नेपालले अंग्रेजसँग युद्धमा जितेको दिन
केही समय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा पर्यो । किल्लाका सम्पदास्थल केटाकेटी खेल्ने मैदान जस्तै बन्यो । नजिकै कभर्ड हल निर्माण भयो, सार्वजनिक भवन निर्माण भयो र तीनतिरबाट अतिक्रमण तीव्र भयो ।
ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला क्षेत्रको स्वरुप फेरिएको छ । २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यसको गुरुयोजना बनाएर संरक्षण र सम्बर्द्धनको काम भइरहेको छ । तत्कालीन जिविस सदस्य हुँदा भागमा पर्ने केही हजार विकास बजेटलाई जितगढी संरक्षण र सम्बर्द्धनमा लगाएर उजागार गर्न कोसिस गरेका शिवराज सुवेदी बुटवलको मेयरमा निर्वाचित भएर आएपछि उनैको पहलमा जितगढी सम्पदास्थलको सम्बर्द्धनले सार्थकता पाएको हो । सुवेदी २०५४ मा जिविस सदस्य हुँदा प्राप्त गरेको केही बजेटले जितगढीको संरक्षण र सम्बर्द्धन सुरु गरेका थिए ।
यसमा पछि विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि जितगढी केन्द्रित योजनाका काम प्रभावकारी भए । प्रदेश सरकारका तर्फबाट त्यसबेलाका मुख्यमन्त्री शंकर पोखरेल, पर्यटनमन्त्री लीला गिरीलगायतका यस क्षेत्रका जनप्रतिनिधिको पनि साथ रह्यो र जितगढी सम्पदास्थलको सम्बर्द्धनको काम प्रभावकारी बन्यो ।
त्यस अघिसम्म झारले ढाकिएको, एकएक वर्षमा तत्कालीन सेनाले सलामी दिने र सरसफाइ गरी वार्षिकी मनाउने गरिन्थ्यो । यस स्थलमा अहिले आकर्षक संरचना बनेका छन् । उतिबेलाको लडाइँ ताकका सेनाको झल्को दिने गरी सालिकहरु निर्माण गरिएको छ । जितगढीलाई राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास भइरहेको छ ।
अहिले उबेलाको किल्ला परिसरको स्वरुप पूरै फेरिएको छ । नगरसभामार्फत जितगढी किल्ला विजयोत्सवको आधिकारिक तिथि, मिति नै तय गरेर जितगढीलाई उजागार गर्ने र संरक्षण गर्दै विस्तार गर्ने कामले अहिले एउटा चरण पार गरेको छ । ‘जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ’, स्थानीय अगुवा रवीन्द्रगोपाल लाकौल भन्छन्, ‘इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ ।’
जितगढीमा अंग्रेज-नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं.१८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको २०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजयोत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो ।
विजयोत्सव दिवसको आजको श्रृंखलासम्म आइपुग्दा बुटवलले जितगढीको गुरुयोजना को अधिकांश काम पूरा भएको छ । गुरुयोजनाअनुरुपको विस्तृत परियोजना प्रतिवेदन तोकिएका काम साकार हुँदैछन् । जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै माथिल्ला सरकारसँग सहकार्यको प्रस्ताव अगाडि बढाइएको छ । नजिकै रहेको अर्को जग्गामा जितगढी बटौली युद्ध संग्रहालय निर्माण गरिएको छ ।
जितगढीमा अंग्रेज-नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं.१८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको २०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजयोत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । त्यसअघि सम्म विजय भएको दिनको यकिन मितिमा एकमत थिएन ।
इतिहास बुझाउने किल्ला
नेपाल-अंग्रेज युद्धमा नेपालले जीत हासिल गरेको ऐतिहासिक स्थल हो- जितगढी किल्ला । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल-कोहलपुर खण्डको तिनाउ पक्की पुल नजिक रहेको यो किल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा पर्दछ । सन् १६०० तिर भारतमा आएका बेलायती (इष्ट इण्डिया कम्पनी) व्यापारीहरुले राजनीतिमा हात हाली समथर भूभागमा आफ्नो साम्राज्य विस्तार गर्न थालेका थिए ।
नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सिमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरु तत्कालीन अंग्रेजको राजधानी मानिएको कोलकातामा पुगेका थिए । तर, विवाद समाधान हुन सकेन । सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो । सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलकहरु र भारदारहरुले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो ।
के भएको थियो जितगढीमा ?
अंग्रेजहरुले नेपाललाई कम्पनी सरकारमा गाभ्ने योजना बनाइरहेका थिए । नेपाललाई आफ्नो अधिनमा लिएर उनीहरु तिब्बतसम्म पुग्न चाहेका थिए । सीमा विवाद चर्किएर सन् १८१४ मा नेपाललाई हालको रुपन्देहीको बुटवल क्षेत्र र कपिलवस्तुको स्युराज क्षेत्र छाड्न पत्राचार गर्यो । नेपालले युद्ध गर्ने निर्णय गरी पाल्पाका प्रशासक अमरसिंह थापा (साना) लाई खटायो । अंग्रेज सेनाले बुटवलमा आक्रमण गरी २/४ जना रक्षक मारे र बुटवल तथा स्युराजमा थाना स्थापना गरेर फर्कियो ।
सन् १८१४ मे २९ का दिन नेपाली फौजले अंग्रेजले स्थापना गरेको अस्थायी थानामाथि रातको समयमा आक्रमण गरेर उक्त क्षेत्र पुनः कब्जामा लियो । यस्ता अनेकौं घटनालाई निहुँ बनाइ कम्पनी सरकारले सन् १८१४ नोभेम्बर १ का दिन नेपालविरुद्ध युद्धको घोषणा गर्यो । यसबीचमा १८१४ सेप्टेम्बरमा अमरसिंह थापा (साना)को पाल्पामा मृत्यु भयो । त्यसपछि उनका नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भए । उजिरसिंहको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो ।
युद्धका क्रममा नेपालीतर्फको भन्दा अंग्रेजको सैन्य शक्ति बढी भए पनि अंग्रेजले विजय हासिल गर्न नसक्ने र युद्ध लम्बिन सक्ने देखेपछि अंग्रेज सेना युद्धस्थलबाट भागेका थिए । यसरी सानो संख्यामा रहेको नेपाली सेनाले घरेलु हतियारकै बलमा आधुनिक हतियारधारी अंग्रेजलाई परास्त गर्यो ।
सन् १८१४ मै अंग्रेज मेजर जनरल जोन सुलीभान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दुस्तानी फौज लिएर बुटवल हुँदै पाल्पा आक्रमण गर्ने र नेपालको पश्चिम क्षेत्रका किल्ला र सैनिक अखडाहरु कब्जा गर्ने रणनीति बनाएर नेपाल प्रवेश गर्ने योजना बनाए । नेपालका आठ हजार सेनाले त्यसको जवाफ दिँदैछन् भन्ने सूचना पाएपछि अत्तालिएका उनी बुटवल आए । यता सबुज पल्टनसहित गुरुबक्स गुल्म नुवाकोट गढीमा खटिएको थियो ।
जितगढीमा वीरभञ्जन पाण्डेको नेतृत्वमा गुरुबक्स र सबुज गणका सेना खटिएका थिए । १८१५ मा नेपाल प्रवेश गरेका अंग्रेज सेना उड घना जंगल र झाडीमा अलमलिए । आक्रमणका लागि आएको अंग्रेज सेना विचलित भइसकेको थियो । उडले नेपाली सेनाको किल्ला रेकी गर्न पठाए । रेकी गर्न आएको टोली फर्किनै लागेको बेला नेपाली सेनाले किल्लाभित्रैबाट गोली बर्साए । दुई पक्षबीच घमासान युद्ध भयो । त्यसक्रममा नेपाली सेनाका सरदार सूर्य थापाले वीरगति प्राप्त गरेका थिए । सरदार थापालगायत लेप्टेन अम्बर अधिकारी, कुम्भेदान वुषसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थर घर नकुल बानियाँ, जुठे बस्नेतसहित पाँच सय जनाले वीरगति प्राप्त गरेका थिए । यी नै वीर योद्धाहरुको अहिले जितगढीमा अर्धकदको सालिक निर्माण भएको छ ।
युद्धका क्रममा नेपालीतर्फको भन्दा अंग्रेजको सैन्य शक्ति बढी भए पनि अंग्रेजले विजय हासिल गर्न नसक्ने र युद्ध लम्बिन सक्ने देखेपछि अंग्रेज सेना युद्धस्थलबाट भागेका थिए । यसरी सानो संख्यामा रहेको नेपाली सेनाले घरेलु हतियारकै बलमा आधुनिक हतियारधारी अंग्रेजलाई परास्त गर्यो । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई वि.सं १८७२ वैशाख ७ मा विजय हासिल गरी विजयपताका फहराएको थियो । जितगढीमा वीरगति प्राप्त गरेका सपूतहरुको सम्झनामा सम्पदास्थलको संरक्षण, सम्बर्द्धन गर्न बुटवल उपमहानगरपालिकामा यसअघिका जनप्रतिनिधिले सुरु गरेको अभियानलाई निरन्तरता दिँदै गुरुयोजना साकार पार्दा यसक्षेत्रको मुहार फेरिने निश्चित छ ।
को हुन् कर्णेल उजिरसिंह ?
पाल्पा राज्य नेपालमा एकीकृत भएपछि पाल्पाका पहिलो नेपाली प्रशासक भएका थिए– जनरल अमरसिंह थापा (साना) । उनका सात भाइछोराहरु थिए । जेठी पत्नी सत्यरुपाबाट भीमसेन थापा, नयनसिंह थापा, वख्तावरसिंह थापा, अमृतसिंह थापा र रणवीरसिंह थापा जन्मिए । कान्छी पत्नीबाट रणबम थापा र रणध्वज थापा जन्मिए । यीमध्ये नयनसिंह थापाका छोरा हुन् उजिरसिंह थापा । हजुरबुवा अमरसिंहको मृत्युपछि सन् १८१४ देखि १८२४ सम्म १० वर्ष उजिरसिंह थापा पाल्पाको प्रशासक भएका थिए ।
जितगढी केन्द्रित पर्यटन सर्किट
जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकामा यसअघिका मेयर शिवराज सुवेदीको नेतृत्वमा पर्यटकीय थलोका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाइएको थियो । अहिले सोही गुरुयोजना अनुरुपका काम भइरहेका छन् । जितगढीमा अंग्रेजसँग लडेका वीर नेपालीहरुमध्ये १३ जनाको अर्धकदको सालिक निर्माण भएको छ । यी कामको नेतृत्व नेपाली सेनाले गरेको थियो । सेनाले यी संरचना निर्माण गरी हस्तान्तरणको तयारी गरेको छ । उपमहानगरमा जनप्रतिनिधि चुनिएपछि सुरुमै जितगढी किल्ला परिसरमा रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइ गुरुयोजना बनाएर काम अगाडि बढाइएको थियो । अहिले सोहीअनुसार नयाँ आकर्षक संरचना निर्माण भएका छन् । किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसमेत गुरुयोजनामा छ ।
गुरुयोजनाको पहिलो चरणमा २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा बन्ने संरचनाका लागि ११ करोड ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तत्कालीन मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बन्नेछ, जितगढी । मणिमुकुन्द सेन दरबार परिसरबाट नुवाकोट गढीसम्मको पैदल मार्ग तयार भएको छ । हालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उक्त पैदल मार्गको शुभारम्भ गरेका थिए । यसलाई अझ विस्तार र व्यवस्थित गर्न सकिन्छ । निजी क्षेत्रले बुटवलका दुई साइटबाट केबल कार निर्माण गरिरहेका छन् ।
सार्वजनिक-निजी साझेदारीको सहकार्यमा बुटवलको पर्यटनको सम्भावनालाई साकार पार्न सकिन्छ । जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो हो र यसैलाई केन्द्रमा राखेर काम गर्न सकिन्छ । अग्रेज साम्राज्यलाई पराजित गरेको यो थलो नेपालीहरुका लागि मात्रै नभई इतिहाससँग जोडिएको ऐतिहासिक सम्पदा हो । जितगढीलाई केन्द्रमा राखेर तयार पारिएको बटौली पर्यटन सर्किटको अवधारणालाई साकार पार्न सबै जुटौं ।