अर्थसचिव सरुवामा आरजुको चलखेल- पुष्कर ल्याउन नसकेपछि अघि सारिन् अर्जुन – Nepal Press

अर्थसचिव सरुवामा आरजुको चलखेल- पुष्कर ल्याउन नसकेपछि अघि सारिन् अर्जुन

करको दर हेरफेर गराउने समूहको पनि साथ

काठमाडौं । कृष्णहरी पुष्करलाई अर्थसचिव बनाउने योजना सफल नभएपछि पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा अर्को विकल्पमा जुटेकी छन् । उनले अब प्रधानमन्त्री कार्यालयमा रहेका सचिव अर्जुन पोखरेललाई अर्थमा तान्ने कसरत सुरु गरेको स्रोतले बताएको छ ।

अर्थमन्त्री प्रकाशशरण महत भने हालका अर्थसचिव तोयम रायबाटै बजेट बनाउने ध्याउन्नमा छन् । तर, उनलाई सत्तारुढ गठबन्धनले रुचाएको छैन । सबैभन्दा बढी राणा अर्थसचिव फेर्न व्यग्र छिन् । उनले पुष्करलाई अर्थमा ल्याउन भगिरथ प्रयास गरे पनि गठवन्धनमा र कांग्रेसभित्र समेत विरोध भएपछि ब्याक भएको स्रोतले बतायो ।

यसअघि बैकुण्ठ अर्याललाई अर्थमन्त्री प्रकाशशरण महतले प्राथमिकतामा राखेका थिए । तर, अर्यालको अवकाश संघारमा आएकाले उनी त्यसबाट पछि हटेको सचिवालय स्रोत बताउँछ । डा. महतमाथि अर्थसचिव बनाउन गठबन्धन दलको शीर्ष तहबाट विभिन्न नाम सिफारिस भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासबाट पनि कृष्णहरीलाई अर्थमा फर्काउन दबाब बढेको थियो । सीसीटीभी फुटेज काण्डमा जनार्दन शर्माले राजीनामा दिने अवस्थासँगै मधु मरासिनीले अर्थबाट बिदा लिएपछि जनार्दन शर्माले पुष्करलाई ल्याएका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको पालामा उनको सरुवा भएर तोयम राया अर्थमा आएका थिए । पुष्कर आरजु राणा र विमलेन्द्र निधिले विश्वास गरेका सचिव हुन् । यद्यपि कांग्रेसकै सांसदहरु भने पुष्करले माथिल्ला नेताबाहेक आफूहरूलाई भाउ नदिएको गुनासो गर्छन् ।

स्रोतका अनुसार राणाले अहिले पोखरेललाई अर्थमा ल्याउन कसरत थालेकी छन् ।

‘भाउजू (आरजु राणा) पुष्करलाई नै अर्थसचिव बनाउन तयारीमा लाग्नु भएको थियो । तर, कांग्रेसभित्र नै ठूलो विरोध भएपछि अर्को विकल्प खोलिएको हो,’ स्रोतले भन्यो, ‘उहाँ अहिलेसम्म शक्तिशाली मन्त्रालयका सचिव नभएका व्यक्तिलाई अर्थसचिव बनाउने योजनामा हुनुहुन्छ ।’

अर्थसचिव सरुवामा अघिल्लो बजेटमा करको दर हेरफेरमा संलग्न स्वार्थ समूहले पनि लबिङ गरिरहेको स्रोतको दाबी छ ।

स्रोत भन्छ, ‘ यस वर्षको बजेटमा पनि केही ठूला व्यवसायीहरूलाई सहज हुने बुँदा बजेटमा समेट्ने जिम्मेवारी पाएको त्यो समूह कम्फर्टेबल अर्थसचिवको खोजीमा छ ।’

उच्च तहका सरकारी कर्मचारी सरुवा गर्न विचौलिया भनेर चिनिएका दीपक भटट् पनि पोखरेललाई अर्थसचिव बनाउन लागि परेका छन् ।

भटट्को नाम सुपारी, पोस्तादाना लगायत माथिल्लो तहबाट सबै काम गर्न सक्ने व्यक्तिका रुपमा परिचित रहेको छ । भट्टले सरकारको उपल्लो स्तरका व्यक्तिलाई प्रभावमा लिएर काम गर्ने गरेका छन् । व्यापारिक, राजनीतिकदेखि सरुवासम्मको उनले काम गर्ने गरेको स्रोतले बतायो ।

राणाले अर्थसचिवमा पोखरेललाई ल्याउन चाहेपछि अर्थमन्त्री डा. प्रकाशशरण महत अप्ठेरोमा परेका छन् । मन्त्री महतले राणाले भनेको कुरा काट्न सक्ने अवस्था पनि छैन । तर, महत बजेट निर्माण हुनुभन्दा पहिले नै अर्थसचिव फेर्ने पक्षमा छैनन् ।

हाल प्रधानमन्त्री कार्यालयमा रहेका सचिव पोखरेलले अर्थको जिम्मेवारी काम गर्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘मैले पहिला पनि अर्थमन्त्रालयमा काम गरेको थिएँ । अहिले सरकारले मलाई अर्थमन्त्रालयको जिम्मेवारी दियो भने काम गर्न तयार छु ।’

आज बस्ने मन्त्रिपरिषद्ले अर्थमा नयाँ सचिव ल्याउने सम्भावना छ । नयाँ सचिव नल्याए रायले नै नयाँ बजेट निर्माण गर्ने छन् ।


प्रतिक्रिया

One thought on “अर्थसचिव सरुवामा आरजुको चलखेल- पुष्कर ल्याउन नसकेपछि अघि सारिन् अर्जुन

  1. बजेटमा करको दर भन्दा धेरै महत्वपूर्ण स्टकको लाइसेन्स हो | दिपक भट्ट एंड कम्पनी (भाउजु + शुलभ अग्रवाल) यसैका लागि मरी हत्ते हरेका हुन् | यसको परिणाम २-४ वर्ष पछि देशको अर्थतन्त्रले पाउछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर