प्रधानमन्त्री र गठबन्धनका नेतालाई भीम आचार्यको प्रश्न- यो सरकारले कति वर्षमा पूर्णता पाउँछ ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्री र गठबन्धनका नेतालाई भीम आचार्यको प्रश्न- यो सरकारले कति वर्षमा पूर्णता पाउँछ ? (भिडिओ)

संसद प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँमात्र होइन, सरकारको जवाफदेही खोइ ?

काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् ।

६ महिना पुग्न लाग्दासम्म सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनी सत्तारुढ गठबन्धनलाई कटाक्षसमेत गरे ।

सरकार संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै उनले भने, ‘वर्तमान सरकार धेरै अलमलिइरहेको देखिराखेका छौं । लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगहरूले सरकार गठन भएको झण्डै ६ महिना भइसक्दा पनि आफ्नो पूर्णता नपाउने, मन्त्रालयहरू खाली हुने, जनताले सेवा नपाउने, उनीहरू मर्कामा हुने, विकासमा कामहरु अलपत्र पर्ने खालको अवस्था अहिले विद्यमान छ ।’

उनले थपे, ‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरूलाई मेरो प्रश्न तपाईँहरूले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ? अनि, विकासको माग गर्न यहाँहरूलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि ? वा शताब्दी लाग्छ ? उत्तर चाहियो । यो संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँमात्रै होइन । संसद भनेको सरकारको जवाफदेहिता लिने ठाउँ हो । सरकारले आफ्ना कार्ययोजनाहरु यहाँ प्रष्ट ढंगले सार्वजनिक गर्नु पर्दछ । जे मन लाग्यो त्यही गर्ने । देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर