठारौं शताब्दीभन्दा पनि धेरै अघि नै विमान कसरी बनाउने भन्ने कुरा लेखिएको थियो भने विमान पनि थिए । अनि हामीसम्म आइपुग्दा त्यो ज्ञान विस्मृत भयो ।

उता नजाऔं, तलपदे को थिए ? त्यो हेरौं । उनी संस्कृत अध्येता मराठा थिए । जसले १५ सय वर्षअघि नै भारद्वाज ऋषिले लेखेको विमानशास्त्र पढेका थिए । जुन पुस्तकको नाम हो ‘बृहद् विमानशास्त्र’ । यस ग्रन्थ अहिले पनि इन्टरनेटबाट लिएर पनि पढ्न सकिन्छ । तलपदे को थिए भनेर जान्न डा. महेशराज पन्तको आलेख हेर्न सकिन्छ (पन्त, विमानपण्डित, राजधानी, २०७३ फागुन १४ शनिबार )

भारद्वाजको त्यस विमानग्रन्थमा आठ अध्याय र सय खण्ड छन् । त्यहाँ विमान बनाउने पाँच सय सिद्धान्तसहितका तीन हजार श्लोक छन् । त्यसमा पनि पाँचसय प्रकारका विमान बनाउने ३२ तरिकाबारे उल्लेख गरिएको छ । (बृहद् विमानशास्त्र, अनुवादक ब्रहमुनि परिव्राजक, नईदिल्ली २०१५,) । यसको अर्थ हजारौं हजार वर्षअघि नै विमानशास्त्र लेखिएको थियो । तसर्थ आजको विज्ञानको प्रयोग वैदिक ज्ञानले गरेको थियो भन्न हिच्किचाउनु पर्दैन ।

विभिन्न प्रकारका यानको बारेमा मानव सभ्यताकै पुरानो ग्रन्थ मानिएको ग्रन्थ ऋग्वेदमा नै उल्लेख छ । त्यहाँ उल्लेख गरिएको छ-

आ वां रथो अश्विना श्येनपत्वा सुमृडीकः स्ववाँ यात्वर्वाङ् ।
यो मत्र्यस्य मनसो जवीयान् त्रिबन्धुरो वृषणा वातरंहाः ।।
(ऋग्वेद । प्रथम मण्डलको ११८ औं सूक्तको पहिलो मन्त्र )।

शिल्पकर्ममा पारंगत हे बलशाली स्त्रीपुरुष हो ! तल, माथि र बीच तीनै ठाउँमा बन्धन भएको, बाज जसरी उड्ने, वायुको जस्तो वेग भएको, मनुष्यको मनभन्दा पनि तीव्र गतिवाला, अत्यन्त आरामदायी र सबै सुविधाले परिपूर्ण, तिमीहरूको यो जुन ‘रथ’ छ त्यसलाई जमीनमा ओराल ।

ऋग्वेदको यस मन्त्रले विमान वेदको ज्ञानको अवधारणा भएको र त्यसको प्रयोग पहिल्यै थियो भन्ने बताउँछ ।

तर, तलपदेले तयार गरेको विमानको विस्तार किन हुन सकेन भन्नेबारे प्रश्न उठ्नसक्छ । उनले विमान उडाउने बेला भारतमा अंग्रेजको शासन चलिरहेको थियो । तलपदेले विमान उडाएको ठाउँमा अंग्रेजहरु सामेल हुनु स्वाभाविक थियो । जब उनले विमान उडाए, सबै चकित भए ।

त्यसपछि उनलाई एक ‘रेल्ली ब्रदर्स’ नामको संस्थाले हामी तपाईंको विमान बनाउन इच्छुक छौं, हामीलाई तपाईंका स्केच र विमान कसरी तयार गरिन्छ भन्ने सूत्र दिनुस् भन्यो । तर, उनी मानेनन् । त्यसपछि उनलाई उनले भने जस्तै विमान बनाउने र त्यसको निर्देशन पनि उनैले गर्ने भनेर सम्झौता गरे । त्यसपछि तलपडेका सारा सूत्र र तरीका लेखिएका कागज उनीहरुले लिएर गए । तर, त्यसरी गएका उनीहरु फर्केर आएनन् र फेरि सम्पर्क पनि गरेनन् । पछि यही सूत्र राइट दाजुभाइकोमा लगियो र त्यसको आठ वर्षपछि त्यसैमा आधारित भएर उनीहरुले विमान बनाएर उडाए । अनि उनै राइट्स दाजुभाइको नाम विमान बनाउनेमा लेखाइयो ।

यो कुरा राजीव दीक्षितले उहाँको प्रवचनमा धेरै ठाउँमा उल्लेख गर्नुभएको छ । उहाँले बोल्नुभएको सम्पर्क सूत्र म यहाँ छ ।

संस्कृत शब्दकोषहरुअनुसार विज्ञानको मूल अर्थ शिल्पशास्त्र हुन्छ । अर्थात् विज्ञानको अर्थ हो ज्ञानको व्यवहार वा प्रयोग । तर, के ज्ञान प्रयोग गर्न नसकिने हुन्छ ? होइन । यथार्थमा ज्ञान भएर नै प्रयोग गर्न सकिने भएको हो ।

हामी विज्ञान र पराविज्ञानमा कस्तो अवस्थामा थियौं र छौं भन्ने कुरा अध्ययनमात्र हैन, यसअघि नै पनि तथ्यको खोज र बहस पनि भएका छन् । त्यसमध्ये कविशिरोमणि लेखनाथ पौडेलको ‘बुद्धिविनोद’को प्रश्नहरुमा उत्तर दिँदै खगोलशास्त्री, इतिहासविद् नयराज पन्तले लेखेको कुरा यहाँ राख्न उचित ठान्छु । लेखनाथको प्रश्न छ-

अगाडि अध्यात्मविषे थियो जति थियेन कि शिल्पविषे उति मति ।
बनेन होला किन रेल बेलुन, तँलाई मालुम् छ कि यो कुरा मन ?

त्यसको जवाफमा नयराज पन्त लेख्छन्-

आन्वीक्षिकी शिल्पकार दुवैतिर, हामी पुगेथ्यौं उहिल्यै निक्कै पर ।
अचिन्त्यको गूढ रहस्य खोज्दथ्यौं विमानलाई रसले चलाउँथ्यौं ।
(पन्त, बुद्धिविनोद प्रश्नावली र त्यसको उत्तर, तेस्रो संस्करण पृष्ठ २२ )

यसले के जनाउँछ भने हाम्रो समाजमा अध्यात्मको जति उन्नति भएको थियो, विज्ञानको पनि कम उन्नति थिएन ।

दोस्रो दृष्टान्त

अब कुरा गरौं नेपाली विमान पण्डितको । नेपालमा पनि विमान वैज्ञानिक थिए । जसको नाम थियो, अच्युतानन्द (वि.स.१९०७- १९८९) । धादिङमा जन्मेका उनी बनारसमा पढेर आएका थिए । त्यस बखत राइट दाजुभाइको विमानलाई आकार नै दिएर उडाउने समाचार वि.स. १९६० मा आउँदै गर्दा उनले पनि विमान बनाइरहेका थिए ।

सधैं विमान बनाउने काम गरिरहेको देख्नेहरुले उनलाई विमान पण्डित भनेर चिन्थे । एकदिन उनी पैसाको खाँचो भएर विमान बनाउन नसकेको भन्दै सरकारलाई गुहार्न गए । जुनबेला वीरशमशेर (वि.स.१९०९-१९५९)को शासनकाल चलिरहेको थियो । नेपालको पहिलो वैज्ञानिक नामले चिनिने वीरका छोरा गेहेन्द्रशमशेर (वि.स.१९२८-१९६४) पनि यन्त्रविद्या नै पढिरहेका थिए । त्यसैले अच्युतानन्दलाई सहज भयो । किनकि गेहेन्द्रले आफ्ना बाबुकहाँ पुर्‍याइदिए । तर, सरकारबाट उल्टो सरकारको निर्देशनविना बनाएको भन्दै जेलसम्म हुन सक्ने भनेपछि उनी निराश भएर फर्किए । पछि त उनी पागल नै भएका थिए भनेर महेशराज पन्तले उही आलेख (विमान पण्डित अच्युतानन्द वाग्ले) मा उल्लेख गर्नुभएको छ ।

अब पाठकहरुको जिज्ञासा वेद र विज्ञानको भेदका बारेमा केही कुरा-

पहिला वेद र विज्ञानको अर्थबाट कुरा थालौं । वेद विद् धातुबाट बनेको शब्द हो । वेदको अर्थ हो ज्ञान । अर्को वि उपसर्ग लागेको ज्ञा धातुबाट विज्ञान बनेको छ । संस्कृत शब्दकोषहरुअनुसार विज्ञानको मूल अर्थ शिल्पशास्त्र हुन्छ । अर्थात् विज्ञानको अर्थ हो ज्ञानको व्यवहार वा प्रयोग । तर, के ज्ञान प्रयोग गर्न नसकिने हुन्छ ? होइन । यथार्थमा ज्ञान भएर नै प्रयोग गर्न सकिने भएको हो ।

यसैले वेद विज्ञान र धर्म बोकेको बोध पराविज्ञान हो । विज्ञानले त अझ धर्मलाई अस्वीकार नै गर्छ । तर, यसले आफ्नो आधार भने धर्म बोकेर नै तय गरेको हुन्छ । अर्थात् विज्ञान व्यवहार हो, वेद त्यस व्यवहारभन्दा अघिको बोध हो ।

यसलाई सरलीकृत गरौं- धर्म सत्यको अनुभव हो, विज्ञान सत्यको खोज हो, अनि त्यसबाट निस्कने कला सत्यको अभिव्यक्ति । मतलब ज्ञान(सत्य)कै आधारमा विज्ञान(खोज) हुने हो । जुन प्रत्यक्ष अवलोकन गर्न सकिने हुन्छ । बरु यति कुरा पक्का हो, जहाँ विज्ञान सकिन्छ त्यहाँबाट पराविज्ञान सुरु हुन्छ ।

पराविज्ञान शब्द वा अरु तरिकाले व्यक्त गर्न नसक्ने मानसिक, आध्यात्मिक बोध पराविज्ञान हो । जुन कुरा वेदले बोकेको छ । तर, त्यो पनि विज्ञानको बाटो भएरै प्रवेश हुने हो । अनेक प्रयोगपछि प्राप्त बोध नै पराविज्ञान हो । यसबारे परा र अपरा विद्या भनेर उपनिषद्मा नै व्याख्या छ (ईशादि नौ उपनिषद्को मुण्डकोपनिषद्, प्रथम मुण्डक, प्रथम खण्ड, श्लोक ६,७ गीता प्रेस)

यसबारेमा पश्चिमा दार्शनिकको ज्ञान विज्ञानको बारेको बुझाइ पनि हेरौं-

युनानी दार्शनिक अफलातुन भन्छन्- विज्ञान र वास्तविकताको सामञ्जस्य नै ज्ञान हो । वास्तविकता निर्विषय हुन सक्दैन । अनि त्यही विषयको एक-रस विज्ञान हो (सांकृत्यायन, दर्शन-दिग्दर्शन, युनानी दर्शन, पृ-१५, किताब महल, इलाहवाद)

यसको अर्थ ज्ञान र विज्ञान दुई फरक कुरा नभएर एकअर्कामा आधारित हुन्छन् । हुन चाहिँ विज्ञान धर्मविना रहन सक्छ । तर, ज्ञान धर्मविना रहन सक्दैन । धर्मविनाको ज्ञान पनि हुँदैन । अथवा ज्ञान हुँदै त्यो धार्मिक हुन्छ । यसैले वेद विज्ञान र धर्म बोकेको बोध पराविज्ञान हो । विज्ञानले त अझ धर्मलाई अस्वीकार नै गर्छ । तर, यसले आफ्नो आधार भने धर्म बोकेर नै तय गरेको हुन्छ । अर्थात् विज्ञान व्यवहार हो, वेद त्यस व्यवहारभन्दा अघिको बोध हो ।

वेद, उपनिषद्मा समाज विज्ञान, जीव विज्ञान र मनोविज्ञानको बोध जुन उचाइमा राखिएको छ, त्यसको हाराहारीमा आजको दुनियाँले पनि एउटा पुस्तक या अरु कुनै प्रयोग गर्न सकेको छैन । जहाँ प्राणी र पदार्थको जुनसुकै अवस्थाको सम्बोधन छ । बोध (धर्म)को गहिराइ विज्ञानभन्दा भित्र हुन्छ भन्ने कुरा अनुभवमात्रै गर्न सकिन्छ, त्यसलाई कुनै विज्ञानले परिभाषित गर्न सक्दैन ।

जस्तैः बाटोमा हिँड्दाहिँड्दै तपाईंले आफ्नो घरमा आगलागी भएको खबर सुन्नुभयो । तपाईं अत्यन्त मर्माहत हुनुभयो । तपाईं घरतिर दौडिँदै हुनुहुन्छ । तर, अर्कैको घरमा आगलागी भएको थाहा पाउनुभयो । घरमा आगलागी भएको एउटा घटना भयो । तर, तपाईंको मनमा केही समयको अन्तरालमा दुई किसिमको बोध विकास भयो । एउटा खबरले तपाईंको शरीरमा एकथरि प्रतिक्रिया दियो, अर्काे खबरले अर्काेथरि । विज्ञानले त्यो घरको आगलागी बताउन सक्छ । तर, अध्यात्मले आगलागीमा तपाईंभित्र आएको दुईथरि बोधको अध्ययन गर्छ ।

विज्ञानले आफ्नो क्षेत्रमा प्रयोग गरेर अध्ययनलाई एकिनसाथ भन्नसक्छ । तर, वेदले त्यसलाई धर्म(सत्य) मा लगेर जोडिदिन्छ । पहिले या अहिले जेसुकैको खोज भैरहेको भए पनि त्यसको एउटै उद्देश्य मानिसको मानसिक ऊध्र्वगमनको लागि हुनुपर्ने हो । तर, आधुनिक विज्ञानको भौतिक खोजले मानिसलाई मानसिक ऊर्ध्वगमनमा पुर्‍याउन सकेन । बरु धर्मको त्यो बाटो छोडेर मानसिक नीचतातर्फ अगाडि बढेको छ ।

सच्चिदानन्द भनेको सत्-चित्-आनन्द अर्थात् चित्त सत्यमा पुगेको आनन्दको महसुस । पश्चिमा समाज यस्तो आनन्दबाट जहिलेसुकै वञ्चित रह्यो । किनकि सत्य भनेको परम शून्यता हो । ‘शून्यता दिव्यते तोत्र तस्याम अपि सपिप्यते’ अर्थात् त्यो सुखानुभूति परम् शून्यताको बेला तयार हुन्छ ।

भौतिक खोजले सुख त ल्यायो । सँगसँगै त्यसले मानिसको आन्तरिक सुख र आनन्दका बाटोहरु बन्द गरिदियो । देश देशका बीचमा, समाज समाजका बीचमा, सभ्यता सभ्यताका बीचमा र व्यक्ति व्यक्तिका बीचमा आजको द्वन्द्वले जतिसुकै बेला युद्धको आयोजना हुन सक्ने स्थिति छ । विज्ञानले गरेको प्रगतिमा चित्तको आनन्दका लागि कतै ठाउँ छैन ।

पश्चिमा समाजले प्रतिशोध र प्रतिस्पर्धाको चुरोमा पुगेर युद्ध युद्ध अनि युद्ध गरिरहँदा यस सभ्यताका मानिसहरु भने सच्चिदानन्दको सुखानभूति गरिरहेका थिए । यद्यपि आज त्यसको प्रभाव हाम्रो समाजमा पनि पर्न थालेको छ ।

सच्चिदानन्द भनेको सत्-चित्-आनन्द अर्थात् चित्त सत्यमा पुगेको आनन्दको महसुस । पश्चिमा समाज यस्तो आनन्दबाट जहिलेसुकै वञ्चित रह्यो । किनकि सत्य भनेको परम शून्यता हो । ‘शून्यता दिव्यते तोत्र तस्याम अपि सपिप्यते’ अर्थात् त्यो सुखानुभूति परम् शून्यताको बेला तयार हुन्छ । यो कतिबेला हुन्छ भने जब राग सकिन्छ । अथवा जब चित्त युद्ध अथवा प्रतिस्पर्धा र प्रतिशोधबाट बाहिर निस्कन्छ । यसलाई बुद्धले निर्वाण भने । आज आएर सच्चिदानन्दको अंग्रेजी शब्द ‘याब्सुलेट भोइडनेस’ त खोजी गरे पाश्चात्य समाजकाले । तर, त्यसको अनुभूति गर्न आजसम्म जानेको छैन । किनकि उनीहरुमा ध्यान, योग, तपस्या, अभ्यास नभएको मात्र होइन बर्जित नै छ ।

यस सभ्यतामा यसैको खोज उहिलै भएको हो । जसलाई वैश्वानर, तेजस, प्रज्ञा र ब्रह्म या जागृत, स्वप्न, सुसुप्ति र तुरिय गरी चार तहमा मानसिक उद्विकास हुने कुरा उपनिषद्मा उल्लेख गरिएको छ (माण्डुक्योपनिषद्, तेस्रो श्लोक )। विज्ञानले अनुभूति गर्न सक्ने भएको भए यसको प्रयोगात्मक विधि आइसक्थ्यो । तर, अहिले योग गुरुहरुले यसलाई योग शिक्षाको रुपमा विस्तार गरेर अनुभूत गराउन थालेका छन् । यसलाई व्यवहार वा विज्ञान भन्न नसकिने होइन ।

अन्तिम दृष्टान्त

एक पाठकको जिज्ञासा रहेछ, यति ज्ञानी थिए भने सूर्य ताराहरुको बारे किन अध्ययन गरेनन् भन्ने । अध्ययन नगरेको हो र ? बरु ब्रह्माण्डबारे वेदले जे भन्यो, विज्ञानले त्योभन्दा फरक केही भन्न सकेको छैन । यस भागमा खगोल विज्ञानमा भएका विराट अध्ययनबाट केही तथ्य राख्नु उचित होला ।

पाश्चात्य समाजले बाइबललाई मान्छ । बाइबल भन्छ- सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ । बाइबलले त्यस्तो दाबी गरेकाले त्यहाँ त्योभन्दा बाहेकको तथ्यमा अध्ययन नै हुन पाएन । किनकि बाइबलभन्दा फरक अध्ययन गर्नेलाई चर्चका पोपले मृत्युदण्ड दिन्थे ।

त्यसैको शिकार भएका थिए, ग्यालिलियो ग्यालिली (सन् १५६४-१६४२) । उनले ब्रह्माण्डको केन्द्र सूर्य हो भने । जुन कुरा बाइबलको विरुद्ध थियो । त्यसैले बाइबलविरुद्ध बोलेको भन्दै रोमन क्याथोलिक चर्चले उनलाई सजाय सुनाइएको थियो । पछि ग्यालिलियो ग्यालिलीले सजाय कम गर्न माफी मागे ।

उनले रुँदै माफी माग्दै भनेका थिए- अहिले पनि पृथ्वी सूर्यकै चक्कर लगाइरहेको छ । माफी मागेकाले उनको सजाय आजीवन नजरबन्दमा परिणत भयो । र, त्यही कष्टमा उनको ज्यान गयो ।

आदित्यबारको अपभ्रंश भएर आइतबार भएको हो । आदित्यको अर्थ सूर्य हो । भारतमा आइतबारलाई रविबार भनिन्छ । रवि भनेको पनि सूर्य नै हो । यसैलाई अंग्रेजीमा ‘सन डे’ भनियो । पाश्चात्य समाजले चन्द्रमालाई ग्रह नै मान्दैन । तर पनि सोम अर्थात् चन्द्रमालाई ग्रह मान्ने हाम्रो शास्त्रले बनाएको सोमबारकै अंग्रेजी भाषान्तर गरी ‘मुन डे’ भने उनीहरुले स्वीकार गरेका छन् ।

आज हामी खगोलशास्त्रको अध्ययन गर्न ती नै ग्यालिलियो र कपर्निकसलाई पढ्छौं । तर, हाम्रो समाजमा यी वैज्ञानिकहरु जन्मनुभन्दा पनि हजार वर्ष पहिले खगोलशास्त्रको अध्ययन भएको थियो । त्यसभन्दा अगाडिका खगोलशास्त्रीय रचनाहरु प्रशस्तै पाइन्छन् । खगोलशास्त्री आर्यभट (४७६–५५० वि.स.) जसले सौर्यमण्डलको अध्ययन गरेका थिए । उनले भनेका थिए- सूर्य र पृथ्वी आआफ्नो कक्षमा त घुम्छन् । तर, सूर्यले नभएर पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भनेका थिए । यसबारे उनले लेखेका श्लोक नै उद्धृत गरौं-

अनुलोमगतिर्नौस्थः पश्यत्यचल विलोमगं यद्वत् ।
अचलानि भानि तद्वत् समपश्चिमगानि लङ्कायाम् ।।९।।
(आर्यभटीय, गोलपाद), (पूर्णिमा ३४अङ्क,१३९ पृष्ठ ) ।

जसको अर्थ हो- यताबाट जसरी नाउमा चढी हिँडिरहेको मानिसले आफ्नो गतिलाई नसम्झेर किनाराका वस्तुलाई हिँडेको भनी ठान्छ । त्यसैगरी पृथ्वीमा बसेको मान्छेले पृथ्वीको गति नसम्झी तारा वा सूर्य पश्चिमतिर गइरहेका छन् भनी सम्झेका हुन् । उनले २४ घन्टा लगाएर पृथ्वीले आफ्नो अक्ष पूरा गर्छ र सूर्यको परिक्रमा गर्न ३६५ दिन लगाउने कुरा उल्लेख गरे । उनैले सात दिन, १२ महिना र ६ वटा ऋतु हुने कुरा बताए ।

अझ कुनै बेला १२ महिनाभन्दा धेरै दिन हुने र कहिले वर्षभन्दा कम पनि हुने बताए । जसलाई अधिक मास र मलमास भनियो । एउटा ग्रह अर्को ग्रहको ठीक पछि भएर त्यसको छायाँ पृथ्वीमा पर्ने अवस्थालाई ग्रहण भनियो । उनले तत्कालको ग्रहणको कुरा मात्र होइन, वर्षौंपछि पनि कुन कुन समयमा ग्रहण लाग्छ भन्ने पनि हिसाब गरेर भने । जसका आधारमा आजका ज्योतिषहरु वर्षभरि खगोलमा ग्रहको अवस्थाबारे पहिल्यै पात्रो बनाएर बाँड्न सक्छन् ।

ग्रहणबारेको खगोल अध्ययनको नमुना यो श्लोकले दिन्छ-

भानोर्भार्धे महीच्छाया तत्तुल्येकर्कसमेकपि वा ।।
शशांकपाते ग्रहणं कियद्घागाधिकोके ।।६।। (सूर्य सिद्धान्त)

यसको अर्थ हो-
पृथ्वीको छायाँ सूर्यबाट ६ राशिको दूरीमा रहेको छ । चन्द्रमा सूर्यको छायाँ वा बराबर राशिमा परेमा ग्रहण लाग्दछ । अलि कम वा धेरैमा ग्रहण लाग्नेछ । इतिहासविद् डा.महेशराज पन्त भन्नुहुन्छ- सूर्य सिद्धान्त पुस्तक कसले लेखेको हो भन्ने निर्णय नभए पनि धेरै पुरानो ग्रन्थमध्ये एउटा हो ।

आज मात्र हैन, त्यो बेला पनि त खगोलको अध्ययन गर्न खाली आँखाले सम्भव थिएन । त्यसैले त्यो बेला दुरविन थिए भन्न कत्ति हिचकिचाउनु पर्दैन । भारतका कुतुबमिनार, जन्तरमन्तर पनि ग्रहहरुको अध्ययन गर्नकै लागि बनाइएका रचना हुन् ।

वेदका ६ अङ्ग (शिक्षा, छन्द, कल्प, निरुक्त, व्याकरण र ज्योतिष) छन् । त्यसमा ज्योतिषलाई त वेदको आँखा नै भनिन्छ । ज्योतिषको अर्थ हो ज्योति या तारामण्डलको अध्ययन गर्ने शास्त्र । जसको अध्ययन कहिलेदेखि सुरु भयो भनेर कुनै तथ्याङ्क छैन । त्यसैले खगोलशास्त्र नै मानव सभ्यताको सबैभन्दा पुरानो शास्त्र हो ।

ग्रह र ग्रहहरुको पारस्परिक सम्बन्ध, पृथ्वी आफ्नै कक्षमा घुम्दा हुने दिनरात, अनि दिन कति घण्टाको र रात कति घण्टाको हुन्छ भन्ने पनि उनको खोजमा छ । त्यहाँ पृथ्वीको गतिको आधारमा सात दिन निर्धारण गरिएको छ । ती सात दिन रविवार (आइतवार), सोमबार, मंगलबार, बुधबार, बृहस्पितिबार, शुक्रबार र शनिबार तय भएको उल्लेख छ । ती बार पनि पृथ्वीको कक्षको अनुक्रमअनुसार तय गरिएका छन् ।
बारको नाम निर्धारणबारे पनि श्लोक छ-

शीघ्रक्रमात् चतुर्थाः दिनपाः ।।
(आर्यभट्, आर्यभटियतन्त्रम्, कालक्रियाध्याय, श्लोक-१६)

अर्को श्लोक छ-

मन्दादधः क्रमेण स्युश्चतुर्था दिवसाधिपाः ।
होरेशाः सूर्यतनयादधोकधः क्रमशस्तथा ।।
(सूर्य सिद्धान्त, भूगोलाध्याय, श्लोक, ७८-७९)

यसको अर्थ- शनि, गुरु, मंगल, सूर्य, शुक्र, बुध, चन्द्रमध्ये शनिबाट चौथो नम्बरको ग्रहका दिन सूर्य पर्ने भएकोले रविबार या आदित्यबार निर्धारण गरिएको हो । त्यस्तै सूर्यबाट चौथो नम्बरमा चन्द्रमा पर्ने भएकोले सोमबार भएको हो । एवं प्रकारले सातवटै बार निर्धारण गरिएको छ ।

आदित्यबारको अपभ्रंश भएर आइतबार भएको हो । आदित्यको अर्थ सूर्य हो । भारतमा आइतबारलाई रविबार भनिन्छ । रवि भनेको पनि सूर्य नै हो । यसैलाई अंग्रेजीमा ‘सन डे’ भनियो । पाश्चात्य समाजले चन्द्रमालाई ग्रह नै मान्दैन । तर पनि सोम अर्थात् चन्द्रमालाई ग्रह मान्ने हाम्रो शास्त्रले बनाएको सोमबारकै अंग्रेजी भाषान्तर गरी ‘मुन डे’ भने उनीहरुले स्वीकार गरेका छन् ।

संसारभर आजसम्म त्यही सात दिनका नामलाई मानिरहेका छन् । बस, यति फरक छ कि तिनका नाम भाषान्तर गरेर राखेका छन् । सात दिनलाई कसैले परिर्वतन गर्न सकेका छैनन् ।

खगोलको मात्र होइन खगोलको प्रभाव भूगोलमा रहेका जीवमा हुने प्रभावबारेको हाम्रो समाजमा विराट खोजमा प्रयोग आज भैरहेको छ । यसको थोरै चर्चा गरौं-

वेदका ६ अङ्ग (शिक्षा, छन्द, कल्प, निरुक्त, व्याकरण र ज्योतिष) छन् । त्यसमा ज्योतिषलाई त वेदको आँखा नै भनिन्छ । ज्योतिषको अर्थ हो ज्योति या तारामण्डलको अध्ययन गर्ने शास्त्र । जसको अध्ययन कहिलेदेखि सुरु भयो भनेर कुनै तथ्याङ्क छैन । त्यसैले खगोलशास्त्र नै मानव सभ्यताको सबैभन्दा पुरानो शास्त्र हो ।

ज्योतिषशास्त्र भन्छ- आकाशमा अनगिन्ती तारा छन् । त्यसमध्ये २७ वटा तारा महत्वपूर्ण छन् । जसलाई नक्षत्र भनिन्छ । नक्षत्रको समूहलाई राशि भनिन्छ । यस्ता राशि १२ वटा (मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन) छन् । ताराका अतिरिक्त आकाशमा अरु पनि आकाशीय पिण्डहरु छन् । ती आकाशीय पिण्डलाई ग्रह भनिन्छ । त्यस्ता ग्रह नौ वटा छन् र ती ग्रहहरु नक्षत्रको बाटो हुँदै घुमेर एक एक राशिमा बस्छन् ।

अनि कुनै पनि बच्चाले जन्म लिएको समयमा खगोलमा कुन ग्रह कुन स्थानमा थियो, त्यसको आधारमा उसमा स्वभाव निर्धारण हुने कुरा उल्लेख छ । तिनै १२ वटा राशि या ग्रह र नक्षत्रको अवस्थितिको आधारमा पृथ्वीको जीवनमा पनि प्रभाव परेको हुन्छ ।

हाम्रो सामाजिक परम्परामा एउटा भनाइ छ- १२ वर्षमा खोलो फर्कन्छ । यो लोकोक्तिलाई पनि खगोलीय प्रभावको बोधको रुपमा हेर्न सकिन्छ । यसबारे अमेरिकाको एरिजोना विश्वविद्यालयका प्राध्यापक ए. ई डग्लस (सन् १८६७-१९६२) को नेतृत्वमा सन् १९३७ मा रुखको चक्र अनुसन्धानले सौर्य आँधीको प्रभाव प्राणीमा छ भन्ने कुरा पुष्टि गर्‍यो ।

जुन कुरा आज पाश्चात्य समाजले पनि जस्ताको तस्तै मान्दैछ । एक अध्ययन भन्छ- अमेरिकामा आज ७५ प्रतिशत मान्छे ज्योतिषमा विश्वास गर्छन् । मतलब हाम्रा पूर्वजले जति खोजेका थिए, अध्ययनको त्यो क्षेत्रभन्दा बाहिर पश्चिमी समाज र विज्ञानले के थप खोजी गर्‍यो ? यसरी हेर्दा केही पनि नयाँ खोज पाउँदैनौं । हो, उनीहरु भौतिक साधनहरु एकत्रित गर्न सफल भए र हाम्रा खोजहरुको प्रयोग गर्न उनीहरु अगाडि देखिए । यसो भन्दैमा हाम्रो ज्ञानलाई विज्ञान होइन भन्न मिल्छ ? के यो ज्ञान होइन ? विज्ञान (व्यवहार) होइन ?

अझ खगोल अध्ययन गर्ने आर्यभट पश्चिमाभन्दा अघिका होइनन् भन्ने गरिएको पाइन्छ । आर्यभट र उनको खोज कहिलेको थियो भनेर जान्न पूर्णिमा अङ्कमात्र हेरे पनि पुग्छ । आफैं पनि एक खगोलशास्त्री रहेका नयराज पन्तले आर्यभटबारे पूर्णिमाको ३४ अङ्कमा लेख्नुभएको छ । जहाँ उहाँले आर्यभट वि.स. ५३२ मा जन्मेको कुरा तथ्यसहित राख्नुभएको छ (संशोधन मण्डलको, पूर्णिमा अंक ३४, साल २०३३)

अब भूगोलमा खगोलको प्रभावबारे यहाँ भएको खोज हेरौं । हजारौं वर्षअघिको शोधमा नै औंसीमा (चन्द्रमा छोपिएको बेला) र पूर्णिमा (चन्द्रमा पूर्ण चम्केको बेला)मा जन्मने मान्छे फरक हुने तथ्यबारे त्यहाँ उल्लेख छ । चन्द्रमाका १६ कला हुन्छन् । १६ कलामध्ये जुन कलामा जन्मन्छ, मान्छेको स्वभाव पनि त्यस्तै हुन्छ । अनि सबै कला समाप्त भएको औंसी जन्मिएको मान्छेको गुण त्यहीअनुसारको हुन्छ । आज दिन प्रतिदिन आधुनिक विज्ञानले ती खोज सही थिए भन्ने स्वीकार गर्दैछन् ।

पूर्णिमाको दिन चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने भएकाले यसको आकर्षणको प्रभाव पृथ्वीमा पर्छ । औंसीमा त्यसको आकर्षण कम हुन्छ । त्यसैकारण पूर्णिमाको समयमा समुद्रमा अधिक छाल उठ्छ, र त्यसैअनुसार जहाज कहाँसम्म लैजाने या कता पुर्‍याउने भन्ने तय हुन्छ ।

यसैगरी मान्छेमा पनि चन्द्रमाको प्रभाव हुन्छ । समुद्रको पानी नुनिलो हुन्छ । यो त विज्ञानले भन्छ नै कि मान्छेको भित्र पनि ७० प्रतिशत पानी हुन्छ । अनि त्यो पनि नुनिलो नै हुन्छ । त्यसकारण ग्रहको प्रभाव मान्छेमा पनि उस्तै हुन्छ, जस्तो समुन्द्रमा हुन्छ । यसबारे एउटा श्लोक नै छ- ‘यथा ब्रह्माण्डे तथा पिण्डे’ । अर्थात् ब्रह्माण्डमा जे छ, हरेक एक कण, जीव या मान्छे त्यसैको एक अंश हो ।

सूक्ष्म सौर्य विस्फोटको प्रभावबाट बच्न नै हाम्रो परम्परामा १२ वर्षे मेला हुने गरेका हुन् । मकर मेला र कुम्भ मेला जस्ता मेलाहरु रेडिएसनबाट बच्न नैनुहाउने गर्दागर्दै तयार भएको देखिन्छ । यी केही तथ्यलाई लिएर हेर्दा भन्न सकिन्छ आजको भौतिक विज्ञानले प्राचीन वेद शास्त्रीय ज्ञानमै टेकेर त्यसलाई प्रयोगमा ल्याएको हो ।

भूगोलमा खगोलको प्रभावबारे १९औं शताब्दीमा रसियन खगोलशास्त्री अलेक्जेण्डर चिझेभ्स्की (सन् १८९७-१९६४) ले गहिरो अध्ययन गरेका छन् । जसको खोजलाई त्यस बेलाका शासकले वाहियात भन्दै आजीवन नजरबन्द गरिदिए ।

उनले भने- हरेक १२ वर्षमा सूर्यमा विस्फोट हुन्छ । जसको प्रभाव हरेक ग्रहमा पर्छ । त्यस्तै बेला पृथ्वीमा वैद्युत (बिजुलीबाट चल्ने) उपकरणहरुमा खराबी, महामारी, ठूल्ठूला व्याधी, भूकम्प जाने, ज्वालामुखी विस्फोट हुने हुन्छ । उनले त अझ मान्छेले गर्ने विश्वयुद्ध, क्रान्ति भन्ने कुरा पनि राजनैतिक र आर्थिक कारणले हुने नभएर यस्तै सौर्य आँधीको कारणले मानिसमा उत्पन्न हुने मतिका कारण हुने बताएका थिए । उनले इसापूर्व ५०० देखि सन् १९२२ सम्ममा ७१ देशमा घटेका सबै विद्रोह र विपत्तिलाई जोडेर सौर्य आँधीसँग तुलना गरेर हेरेका थिए । यसलाई यहाँ हेर्न सकिन्छ ।

हाम्रो सामाजिक परम्परामा एउटा भनाइ छ- १२ वर्षमा खोलो फर्कन्छ । यो लोकोक्तिलाई पनि खगोलीय प्रभावको बोधको रुपमा हेर्न सकिन्छ । यसबारे अमेरिकाको एरिजोना विश्वविद्यालयका प्राध्यापक ए. ई डग्लस (सन् १८६७-१९६२) को नेतृत्वमा सन् १९३७ मा रुखको चक्र अनुसन्धानले सौर्य आँधीको प्रभाव प्राणीमा छ भन्ने कुरा पुष्टि गर्‍यो । जुन अध्ययनले जब सौर्य आँधी आउने समय आउँछ, त्यस समय रुखले पनि आफ्ना बोक्रा बाक्लो बनाउने कुरा बतायो । उक्त खोजको निष्कर्ष छ- ‘त्यस्तो बेला वायुमण्डलमा रेडियो एक्टिभिटी अधिक हुन्छ र त्यसबाट बच्न रुखले बोक्रा बाक्लो बनाउने गर्दछ । अनि फेरि विस्तारै पातलो हुँदै जान्छ र फेरि ११ वर्षमा बाक्लो बोक्रा हुन्छ । किनकि सूर्यमा हुने विस्फोटबाट बच्न रुखले यसो गर्छ ।’ (यसबारे मोहन तिमल्सिना, अनलाइनखबर- सौर्य आँधी र १२ वर्षे कुम्भ मेलाको सम्बन्ध, २०७८ फागुन, २ हेर्न सकिन्छ।)

यसरी सूक्ष्म सौर्य विस्फोटको प्रभावबाट बच्न नै हाम्रो परम्परामा १२ वर्षे मेला हुने गरेका हुन् । मकर मेला र कुम्भ मेला जस्ता मेलाहरु रेडिएसनबाट बच्न नैनुहाउने गर्दागर्दै तयार भएको देखिन्छ । यी केही तथ्यलाई लिएर हेर्दा भन्न सकिन्छ आजको भौतिक विज्ञानले प्राचीन वेद शास्त्रीय ज्ञानमै टेकेर त्यसलाई प्रयोगमा ल्याएको हो । हामीले त्यसलाई अध्ययन गर्न जाँगर नदेखाएका मात्रै हौं, नत्र हामी सबै अघिअघि वेद पछिपछि विज्ञानको मान्यतामा विमत हुन सक्दैनौं । प्रह्लाद नाटकमा बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ’ भने जस्तै हामी पनि सत्यमा पुगेर सत्य भोगेर हाँसेर मरौं, जीवनलाई सुन्दर बनाऔं ।


प्रतिक्रिया

6 thoughts on “वेद र विज्ञान के झगडिया हुन् ?

  1. लेख राम्रो लाग्यो ।लेखकलाई धन्यवाद ।।पूर्वीय सभ्यताको केही कुराहरुको बैज्ञानिक पक्ष साच्चै अध्ययन गर्न लायक छ।जस्तै “मर्चा”भन्ने चिज सबैभन्दा शुरुमा कसले पत्ता लगायो होला।रक्सि पार्ने पद्धतिको आबिष्कारक को थिए होला। “पुलिक” ,ताराको गु या “सि माला” भन्छ त्यो के बाट बनेको होला त्यसको प्वाँल उ जमानाना कुन प्रबिधि बाट खोपेको होला? आदि

  2. वेद पूरै पढेरै लेख लेखेको झै लागेन । वेदका कति कुराहरू विज्ञान सम्मत छैनन् । लामो लेखमा विषयहरू खिचडि बनाएका छन् । विमानशास्त्रमा लेखिएका कुराहरूबाट विमान गफैमा मात्र उडे साँचि कसैले उडाएको पाईएन । वुद्ध महाविहारमा ज्योतिषशास्त्र पनि पढाईन्थ्यो र आर्यभट्ट, परासर ऋषि नभई वौध्द भिक्षुहरू थिए भन्ने प्रमाणहरू भेटिएका छन् । वेदमा विज्ञान छ भन्ने नितान्त कपोलकल्पित र झूठो हो ।

  3. very logical article. development of Quantum Physics is also the proof of vedic statements about life and univers. congratulation Binuji.

  4. हाम्रो धर्म, संस्कृति र विहंगम अध्यात्मलाई हामीले छोडेका छौं | बेद उपनिषद जस्ता अमूल्य कृतिहरुको बैज्ञानिक अध्यन अनुसन्धान हुनु पर्छ | हामीले जसलाई नेता ठानेउ बर्षौं देखि तिनले हाम्रो संस्कृत बांग्मयलाई लार्कारी रहे | ती विधर्मी नटवरलाल भएको कुरा अहिले प्रस्टिएको छ | बिगत तीन बर्ष देखि म अध्यात्म सुन्दै छु हरेक दिन गुरु प्रा. शिव गोपाल रिसाल लगायत देवघाट महेश आश्रमका गुरुहरुको फेसबुक लाइभ https://www.facebook.com/brahma.jigyasu ब्रंम्ह जिज्ञासुमा हेदै आएको छु | यो लेखले हाम्रो अमूल्य निधिलाई मायाँ गर्न, स्वीकार्न र बचाउन प्रेरित गरेको छ | यस्ता अनुसन्धानहरु सरकारी तवरबाटै गरियोस |

Leave a Reply

Your email address will not be published. Required fields are marked *