सुदूरपश्चिमको राजधानीबारे संसदमा बलायरको प्रश्न- गोदावरीमा प्रदेश राजधानी अझै किन बनेन ? (भिडिओ)
प्रधानमन्त्रीले गठबन्धनको संस्कृतिविपरीत एमालेका प्रदेश इन्चार्जको निवासमा पुगेर भेटेकोमा असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानीका विषयमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद बलायरले प्रदेश राजधानी घोषणा भएको वर्षौं वित्दासमेत संरचना निर्माण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? प्रदेशसभाले दुईतिहाइले गोदावरी नगरपालिकामा बनाउने निर्णय गर्यो । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा गोदावरीमा प्रदेश राजधानी बन्ने भयो । तर, त्यतिबेला मेरो पार्टी विपक्षमा थियो । ०७५ सालमा घोषणा भएपनि अहिलेसम्म राजधानी नबन्नुको कारण के हो ?’
सांसद बलायरले प्रदेश राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।
‘यसैले राजधानी कसले बनाउने हो ? राजधानी बनाउने ठाउँम भोगाधिकार केन्द्रले दिएन । राजधानी बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्र सांसद बलायरको निर्वाचन क्षेत्रमा पर्दछ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो सुदूरपश्चिम भ्रमणका विषयमा पनि बलायरले आपत्ति जनाएका छन् । उनले गठबन्धनको संस्कारविपरीत प्रधानमन्त्रीले नेकपा एमालेका नेता लेखराज भट्टलाई भेटेकोमा आपत्ति जनाएको बताइएको छ ।
भट्ट कांग्रेस नेता बलायरसँग कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।