करोडौं मुआब्जा कुम्ल्याउन नक्कली कागजात बनाउने जनप्रतिनिधि र भूमाफियामाथि भएन कारबाही – Nepal Press

करोडौं मुआब्जा कुम्ल्याउन नक्कली कागजात बनाउने जनप्रतिनिधि र भूमाफियामाथि भएन कारबाही

कीर्ते काम गर्नेलाई कारबाही माग गर्ने पीडितलाई अख्तियारले भन्याे- मिलेर जानुस्

रुपन्देही । जनप्रतिनिधि र भूमाफिया मिलेर आफ्नो नाममा नक्कली नाता प्रमाणित गराएर करोडौंको जग्गा हड्पेपछि पश्चिम नवलपरासीको रामग्रामका तिर्थि भरिनको परिवार अहिले छटपटिएको छ ।

उनीहरुकै नामथर मिल्ने एक व्यक्तिको सिफारिसमा चिनेका जनप्रतिनिधि र भूमाफिया मिलेर नक्कली नाता प्रमाणित बनाएर करोडौं मूल्यको बेवारिसे जग्गा नामसारी गरेपछि भोलि आफैंलाई अप्ठेरो पर्ने चिन्ताले भरिन परिवार न्याय खोज्दैछन् ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरेको करोडौं मूल्यको जग्गा उनीहरुको नाममा नक्कली नाता प्रमाणित गरी नामसारी गरिएको हो । उक्त जग्गा आफूहरुको नभएको र आफ्नो नामबाट कसैलाई नबेचिएको भन्दै भरिन परिवारले न्याय दिन माग गरेका छन् ।

यससम्बन्धी समाचार नेपाल प्रेसले मंसिर २८ गते प्रकाशन गरे पनि अहिलेसम्म पीडितले न्याय पाउन सकेका छैनन् । यस काममा संलग्न जनप्रतिनिधि र भूमाफियाले उनीहरुलाई नबोल्न दबाब दिइरहेका छन् । पछिल्लो पटक नेपाल प्रेसले भेटाएको थप प्रमाणमा सम्बन्धित वडा कार्यालयबाट दिइएको मृत्यु दर्तामा दुई वटा मिति र स्वार्थसहितका नाम उल्लेख छन् ।

२०६९/२/१४ को मृत्यु दर्तामा मृतक जेठु भरको मृत्यु दर्ता प्रमाणपत्रमा ससुराको नाम नलेखी बनाइएको छ भने २०७७/१२/३ मा ससुराको नाम ईश्वर भर बनाइएको छ । पीडित परिवार यो विषयमा अख्तियारमा पुगे पनि अख्तियारका कर्मचारीले यो मिलेर जाने विषय भएको भन्दै फोन गरेपछि थप शंका लागेको पीडित परिवारका सदस्य राजु भरले बताए ।

रुपन्देही ठुटिपिपलका टुफेल खानले वारेसनामा बनाएर आफ्नो खातामा विमानस्थलबाट करिब डेढ करोड रकम लिइसकेको आफूहरुलाई सूचना आएको राजुले जानकारी दिए ।

जनप्रतिनिधिको सहयोगमा भूमाफियाहरूले जग्गाको करिब ४ करोड बराबरको मुआब्जा हात पार्ने योजनाका साथ कीर्ते नाता प्रमाणित गरी एउटाको जग्गा अर्कैको नाममा नामसारी गरेपछि यो रहस्य खुलेको हो । जग्गा नामसारीका लागि नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत भूमाफियासँग मिलेर कीर्ते नाता प्रमाणित र जग्गा नामसारी सिफारिस गरेको प्रमाण बाहिर आएको छ ।

यस जग्गाको जग्गाधनी स्वर्गीय रामासरेका दुइटी श्रीमती (जेठी माल्ती भर र कान्छी फुलादेवी भर) भएकोमा दुवैजनाको मृत्यु भइसकेको छ भने उनीहरुको कुनै सन्तान छैनन् । उक्त जग्गाको हकदार कोही नभएको देखिएपछि जनप्रतिनिधिलाई लोभलालभ देखाइ नक्कली नाता प्रमाणित र जग्गा नामसारीको सिफारिस गराउन भूमाफिया सफल भएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्रअन्तर्गतको स्वर्गीय रामासरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गा नक्कली नाता प्रमाणित गराइ अर्कैको नाममा नामसारी गरिदिएपछि यो रहस्य बाहिर आएको हो ।

साबिक भुजौली गाविस वडा नम्बर ७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभए पनि जनप्रतिनिधि र भूमाफियाको योजनामा नक्कली नाता प्रमाणित तयार गरेर मुआब्जाबापतको ४ करोड रकम हात पार्न खोजेको राजुले बताए ।

तिर्थी भरिनका नाति गौतम भरका अनुसार यो खेलमा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल तेली, महिला सदस्य अनिता साहनी संलग्न छन् ।

त्यसैगरी भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका-९ बस्ने घनश्याम पाठकसमेत यस कार्यमा संलग्न रहेको उनले आरोप लगए ।

यता वडा अध्यक्ष यादवले भने नाता प्रमाणितको बेला आफू बिदामा बसेको दाबी गर्छन् । साथै उनले आफूबाट कुनै पनि कीर्ते काम नभएको र यदि प्रमाणित भएमा आफू कारबाहीका लागि तयार भएको बताएका छन् ।

यादव बिदा बसेको बेला महिला सदस्य अनिता साहनीलाई कार्यबाहकको जिम्मेवारी दिइएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको बताइएको छ ।

तर, कार्यबाहक वडा अध्यक्ष सहानीले भने गाउँलेले सिफारिस गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताइन् । ‘सार्वजनिक सुनुवाइ गरी प्रमाण पुर्‍याएर पाँचजनाले देवर भाउजूको रुपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएकी हुँ’, उनले भनिन् ।

तिर्थी भरिनका छोरा राजुले ती सातै जनाका विरुद्ध छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

जनप्रतिनिधि र भूमाफियाले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ की ७० वर्षीय तिर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजू नाता कायम गराएका थिए । यसपछि नक्कली नाता प्रमाणित गराइ उनकै नाउँमा जग्गा नामसारी गरिएको थियो । हाल तिर्थी र उनको परिवार भने रामग्राम नगरपालिका- १७ मा बस्दै आएका छन् ।

तिर्थी भरिनका छोरा राजुले भने स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको बताए । उनले थर मिलेकाले वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर नाता प्रमाणित गराइ नामसारी गरिएको तर आफूहरुलाई यसको कुनै लोभ नभएकाले जसरी भए पनि छुटकारा चाहेको बताए ।

‘हामीलाई कुनै सम्बन्ध नभएको जग्गाको लोभ छैन, आमालाई फसाएर नक्कली नाता बनाएछन्, भोलि त यसको समस्या हामीमाथि आउँछ, हामीले करोडौंको जग्गा नक्कली बनाएको ठहर्छ’, उनले भने, ‘त्यो जग्गाको हकदार कोही पनि छैन, त्यो सरकारको नाममा जाओस्, गल्ती गर्नेलाई कारबाही होस्, हामीलाई मुक्ति होस्, हामीलाई केही लोभ छैन ।’

मुआब्जाबापतको करोडौं रकम कुम्ल्याउन भूमाफियाले बनाएको यस योजनामा ७ जनाको संलग्नता रहेको पाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर ४ लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण गरेको छ । उक्त मूल्यअनुसार रामासरेको ४ कट्ठा ४ धुर जग्गाको मुआब्जा रकम ३ करोड ७८ लाख रुपैयाँ हुन आउँछ ।

ती ७ जनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपैयाँको कपाली तमसुकसमेत गराएको राजुले बताए । उनले तमसुकमा उल्लिखित रकम दिनुपरेमा आफूहरु सडकमा जानुपर्ने बताए ।

उनले कीर्ते काम गर्नेमाथि छानबिन गरेर उक्त जग्गा कानूनअनुसार राष्ट्रियकरण हुनुपर्नेसमेत उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर