९ महिनामा १२ खर्बभन्दा बढी बाहिरियो, निर्यातमा छैन सुधार – Nepal Press

९ महिनामा १२ खर्बभन्दा बढी बाहिरियो, निर्यातमा छैन सुधार

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा (साउन-चैत) १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ वस्तु आयातमा बाहिरिएको छ । गत वर्ष यसै अवधिमा १४ खर्ब बढी बाहिरिएको थियो । भन्सार विभागद्वारा हालै सार्वजनिक गरिएको विवरणअनुसार गत वर्षको तुलनामा १८.०८ प्रतिशतले आयात घटेको हो ।

विभागको तथ्यांक अनुसार गत महिनाको (फागुन) तुलनामा चैतमा १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रूपैयाँ बढीको वस्तु आयात भएको छ ।

चैतमा करिब सवा एक खर्ब रूपैयाँ भित्रिएको छ । वस्तु निर्यात गरेर मुलुकले सो रकम भित्र्याएको हो । गत वर्षको यसै अवधिको तुलनामा भने २६.३४ प्रतिशतले निर्यात घटेको छ । यो सँगै मुलुकको वैदेशिक व्यापारघाटा १० खर्ब ८३ अर्ब २२ करोड रूपैयाँ पुगेको विभागले जनाएको छ । चैतमा यो वर्षकै सबैभन्दा अधिक आयात भएको छ ।

यसअघि भदौमा सबैभन्दा बढी आयात भएको देखिन्छ । भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात भएको थियो । चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रूपैयाँबराबरको आयात भएको थियो । मुलुकबाट मासिक खर्ब बढी रकम बाहिरिँदा मुलुक भित्रिने रकम भने मासिक १२/१३ अर्बमात्रै छ । यो वर्ष साउनमा सबैभन्दा बढी निर्यात भएको देखिन्छ ।

कुन महिना कति रकम बाहिरियो, कति भित्रियो ?

साउन : चालु आर्थिक वर्ष (२०७९/८०) को पहिलो महिना साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रूपैयाँ बराबर रकम आयातका नाममा बाहिरिएको छ । तर, मुलुकले उक्त महिना १४ अर्ब ८० करोड रूपैयाँ निर्यातबाट कमाएको थियो ।

भदौः १ खर्ब ४२ अर्ब ३१ करोड आयात र निर्यात १३ अर्ब ८८ करोड रूपैयाँ बराबरको भयो ।

असोज : १ खर्ब २७ अर्ब ४० करोड रूपैयाँ बराबरको आयात र निर्यात १३ अर्ब १४ करोड रूपैयाँ ।

कात्तिक : १ खर्ब ३१ अर्ब ७० करोड रूपैयाँको आयात र १२ अर्ब ९५ करोड रूपैयाँको निर्यात ।

मंसिर : १ खर्ब ३२ अर्ब ५ करोड रूपैयाँ बराबरको आयात र १२ अर्ब ५३ करोड रूपैयाँ बराबरको निर्यात ।

पुस : १ खर्ब २७ अर्ब ९२ करोड रूपैयाँ बराबरको आयात र १३ अर्ब ५० करोडको निर्यात ।

माघ : १ खर्ब २६ अर्ब ५० करोड रूपैयाँको आयात र १२ अर्ब ६३ करोड बराबरको निर्यात ।

फागुन : १ खर्ब ३९ अर्ब २२ करोड रूपैयाँ बराबरको आयात र ११ अर्ब ३६ करोड रुपैयाँ बराबर निर्यात ।

चैत : १ अर्ब ४३ अर्ब १२ करोड रूपैयाँ बराबरको आयात र १३ अर्ब ४८ करोड रूपैयाँ बराबरको निर्यात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *