५३ वर्षमा नेविसंघका २० सभापति : अग्रजको रजगजमा किन उकुसमुकुस छ नयाँ पुस्ता ? – Nepal Press
नेविसंघको ५४औं स्थापना दिवस

५३ वर्षमा नेविसंघका २० सभापति : अग्रजको रजगजमा किन उकुसमुकुस छ नयाँ पुस्ता ?

काठमाडौं । आजभन्दा ५३ वर्ष पहिला नेपाल विद्यार्थी संगठनको स्थापना भएको थियो । राजा महेन्द्रले कू गरेर पञ्चायती शासन लागू गरेपछि राजनीतिक दलहरु भूमिगत बनेका थिए । २००७ सालको परिवर्तनमा निर्णायक भूमिका निभाएको नेपाली कांग्रेस पार्टी २०२७ साल आइपुग्दासम्म पूर्ण रुपमा भूमिगत बनिसकेको थियो ।

त्यही वेला २०२७ साल वैशाख ६ गते निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लड्न कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको स्थापना भयो । विपीन कोइरालाको नेतृत्वमा सुरु भएको नेविसंघको पहिलो महाधिवेशनबाट शेरबहादुर देउवा सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित भए ।

२०८० सालसम्म आइपुग्दा ७७ वर्षका देउवा पाँचपटक त नेपालको प्रधानमन्त्री बनिसके । तर, उनले ५३ वर्षअघि नेतृत्व गरेको नेविसंघ भने पार्टी नेतृत्वको छायाँमा साँघुरिँदै गएको छ । हिजो पञ्चायती व्यवस्था ढालेर बहुदल ल्याउन, राजतन्त्र ढालेर लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण भूमिका निभाएको नेविसंघ पछिल्लो समय कस्तो अवस्थामा छ भनेर बुझ्न यस संगठनमा सक्रिय कार्यकर्ताहरुलाई नियालेमात्रै पुग्छ ।

केही समयअघि स्ववियु चुनावको वेलाको दृश्य हेरे पुग्छ, नेविसंघ भित्रभित्रै कति धुजाधुजा भएको छ । मुख्यगरी संस्थापन र शेखर-गगन गुटमा बाँडिएका नेता कार्यकर्ताहरु नेतृत्वको मनोमानीविरुद्ध खुलेर मिडियामा बोलेका थिए । नेविसंघको वर्तमान अवस्था बुझ्न पाटन संयुक्त क्याम्पसको स्ववियु निर्वाचन एउटा नजिर हुनसक्छ ।

पाटन क्याम्पसमा नेविसंघका सभापति दुजाङ शेर्पाले सुशील विष्टलाई नेविसंघको सभापति उम्मेदवार भन्दै चिठी दिए । तर, मनोनयनको वेला अर्को चिठी काट्दै युवराज थिङलाई सभापतिको आधिकारिक उम्मेदवार बनाए । शेर्पाको निर्णयबाट विष्ट र उनका समर्थकहरु रुष्ट बने । विष्टले बागी उम्मेदवारी दर्ता गराए र निर्वाचित पनि भए ।

विष्ट भन्छन्, ‘सभापतिको अपरिपक्व राजनीतिको शिकार हुनुपर्‍यो म । तर, विद्यार्थी साथीहरुले क्याम्पसमा मैले गरेको त्याग र योगदानको कदर गर्नुभएको छ ।’

विष्टका अनुसार यसपटकको स्ववियु निर्वाचनमा सभापति शेर्पाले जे जस्ता निर्णय लिए, भोलिका दिनमा ती निर्णयले शेर्पाको राजनीतिक करियरमा अप्ठ्यारो पर्नेछ ।

विष्टले शेर्पाको राजनीतिक करियर अप्ठ्यारोमा पर्ने संकेत गर्नुको कारण हो, भोलिको दिनमा पार्टी राजनीतिमा पनि यसको बाछिटा अवश्य देखिनेछ । नेविसंघको इतिहास हेर्दा पनि विष्टको तर्कलाई नजरअन्दाज गर्न सकिँदैन । अहिले मूल पार्टी हाँकिरहेका अधिकांश नेताले राजनीतिक करियरको सुरुवात नेविसंघबाटै गरेका थिए ।

चाहे शेरबहादुर देउवा हुन् या गगन थापा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुन् वा विमलेन्द्र निधि । अहिले तनहुँ १ बाट निर्वाचन लडिरहेका गोविन्द्र भट्टराई हुन् या धनराज गुरुङ । सबै नेताहरुको राजनीतिक यात्राको पहिलो उडान नेविसंघबाटै भएको थियो ।

२०२८ सालमा २८ वर्षकै उमेरमा देउवा नेविसंघको सभापति बनेपछि लामो समय संगठनको महाधिवेशन हुन सकेन । पञ्चायतविरोधी गतिविधि गरेको आरोपमा देउवा जेलमा थिए । तर, २०३६ सालमा पनि नेविसंघले नयाँ नेतृत्व पायो, निधि । २०३९ सालमा एक वर्षका लागि ज्ञानेन्द्रबहादुर कार्की नेविसंघको सभापति बने । २०४० सालमा बलबहादुर केसी, २०४४ सालमा बालकृष्ण खाँण, २०४८ सालमा एनपी साउद, २०५२ मा धनराज गुरुङ, २०५३ मा गोविन्द भट्टराई, २०५७ मा विश्वप्रकाश शर्मा, २०५९ मा किशोरसिंह राठौर र २०५९ मै गुरुराज घिमिरे सभापति बने ।

त्यस्तै २०६० मा केशव सिंह, २०६२ मा महेन्द्र शर्मा, २०६४ मा प्रदीप पौडेल, २०६४ मै कल्याण गुरुङ, २०६८ मा रञ्जित कर्ण, २०७३ मा नैनसिंह महर र २०७५ मा राजीव ढुंगाना सभापति बने । अहिले भने दुजाङ शेर्पा नेविसंघको सभापति छन् ।

नेविसंघमा सभापति बनेकाहरु मात्रै होइन, केन्द्रीय नेतृत्वमा पुगेका अन्य पदाधिकारीहरु पनि अहिले मूल पार्टीका शीर्ष नेतृत्व हुन् । अहिलेको पार्टीको महामन्त्री गगन थापा स्वयं नेविसंघको महामन्त्री बनेका थिए २०५७ सालमा ।

नेविसंघ हाँकेका तत्कालीन विद्यार्थी नेताहरु मूल पार्टीको शीर्ष नेतृत्वमा मात्रै पुगेनन् । कांग्रेस सरकारमा जाँदा सत्ता र कुर्सीमा पनि उनीहरुकै हालिमुहाली रह्यो । निधि सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र गृहमन्त्री बनिसकेका छन् । अर्का सभापति कार्की, केसी, खाँणलगायत पटकपटक मन्त्री भइसकेका छन् ।

कोइरालापछि २०४८ सालमा पहिलोपटक निर्वाचित सभापति साउद अहलिे परराष्ट्रमन्त्री छन् । २०५२ सालका सभापति धनराज गुरुङ अहिले पार्टी उपसभापति छन् । शर्मा र थापा अहिले पार्टीका महामन्त्री छन् ।

अहिले मूल पार्टीका नेताहरुको विगत केलाउँदा जस्तो चित्र बन्छ, भविष्यमा अहिले नेविसंघमा सक्रिय रहेका नेता कार्यकर्ताहरुको हातमा पार्टीको नेतृत्व पुग्नसक्ने पाटोलाई नकार्न सकिँदैन । त्यसैले त नेविसंघका नेता कार्यकर्ता नेतृत्व अकर्मण्य बन्दै गएको भन्दै खुलेआम विरोधमा उत्रिएका देखिन्छन् ।

नेविसंघ आरआर क्याम्पसका कार्यवाहक सभापति नवीन केडीको बुझाइमा त नेविसंघ अहिले उल्टो बाटोमा हिँडिरहेको छ । विद्यार्थीको मुद्दामा हिँड्नुपर्ने नेविसंघले पुरातन सोच बोकिरहेको छ । केडी भन्छन्, ‘गणतन्त्रमा गइसकेको मुलुकमा पनि स्थापनाकालकै विचार बोकेर नेविसंघ हिँडिरहेको छ । केका लागि संगठन ? हामीले संगठनको महत्व र औचित्य बुझाउन सकिरहेका छैनौं । नेविसंघ अहिले केवल पार्टीको झण्डा बोक्ने काममा मात्रै सक्रिय छ ।’

केडी र विष्टको असन्तुष्टि प्रतिनिधि गुनासा हुन् । नेविसंघमा सक्रिय सयौं नेता कार्यकर्ता अहिले यस्तै प्रकारको फ्रस्टेसन बोकेर हिँडिरहेका छन् । नेविसंघले युवा आउनुपर्छ भनेर आह्वान गरे पनि पुरानै सोच, चिन्तन र प्रवृत्ति भएका मानिसहरुको सक्रियताले संगठन धराशायी बनेर गएको पद्मकन्या क्याम्पसकी इकाइ सभापति सगुन कँडेलको विश्लेषण छ ।

उनी थप्छिन्, ‘नेविसंघबाटै उदाएका नेताहरुले संगठनप्रति चासो नदेखाएको जस्तो देखिन्छ । महाधिवेशन समयमा हुँदैन । संगठन एकताबद्ध छैन, यताउति छरिएको अवस्था छ ।’

त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति श्यामराज ओझा पनि नेविसंघको काम, कर्तव्य र भूमिका परिमार्जन भइसकेको दाबी गर्छन् । तर, परिमार्जन भएपछि काम गरेको छ त ? यसमा ओझा घुमाउरो सुनिन्छन्, ‘अहिले मुख्य रुपमा शैक्षिक एजेन्डा उठाउने, बहस गर्ने तथा नेतृत्वलाई नैतिक बनाउने हो । अनुशासित, वैचारिक, नैतिकवान, सैद्धान्तिक व्यक्तित्व विकासमा नेविसंघले जोड दिनुपर्छ ।’

नेविसंघ कांग्रेसको नेता जन्माउने नर्सरी भए पनि राम्रोसँग छाँटकाँट नभएको तथा माली भनाउँदाले राम्रोसँग हेरचाह नगरेको गुनासो नेविसंघका हरेक नेता, कार्यकर्तामा भेटिन्छ । उनीहरु एक हिसाबले फ्रस्टेसनमा छन् । त्यो फ्रस्टेसन ओकल्न खुलमखुला नेतृत्वको विरोध गरिरहेका छन् ।

तर, पूर्वसभापति महरको सुझाव छ, नेविसंघले आजको समाजको आवश्यकता र परिस्थितिअनुरुप आफूलाई बदल्दै देशका लागि थप योगदान पुर्‍याउनुपर्छ । महर भन्छन्, ‘नेविसंघको सभापति भएका नेताहरु आज पार्टीमा सभापति, उपसभापति, महामन्त्री जस्ता पदमा छन् । नेविसंघ कांग्रेसको नर्सरी हो । यसले समयअनुसार बदलिएर विद्यार्थी आन्दोलनको अगुवाइ गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर