‘तन्नेरी पाठकलाई रुचिअनुसारकै किताब छान्न अनुरोध गर्छु’ – Nepal Press
नेपाल टक

‘तन्नेरी पाठकलाई रुचिअनुसारकै किताब छान्न अनुरोध गर्छु’

लेखक सुविन भट्टराई भन्छन्- प्रश्न गर्न, तर्क गर्न पनि पढ्नुपर्छ । पढेको कुरा कहिल्यै खेर जाँदैन

काठमाडौं । २०७९ सालको आख्यानतर्फ ‘वर्ष पुस्तक’ बन्यो ‘इजोरिया’। सुविन भट्टराईको उक्त पुस्तकलाई आख्यान बिधामा वर्ष पुस्तक भएको शिलापत्र अनलाइनले हालसालै सार्वजनिक गर्‍यो । युवा पुस्ताका सफल र सबैभन्दा धेरै चलेका लेखक हुन् सुविन भट्टराई । उनले युवा लक्षित किताबहरु ल्याएर एकपछि अर्को चर्चा बटुलिरहेका छन् । भट्टराईका पाँच उपन्यास प्रकाशित छन् । ‘समर लभ’बाट सुरु भएको उनको औपन्यासिक यात्रा अहिले ‘इजोरिया’मा आइपुगेको छ । ‘कथाकी पात्र’ नामको उनको कथा संग्रह अलग्गै छ । प्रेमिल मुद्दामा लेख्ने भनेर परिचित भट्टराईले पछिल्ला समयमा ‘प्रिय सुफी’ उपन्यासमा भने प्रेमसँगै आत्महत्या रोकथामको मुद्दा लिएर आए । मधेशको इपिसेन्टर जनकपुरलाई मुख्य मुकाम बनाएर जनकपुरे लवजमै लेखिएको ‘इजोरिया’मा उनले तीन पुस्ते महिला संघर्षको सवालदेखि बलात्कार हद म्याद हुनुहुन्नसम्मका मुद्दा उठाएका छन् ।

उनै सुविन भट्टराईसँग नेपाल प्रेसकर्मी विराट अनुपमले गरेको कुराकानीः

– तपाईंको पहिलो उपन्यास समर लभको स्टिकरमा ‘तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको कथा’ भनेको छ । आखिर त्यो सावित भयो । तन्नेरी अत्यन्तै रुचाए । तपाईंलाई के लाग्छ, तन्नेरीहरु पढ्छन् ?

समर लभ युवाहरुकै लागि भनेर युवाले नै लेखेको कथा थियो । लेख्दै गर्दा पाठकको एउटा निश्चित घेरोको कल्पना गरेको थिएँ । तर, मेरो कल्पनाको आकारलाई सानो बनाइदिँदै त्यस्ता धेरै घेराहरु यसले तोड्यो । युवा पाठकहरुले कथामा आफूलाई भेटे, आफ्नै जीवनका केही कालखण्ड देखे । आफूलाई नदेखे पनि आफ्ना वरिपरिका परिचित, साथीसंगी, आफन्त आदिलाई भेटे र मन पराए । युवा पुस्ताले एकदमै हार्दिक भावले समर लभलाई अपनाए । समर लभका पाठकको विशाल संख्या देखेर म कसरी भनूँ युवा पुस्ताले पढ्दैन भनेर । बरु जोड दिएर भन्छु, पढ्ने भनेकै विशेष युवा पुस्ताले हो ।

– १२ वर्षमा छ पुस्तक ल्याउनुभयो । तन्नेरी केन्द्रित ल्याउनुभयो । अहिलेसम्म कथाकी पात्रबाट इजोरियासम्म आउँदा कस्तो अनुभव छ ?

कथाकी पात्रदेखि इजोरियासम्म आइपुग्दा मभित्रको पाठक हुर्किंदै गयो होला । मभित्रको लेखक तिखारिँदै गयो होला । मेरो चेतना सङ्लिँदै गयो होला । समाजलाई हेर्ने दृष्टिकोण थोरबहुत तङ्ग्रियो पनि होला । समग्रमा म परिपक्व भएँ कि भन्ने लाग्छ । बाँकी त पाठकले नै नियाल्नुभएको होला मेरो परिवर्तित स्वरुपलाई ।

युवा पुस्ताले एकदमै हार्दिक भावले समर लभलाई अपनाए । समर लभका पाठकको विशाल संख्या देखेर म कसरी भनूँ युवा पुस्ताले पढ्दैन भनेर । बरु जोड दिएर भन्छु, पढ्ने भनेकै विशेष युवा पुस्ताले हो ।

– नेपाली किताब बारेमा बेखबर तन्नेरीहरु तपाईंका किताबका अतीत शर्मा, साया शाक्यदेखि सिम्रिक अनि ठाकुर पात्रलाई एक एक व्याख्या गर्न सक्छन् । अरु पुस्तक नपढ्ने सुविन भट्टराईको चै पढ्ने किन भैरहेको छ ?

पाठकले मलाई किन र कति प्रेम गर्नुहुन्छ, मलाई कत्तिको पढ्नुहुन्छ भनेर म भन्न सकुँला । तर, पाठकले अरु लेखकलाई कति प्रेम गरिरहनुभएको छ, अरु लेखकका किताब कत्तिको पढ्नुहुन्छ, त्यो भन्न सक्ने हैसियत म राख्दिनँ ।

आधा दर्जन पुस्तक लेखिसकेको छु । हरेक पुस्तकको व्यग्रतापूर्वक प्रतीक्षा पाठकहरुले गर्नुहुन्छ । जसलाई प्रेम गरिन्छ, उसैलाई त पर्खिन मन लाग्ने रैछ । मैले सिर्जना गरेका पात्रमा पाठकले आफ्नो छायाँ देख्छु भन्नुहुन्छ । यो पाठकले मप्रति देखाउनुभएको विश्वास हो । समर लभ र साया पढेर कहाँ दूरदराजदेखि काठमाडौं आउनुभएका पाठक त्रिभुवन विश्वविद्यालयमा अतीत र साया खोज्दै गएँ भन्नुहुन्छ । त्रिचन्द्र कलेज र त्यहाँको सेरोफेरोमा फुल्ने नीला बैजनी ज्याकारान्डा देखेर प्रिय सुफीको स्मृतिमा पुगें भन्नुहुन्छ । तराईतिर जोसुकैले साइकिल चलाउँदा दिमागमा ठाकुर र सिम्रिकका छायाँ पैया झैँ घुम्छन् भन्नुहुन्छ । पाठकलाई मैले सिर्जना गरेका पात्रहरु जीवन्त लागेकाले होला । मैले भनेका कथामा आफ्नै जीवनका झस्काइ र सुस्केराहरु फेला पार्नुभएकोले पनि होला ।

– तपाईंका किताब एकएक गर्दै आइसके । लेख्ने र पढ्ने कुनमा बढी समय जान्छ तपाईंको ?

पढुनु त के र, चाख्नु जस्तो भएको छ हिजोआज । साहित्य साधना सिंगै घर हो भने पढ्नुको स्पेसले एउटा कोठा जतिको ठाउँमात्रै ओगटेको छ । धेरैजसो ऊर्जा लेखनमा लाग्छ । यो गलत हो, मलाई थाहा छ । पढ्नुलाई कमसेकम समयको तीन चौथाइ हिस्सा दिनुपर्ने । लेखरै जीवन धान्नुपर्ने बाध्यताले गर्दा पनि होला, ‘अब के पढ्ने र’ भन्ने प्रश्नभन्दा ‘अब के लेख्ने र’ भन्ने प्रश्नमा बढी घोरिनुपर्छ । तर पनि जेनतेन पढाइ र लेखाइको सन्तुलन बनाउने यत्न सधैं गरिरहेको हुन्छु । लेखिरहँदा पनि पढ्छु । नलेख्दा पनि पढ्छु । तर, सधैं अपर्याप्त महसुस हुन्छ ।

– तन्नेरीले किन पढ्नुपर्छ ?

तन्नेरीले मात्र होइन, तन्नेरी भइनसकेकाहरुले पनि पढ्नुपर्छ । कमसेकम आफ्नो उमेरअनुसारको किताब खोज्ने बानीको विकास शिक्षक र अभिभावकले गराइदिनुपर्छ । कुनै बेला तन्नेरी थिएँ भन्नेहरुले पनि पढ्नुपर्छ । सबै उमेर समूहले आफ्नो रुचि र क्षमताअनुसारको किताब छानेर पढ्नुपर्छ । चार जना मान्छेका अघि आत्मविश्वासका साथ बोल्न सक्ने हुन पढ्नुपर्छ । प्रश्न गर्न, तर्क गर्न पनि पढ्नुपर्छ । पढेको कुरा कहिल्यै खेर जाँदैन । भोलि आफ्नो ज्ञान जहाँ पनि जस्तो रुपमा पनि बेचेर पैसा कमाउन सकिन्छ ।

मैले सिर्जना गरेका पात्रमा पाठकले आफ्नो छायाँ देख्छु भन्नुहुन्छ । यो पाठकले मप्रति देखाउनुभएको विश्वास हो । समर लभ र साया पढेर कहाँ दूरदराजदेखि काठमाडौं आउनुभएका पाठक त्रिभुवन विश्वविद्यालयमा अतीत र साया खोज्दै गएँ भन्नुहुन्छ ।

एउटा किताब सधैं बोकर हिँड्ने बानी बसाल्नुपर्छ । कसैलाई पर्खिंदा पनि समय कट्छ । समय कसरी कटाउने भनेर कहिल्यै छट्पटिनु पर्दैन । जुनसुकै पेसामा गए पनि पढ्ने बानी भएको व्यक्तिलाई उसको अध्ययनले छुट्टै उचाइ दिइरहेको हुन्छ । उसको व्यक्तित्व अरुभन्दा विशिष्ट भइरहेको हुन्छ । हामी समय पचासौं प्रत्युत्पादक थोकमा छर्दै हिँडिरहेका हुन्छौं । त्यसले हामीलाई क्षणिक सन्तुष्टिमात्र दिन्छ । छरिएर खेर गइरहेका ती चीजलाई एकत्रित गरेर पढाइमा लगाउन सके, दोहोरो फाइदा हुन्छ भन्ने बुझ्न सक्नुपर्‍यो ।

– नेपाली तन्नेरी पाठकहरुले पढ्नैपर्ने तपाईंको नजरका किताबहरु के के हुन् ?

भर्खर सुरु गर्दै गरेका विशेषगरी तन्नेरी पाठकलाई म सकभर त आफ्नो रुचिअनुसारकै किताब छान्न अनुरोध गर्छु । किताबको आकार देखेर तर्सिनुहुन्छ भने पातला किताबबाट सुरु गर्नुहोस् भन्छु । सकभर सरल भाषाबाटै सुरु गर्नुहोस् । नेपाली भाषामा लेखिएका पातला र ठीक्क अनि सरल किताबहरुमा नारायण वाग्लेको पल्पसा क्याफे पढ्नुस्, कर्ण शाक्यका सोच, खोज पढ्नुस्, विजय मल्लको अनुराधा, हरिवंश आचार्यको चिना हराएको मान्छे, विनोद चौधरीको आत्मकथा, मदनकृष्ण श्रेष्ठको महको म, तारिणीप्रसाद कोइरालाको सर्पदंश, विश्वेश्वरप्रसाद कोइरालाको दोषी चश्मा, नयनराज पाण्डेको उलार, जियस पौडेलको एक सर्को माया, मनु बज्राकीको तिम्री स्वास्नी र म, गोविन्द मल्ल गोठालेको कथैकथा र पल्लो घरको झ्याल, तीर्थ गुरुङको पाठशाला आदि ।

धेरै किताबको नाम लिन पाइँन । पठनको यत्ति खुड्किलो उक्लिसकेपछि चढ्नुपर्ने उकाली पाठकले आफैं देख्नुहुनेछ । कमसेकम यति पढिसकेपछि पाठकले आफैं फेला पार्नुहुनेछ, अध्ययनको आफ्नै क्षितिज ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर