अमेरिकाबाट प्रकाश सपूतको प्रश्न: यति कला पनि नबुझ्ने कस्तो खालको जमात हो ? – Nepal Press
नेपाल टक

अमेरिकाबाट प्रकाश सपूतको प्रश्न: यति कला पनि नबुझ्ने कस्तो खालको जमात हो ?

काठमाडौं । गायक प्रकाश सपूतका प्रायः हरेक गीत विवाद र चर्चाको पर्याय बन्ने गरेका छन् । गत वर्ष आएको ‘पिर’ले राजनीतिक वृत्तमा तरंग ल्यायो । यसपटक सार्वजनिक भएको गीत ‘सकमबरी’ पनि विवादित बनेको छ ।

कलाकारितामा लागेका युवतीहरुको चरित्रहत्या हुने गरी गीत र भिडियो बनाएको आरोप सपूतमाथि लागेको छ । साथै पारिजातद्वारा सृजित चर्चित उपन्यास ‘शिरिषको फूल’को प्रमुख पात्र सकमबरीलाई गीतले गलत चित्रण गरेको टिप्पणीहरु पनि भएका छन् । विवाद र आलोचनाका बीच सपूतको गीत अहिले युट्युबको ट्रेण्डिङ नम्बर एकमा छ । अहिलेसम्म ६६ लाख भ्युज पाएको छ ।

तर, गायक सपूत भने अहिले गीतको कार्यक्रमका लागि अमेरिकामा छन् । उनै प्रकाश सपूतसँग गरिएको कुराकानी :

– तपाईंको ‘सकमबरी’ गीतलाई लिएर अनेकखाले टीकाटिप्णी भइरहेको छ । ती सम्पूर्ण प्रतिक्रियालाई कसरी लिनुभएको छ ?

सामान्यतया प्रकाश सपूतको गीत आउनासाथ विवाद हुन्छ भन्ने छ । तर, विचारसहितको सृजना आउँदा बहस भइहाल्दो रहेछ । विचारसहितको सृजना आउँदा मान्छेहरुले त्यो विचारमाथि आफ्नो विचार राख्छन् । मेरा सृजनामा कहींकतै समाजको धारणा र मुद्दालाई मिश्रण गरिएकाले अहिले ती कुराहरु आएका हुन् ।

– तर, तपाईंको गीत र भिडियोले महिलालाई वस्तुकरण गर्न खोजेको धेरैले महसुस गरिरहेका छन् नि ?

सर्जकीय हिसाबमा मेरो चेतनाले महिलालाई वस्तुगत रुपमा मात्रै प्रस्तुत गर्न खोजेको वा मेरो व्यक्तिगत दृष्टिकोण नै त्यस्तो भएको भन्ने होइन । तर, यहाँ सृजना हुने परिवेशले महिलालाई वस्तुको रुपमा हेर्छ वा कुनै अमूक पात्र आफैंले महिलालाई एक खालको जञ्जालमा पुर्‍याउँछ र आफैंले मोज गर्न थाल्छ । आफू पनि त्यस्तो परिवेश बन्नुमा भागीदार भएको हुन्छ, त्यो चाहिँ देख्दैन । अरुलाई मात्रै औंला उठाउँछ भन्ने चरित्र देखाएको छु । तर, जब महिला पात्रलाई निरीहभन्दा पनि परिस्थितिबाट माथि उठ्दै जाँदा उसले प्रश्न गर्न सुरु गरेकी छ । यो कुरा चाहिँ अलिकति नबुझेका हुन् कि लाग्छ मलाई ।

– कानैमा झुम्काना कसले किन्दियो भनेर सानो झुम्कामाथि नै प्रश्न गर्दैगर्दा महिलाको क्षमतालाई नजरअन्दाज गरेको भन्न सकिँदैन ?

त्यो प्रश्न त प्रकाश सपूतले स्कुटर चढिरहेकी युवतीलाई सोधेको होइन । त्यहाँ प्रश्न सोध्ने पात्रको चरित्र निर्माण गरिएको छ कि छैन ? तिम्रो सपनालाई सहयोग गर्छु भनेर जसले लिएर आयो, उसैले हिंसा र ब्याड टच सुरु गरेर फाइदा लिन सुरु गर्‍यो । पुरुष पात्रले उसको लाचारीपनको फाइदा लियो । अनि त्यो पुरुष पात्रले आफ्नो अनुकूलताबाट जब त्यो केटी बाहिर जान थाल्यो, उसले आफू छाडिएको महसुस गर्न थाल्यो । अनि अनावश्यक रुपमा महिलालाई उसले प्रश्न गर्न थाल्यो ।

राष्ट्र एक ठाउँमा छ । भावना एक ठाउँमा छ । तर, आज पनि नेपालको अस्थिरता देख्दा, समाजको अस्तव्यस्तता देख्दा थुक्क मैले किन नेपाल छाडें भन्ने कुनै नेपालीलाई लाग्दैन । यस्तो परिस्थिति त हामीले बनाएका छौं नि !

प्रश्न गर्नेले कलाको चरित्र निर्माण त बुझ्नुपर्‍यो नि ! त्यो प्रश्न प्रकाश सपूतले गरेको होइन । आम मान्छेले आम मान्छेलाई गरेको प्रश्न हो । गीतमा पात्रको चरित्र निर्माण गरिएको छ, मानसिकता निर्माण गरिएको छ । गायकको पात्र मैले निभाएको छु । झुम्कामाथि त्यो पात्रको मानसिकताले गरेको प्रश्न हो । जसले आफ्नो अण्डरमा आएकी महिलाको प्रगति देख्न सकेन र औंला उठाउन थाल्यो । त्यो भनेको पुरुष मानसिकताको उपज हो । पितृसत्तात्मक सोचको परिणाम हो । मेरो गीतलाई लिएर मेरो नियत र सोचमाथि आरोप लगाइरहँदा त्यो पात्र त समाजबाटै पाएर निर्माण गरेको हुँ । पितृसत्तात्मक सोच राख्ने पुरुषको प्रतिनिधित्व गर्दै पात्र निर्माण गरेको हुँ । यति कला पनि नबुझ्ने कस्तो खालको जमात हो ?

– तपाईंलाई आफ्ना हरेक गीतमा आँसु र भावनामात्रै बेचेको भनेर आरोप लाग्दै आएको छ । यसमा पनि त्यही निरन्तरता देखिएन र ?

आँसु र भावना बेच्नलाई यत्रो सृजनात्मक इफोर्ट किन लगाउनुपर्थ्यो र ! सेन्टिमेन्ट क्यास गर्न अरु माध्यम सजिलो थियो । मैले आँसु वा भावना बेचें भने ठीक छ, एकैछिनलाई मैले मानें त्यो । तर, आँसु झार्न बाध्य कसले बनाइरहेको छ त ? हामीलाई यति धेरै भावुक र यति धेरै कमजोर कसले बनाइरहेको छ त ? हाम्रो राज्य र सिस्टमले होइन ? ‘बोल माया’ मा पनि भावना बेचें भनेर आरोप लाग्यो । ल त्यसो भए परदेशमा कोही गएको छैन त ? काठको बाकस आएको छैन त ? मान्छेहरु रोएका छैनन् त ? अनि रुन चाहिँ पर्ने रे, रोएको कुरालाई देखाउन चाहिँ नपाइने ! यो कस्तो विरोधाभाष ?

– तपाईंले गीतहरुमार्फत नेपाली समाजलाई सतही तरिकाले देखाइरहनुभएको आरोप पनि छ नि ?

हामी अहिले निराशावादी समयमा छौं । अहिले अमेरिकामा बस्ने एउटा नेपालीलाई पनि देश राम्रो बनिरहेको छ, त्यतै बस्नुपर्ने भन्ने लाग्दैन । राष्ट्र एक ठाउँमा छ । भावना एक ठाउँमा छ । तर, आज पनि नेपालको अस्थिरता देख्दा, समाजको अस्तव्यस्तता देख्दा थुक्क मैले किन नेपाल छाडें भन्ने कुनै नेपालीलाई लाग्दैन । यस्तो परिस्थिति त हामीले बनाएका छौं नि !

कहिलेकाहीं मलाई योमात्रै गरिस्, यतिमात्रै गरिस् भन्छन् । अब मैले देखेको र बाँचेको समाज नै छ त्यतिमात्रै ! समाज नै छ त्यस्तै । अनि मैले एड्भान्स मान्छेको कथा टिपुँ त ? मैले गीतमार्फत् भनेजस्तो समाज छैन त ? मैले गीतमार्फत् समाजको यथार्थ नदेखाउँदा त्यो चिज छोपिने त होइन नि ! अब विभेद, हिंसा थिएन भने त्यस्तै गीत गाउँथें होला । मेरो रुचि र क्षमताको हिसाबले मलाई सामान्य मान्छेको कथा देखाउन मन लाग्छ । उज्यालो समाजको कथा अर्को सर्जकले देखाओस् । अँध्यारो समाजको कथा म मेरो तरिकाले देखाउँछु र मैले देखेको/भोगेको समाजमा अँध्यारो नै बढी छ ।

– शिरिषको फूलको बहुचर्चित पात्र सकमबरीलाई प्रयोग गर्नुभएको छ गीतमा । त्यो चाहिँ कति आवश्यक थियो ?

यो सकमबरी र त्यो सकमबरी ! गीतमा मेरो आफ्नो के नियत झल्केको छ भने मलाई सकमबरी एकदमै मन परेको पात्र हो । मेरो कलिलो उमेरमा पढेको किताबमा अत्यधिक मन परेको किताब हो शिरिषको फूल । मैले देखेको सकमबरी आम महिलाभन्दा फरक आधुनिक महिला हो । त्यो भएर सकमबरी पहिलो प्रेमिका हो मेरो । त्यो प्रेमिकासँग प्राण भर्न पाए, कुरा गर्न पाए हुन्थ्यो भनेर जहिल्यै म कल्पनामा डुबिरहन्थें ।

अब विभेद, हिंसा थिएन भने त्यस्तै गीत गाउँथें होला । मेरो रुचि र क्षमताको हिसाबले मलाई सामान्य मान्छेको कथा देखाउन मन लाग्छ । उज्यालो समाजको कथा अर्को सर्जकले देखाओस् । अँध्यारो समाजको कथा म मेरो तरिकाले देखाउँछु र मैले देखेको/भोगेको समाजमा अँध्यारो नै बढी छ ।

यो गीत त्यो पात्रसँग रहेर निर्माण गरिएको होइन । सकमबरीको अर्थ देवी, दुर्गा जस्तो पनि लाग्ने रहेछ । सकमबरीको आफ्नै खाले अर्थ पनि छ । त्यो पात्रलाई गीतमा कसरी कनेक्ट गरेको छ भन्ने अलिकति कला चेत त हुनुपर्‍यो नि ! हामीले राजेश हमालको फिल्मबाट प्रभावित भएर शंकर नाम राखेका छैनौं र ? ‘कुछकुछ होता है’ बाट प्रभावित भएर राहुल नाम राखेका छैनौं ? प्रेम नाम राखेका छैनौं ?

भिडियोमा महिला पात्रले ‘शिरिषको फूल’ पढिरहेकी छ । कसैले तपाईंको नाम के हो भनेर सोध्दा सकमबरी भनिदिन्छे । त्यसपछि जोक अ पार्ट भनेर त्यसलाई त्यही टुंगाइएको छ । पछि उसलाई त्यो पात्र मनपर्छ, अनि त्यही नाम प्रयोग गर्छे । पात्र र चरित्र शिरिषको फूलबाट प्रभावित छैन । शिरिषको फूलको सकमबरीलाई र्यान्डमली प्रयोग गरिएको छ । ‘देवदास’ फिल्म छ, ‘देव डी’ पनि छ नि ! त्यो चरित्रलाई कसरी उठाइएको छ, यी सामान्य कला चेत पनि हाम्रा तमाम लेखकहरुमा छैन होला र ?

– तर, शिरिषको फूलको सकमबरी र तपाईंले देखाएको सकमबरीमा कुनै तालमेल छ र ?

भिडियोको सकमबरी भनेको अहिले मैले बाँचेको सकमबरी हो । म शिरिषको फूलको सकमबरीमाथि टिप्पणी गर्न चाहन्नँ । अहिले चाहिँ मैले फूलमायाको कथा भनेको हो । फूलमायाले सकमबरी नाम मन परेर राखेको हो । सिम्बोलिक हिसाबले अलिकति ब्रेभ, कपाल छोटो पारेको, आम छोरीमान्छेभन्दा अलि अलग हो है भनेर प्रयोग त गरेको हुँ ।

पात्रको प्राणको कुरा गर्दा त्यो सकमबरी र यो सकमबरी अत्यन्त फरक छ । त्यो सकमबरी र यो सकमबरीको परिस्थिति अत्यन्त फरक छ । एउटा म्युजिक भिडियोमा साहित्यिक रुचि भएकाले सकमबरी समेटेको हुँ । साहित्यको गहिरो पात्रलाई सिम्बोलिक रुपमा मात्रै प्रयोग गरिएको हो । त्यहाँ फूलमायामात्रै राखिदिँदा फरक पर्छ र ? पर्दैन नि त !

फूलमायाको सट्टा कुनै आधुनिक नाम राखेको भए पनि हुन्थ्यो । म त अचम्म पर्छु, मान्छेहरुले कुरा गर्दा कलालाई किन माथि राख्दैनन् ? सर्जकमाथि किन खनिन्छन् ? सृजनामाथि खनिऊन् न ! मान्छेहरु प्रकाश सपूत भनिरहेका छन् । त्यहाँ पात्रहरुको कोलाबोरेसन मिलेको छैन भनेर कुरा उठाउने हो नि ! तर, यहाँ सृजनामाथि होइन, प्रकाश सपूत यस्तो उस्तो भन्नतिर मान्छे लागे ।

– गम्भीर विषयलाई भावनात्मक रुपमा देखाउँदैमा प्रगतिशील देखिन्छ त ?

त्यो भन्न पाइयो । मलाई निराशावादी, यथास्थितिवादी भनियोस् । मैले निर्माण गरेको पात्र र दृष्टिकोणहरु समाजमा छन् कि छैनन् ? मलाई त्यतिमात्रै भन्नुहोस्, हाम्रो समाजमा सकमबरीहरु छैनन् ? त्यसरी प्रश्न गर्ने पुरुषहरु छैनन् ? कानमा झुम्काना कसले किन्दियो भन्ने पुरुषहरु छैनन् ? घरमा श्रीमती हुँदाहुँदै बाहिर केटी लिएर हिँड्ने पुरुषहरु छैनन् ? कला क्षेत्रमा त्यो किसिमको हिंसा र कुदृष्टि छैन ? राति काम गर्नेहरुले त्यो किसिमको व्यवहार झेलेका छैनन् ?

एउटा म्युजिक भिडियोमा साहित्यिक रुचि भएकाले सकमबरी समेटेको हुँ । साहित्यको गहिरो पात्रलाई सिम्बोलिक रुपमा मात्रै प्रयोग गरिएको हो । त्यहाँ फूलमायामात्रै राखिदिँदा फरक पर्छ र ? पर्दैन नि त !

सबै राम्रो छ भनेर भन्न सक्नुपर्‍यो । होइन भने एउटा सृजनामा हामीले ऐना देखाए जस्तो सिम्बोलिक रुपमा देखाउने हो । त्यसमा मैले प्रगतिशील देखाउन सकिनँ, सुझाव दिन सकिनँ भने म प्रगतिशील होइन । म सर्जक हुँ, जसले आफ्नो समाजलाई सृजनामार्फत् देखाउँछमात्रै । अब परिवर्तन गर्ने काम सम्बन्धित मान्छेहरुकै हो ।

– त्यसो भए के तपाईं भीडको सेन्टिमेन्ट लिनमात्रै गीत बनाउनुहुन्छ ?

अहिले सकमबरीमा बासी कथा भन्दैछु भनेर डर लागेको थियो । थुप्रो पटक हाम्रो र बलिउड फिल्ममा देखाइएको छ यस्तो कथा । पुरुषको जति पनि ट्राजेडी गीत छ । त्यहाँ महिला धनाढ्य केटासँग लागेर त्यो पुरुषलाई छोडेको र त्यो पुरुषले गाउँदै रुँदै हिँडेको भिडियो कति छन् ? ट्राजेडी देखाउनुको कुनै कारण नपाएर महिलालाई धनाढ्य पुरुषसँग लागेको देखाइएको हुन्छ ।

मलाई अनेक आरोप लगाइनु भनेको मेरो सृजनशीलतालाई मान्छेले स्वीकार्न नसकेका हुन् । बरु मलाई सुझाव दिन सकिन्छ । मेरो दृष्टिकोणमा समस्या छ भने त्यसमाथि प्रश्न गर्न सकिन्छ । मैले त चरित्रहरुमा काम गरिरहेको छु । मुद्दाहरुमा काम गर्न बाँकी नै छ । मान्छेलाई नबिझ्ने गरी सरर कथा भनिरहेको छु ।

कथा भन्दा त मान्छेलाई यति चित्त दुःखेको छ, मजा आइरहेको छैन । अब मैले ड्यांग ड्यांग प्रश्न गर्न थालें भने कति दुख्ला यो समाज ? कति प्रहार आउला ? समग्रमा कलाकारितालाई नजिकबाट देखेकाले त्यहाँको प्रवृत्ति देखाएको हुँ । अन्य क्षेत्रमा जागिर लगाइदिन्छु भनेर ल्याउनेले हिंसा गरेका छैनन् ? फलानो बनाइदिन्छु भनेर हिंसा गरेका छन् । अहिलेका सोकल्ड आधुनिक महिला, जसले हिंसा भोग्न परेको छैन, उनीहरुलाई सकमबरी निरीह लाग्नु स्वाभाविक हो । तर, अहिले पनि निरीह र विचरा पात्रहरु छन्, फूलमाया प्रशस्त छन् ।


प्रतिक्रिया

One thought on “अमेरिकाबाट प्रकाश सपूतको प्रश्न: यति कला पनि नबुझ्ने कस्तो खालको जमात हो ?

  1. राम्रोलाई राम्रो देखेर पनि भन्न नरुचाउने संस्कार बसेको छ हाम्रो।मानसिकता परिवर्तन गर्न नसक्नु र आफू गर्न पनि नसक्नेको जमातमा यस्ता कुराहरू आइरहनुले कुनै पर्वाह राख्दैन।तपाईं निराशावादी भएर पछि नहट्नुहोला,प्रकाश जी।तमाम म जस्ताहरूको तपाईं प्रतिको बिश्वास घट्न नदिनुहोला।धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर