निगमको दह्रो प्रभाव देखाउन जहाज किन्नैपर्छ : सुदन किराँती – Nepal Press
नेपाल टक

निगमको दह्रो प्रभाव देखाउन जहाज किन्नैपर्छ : सुदन किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदन किराँतीको नेतृत्वमा पुगेको तीन महिना हाराहारी भएको छ । यसबीचमा मन्त्रालयले नेपाल वायुसेवा निगमको आन्तरिक उडानका लागि तीनवटा जहाज किन्ने निर्णय गर्‍यो । तर, निगम आफैंमा ठूलो वित्तीय संकटमा छ । विमान खरिदको मात्रै ऋण २६ अर्ब ४९ लाख छ निगमलाई । यसबाहेक निगमको अन्य ऋण १५ अर्ब ३४ करोड छ ।

नेपाल सरकार जमानी बसेर नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण निगमले तिर्न सकेको छैन । तर, कमाएर त्यही ऋण तिर्न तीनवटा जहाज किन्न उपसमिति गठन गरिएको मन्त्री किराँती बताउँछन् । निगमले जहाज किन्ने निर्णय गर्दैगर्दा जहाजहरु ल्याण्डिङ हुने एयरपोर्टहरु भने गौचरणमा परिणत भएका छन् । नेपालका ५४ एयरपोर्टमध्ये २० वटा त अहिले सञ्चालनमै छैनन् ।

अर्काेतिर नेपालको आकाशलाई जोखिमपूर्ण मानिँदै आएको छ । त्यसको पुष्टि गर्छ नेपालको हवाई इतिहासमा अहिलेसम्म भएका १०४ राष्ट्रिय-अन्तर्राष्ट्रिय हवाई दुर्घटनाले । यी हवाई दुर्घटनामा ८९९ जना यात्रुको ज्यान गएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार दुर्घटनामा बनेका छानबिन समितिहरुले बनाएका प्रतिवेदनहरु मन्त्रालयमै थन्किने गरेका छन् । कार्यान्वयन हुने गरेका छैनन् । यसले दुर्घटनाबाट बच्न गरिने प्रयासहरुलाई निस्तेज पारेको प्रतिवेदनको निष्कर्ष छ ।

महालेखाकै प्रतिवेदनअनुसार ५४ मध्ये ३९ एयरपोर्ट त कम दूरीमा छ । हवाई नीति २०६३ मा उल्लेख भएअनुसार पहाड-हिमालमा २० नर्टिकल माइल र तराईमा ४० नर्टिकल माइलको दुरीमा एयरपोर्ट हुनुपर्छ । तर, ५४ मध्ये ३९ एयरपोर्ट त हवाई नीतिलाई उल्लंघन गरेर बनाइएका छन् । यस्तो एयरपोर्टबाट जहाज उडाउँदा दुर्घटनाको जोखिम बढ्ने हवाईविज्ञहरु बताउँछन् ।

तर, वित्तीय संकटमा रहेको निगम भने जहाज किन्ने कसरतमा छ । यी नै विषयमा मन्त्री सुदन किराँतीसँग नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानी:

– वायुसेवा निगम आफैंमा ठूलो वित्तीय संकटमा छ । ४१ अर्ब ऋण छ । फेरि ऋण लिएर जहाज थप्दा निगमलाई फाइदा के ?

म नीति निर्माता हुँ । नीति बनाएर त्यो नीतिको बाटोमा यो संस्थालाई हिँडाउन चाहन्छु । नेपालमा बनाइएका सबै एयरपोर्टहरु आज सञ्चालनमा छैनन् । अर्बौं रुपैयाँ लगानी गरेर राज्यको कोषबाट निर्मित एयरपोर्टहरु गौचरणमा परिणत भएको देख्दा कसैको पनि चित्त बुझ्दैन । ती एयरपोर्टलाई व्यवसायिक प्रयोजनको निम्ति प्रयोग गर्न सकेनौं ।

हिजो बनिसकेको एयरपोर्ट कानून, नीति, नियम मिचेर बने वा हामी अग्रज नेताहरुको होडबाजीमा बने, त्यो समीक्षाको विषय बन्यो । अब बनिसकेका एयरपोर्टलाई सञ्चालन गर्नु नै मुख्य सवाल हो ।

एयरपोर्टहरुलाई व्यवसायिक र सेवामूलक दुवै ढंगले चलाउन कार्ययोजना चाहियो । कार्ययोजनाको आधारमा संस्था र संस्थामा बस्ने पदाधिकारीको मूल्यांकन गर्छु भनेर पटकपटक ताकेता गरिसकेपछि त्यसलाई सञ्चालनमा ल्याएर जनताको चाहना पूरा गर्न जहाज किन्नुपर्छ भन्ने ठाउँमा निगम पुगेको छ । ऋण त तिर्नु छ नै । त्यो तिर्न आफूलाई व्यवसायिक बनाउन सायद निगमले निर्णय गरेको देखिन्छ ।

– निगम यति धेरै ऋणमा पर्नुको कारण राम्रो कार्य सम्पादन र व्यवस्थापन नहुनुलाई कारक मानिन्छ । तर, तीन वटा जहाज किनेर त्यति धेरै ऋणबाट मुक्त गराउने पाटोलाई कसरी सोचिरहनुभएको छ ?

मैले भनिरहेको कुरा सुधार र विकास त छँदैछ । पुनर्संरचना गरेर पनि जानुपर्छ भनेरै उच्चस्तरीय अध्ययन समिति बनाइसकिएको छ । हिजो कहाँ कहाँ त्यस्तो भयो, त्यो आधारमा आज काम गर्नुहुँदैन भन्नु भनेको आज पछि हट्नु हो । त्यसकारण हिजोको कुराबाट शिक्षा लिँदै आज र भविष्यका निम्ति अगाडि बढ्नु नै छ । हिजो यस्तो भयो भनेर पछि हट्ने सुविधा हामीलाई छँदैछैन ।

– ५४ एयरपोर्टमध्ये २० वटा त अहिले सञ्चालनमै छैनन् । सञ्चालनमा नआएका एयरपोर्टले तपाईंकै कार्यकालमा गति लिन्छ त ?

हिजो बनिसकेको एयरपोर्ट कानून, नीति, नियम मिचेर बने वा हामी अग्रज नेताहरुको होडबाजीमा बने, त्यो समीक्षाको विषय बन्यो । अब बनिसकेका एयरपोर्टलाई सञ्चालन गर्नु नै मुख्य सवाल हो । म त्यसरी नै लागेको छु । नचल्नुको पछाडि धेरै फ्याक्टर होलान् । अर्को कुरा, सायद हाम्रो राजनीतिक नेतृत्वको बीचमा वा कर्मचारीभित्र माथिल्लो स्तरको मान्छेको रुचिमा पनि होडबाजीकै कारण धेरै एयरपोर्ट बने होलान् ।

अहिले गाउँमा बसाइसराइँको लर्को छ । गाउँमा विकास गर्न सकेका छैनौं । विकास पनि शहरमुखी भएको छ । देशमा यातायातको विकास भयो । त्यसले गर्दा मान्छेलाई घण्टौं हिँडेर वा गाडी चढेर सदरमुकामको छेउ पुग्नुभन्दा काठमाडौं नै पुगिहालिन्छ भन्ने छ । तर, विभिन्न कारणले एयरपोर्ट चलेका छैनन् । पूर्ण आवश्यकताको आधारमा एयरपोर्ट चलेको तपाईंहरुले हाम्रो कार्यकालमै देख्न सक्नुहुनेछ ।

अहिले तीनवटा ट्विनेटरस्तरको आन्तरिक उडान गर्ने जहाज खरिद भएपछि हामीसँग पाँचवटा हुनेछ । पश्चिममा दुईवटा, मध्यमा दुईवटा र पूर्वमा एउटा राखेर उडान गर्ने हो भने हाम्रो नचलेका एयरपोर्टहरु कभर हुनेछन् र तराई क्षेत्रमा ७२ सीटे जहाजहरु चलिरहेका छन् । त्यहाँ पनि वायु सेवा निगमको दह्रो प्रभाव देखाउनैपर्छ । अनियन्त्रित रुपमा देखिएको भाडा वृद्धि हाम्रो उपस्थितिमा कन्ट्रोल हुन्छ ।

– भाडादरको विषयमा यात्रुको गुनासो धेरै सुनिन्छ । धनगढीसम्मका लागि १४ हजारभन्दा बढी यात्रुले तिरिरहेका छन् । यस्तो चर्को भाडादर निगमको उपस्थिति नभएर हो कि नियमन नभएर हो ?

निजी क्षेत्र नाफा कमाउनै आउने हुन् । घाटामा सेवा गर्न सक्दैनन् । निगमको उपस्थिति कमजोर भएरै अनियन्त्रित भाडा वृद्धि भएको हो । इन्धनको पनि समस्या हो । मुख्य त निगमको प्रभाव नभएर हो ।

पश्चिममा दुईवटा, मध्यमा दुईवटा र पूर्वमा एउटा राखेर उडान गर्ने हो भने हाम्रो नचलेका एयरपोर्टहरु कभर हुनेछन् र तराई क्षेत्रमा ७२ सीटे जहाजहरु चलिरहेका छन् । त्यहाँ पनि वायु सेवा निगमको दह्रो प्रभाव देखाउनैपर्छ । अनियन्त्रित रुपमा देखिएको भाडा वृद्धि हाम्रो उपस्थितिमा कन्ट्रोल हुन्छ ।

– २०६३ को ऐनअनुसार पहाड र हिमालमा २० नर्टिकल माइल, तराईमा ४० नर्टिकल माइलको दूरी हुनुपर्छ एयरपोर्टको । ५४ एयरपोर्टमा ३९ वटाको दूरी नै कम छ । यसले सञ्चालनमा आउँदा पनि दुर्घटनाको जोखिम बढ्ने भयो । यसको सही ल्याण्डिङ के हुनसक्छ ?

यसलाई दुवै कोणबाट हेर्नुपर्छ । २०६३ सालमा बनेको हवाई ऐन कति वैज्ञानिक थियो वा थिएन ? सम्बन्धित पक्ष वा सरोकारवालासँग हामीले कति छलफल गर्‍यौं ? विज्ञानले प्रमाणित गरेकोे के हो ? त्यो एउटा पक्ष भयो । अर्को पक्ष चाहिँ व्युरोक्रेसी तथा उपल्लो तहका मान्छेको होडबाजीले पनि भयो होला । अब चाहिँ विधिभन्दा बाहिर हुँदैन ।

– दुर्घटनाको जोखिम त कम दूरीमा एयरपोर्ट हुँदा रहन्छ नि ?

सधैं रहन्छ । हामीले हाम्रो कानूनलाई पनि पुनर्विचार गर्नु छ । हवाई इतिहासमा प्रमाणित भएको कुरालाई उल्लंघन गरेको हो भने कानूनद्वारा काम गर्नुपर्छ ।

– नेपालको हवाई इतिहासमा १०४ वटा दुर्घटनामा ८९९ जनाले ज्यान गुमाए । तर, हरेक दुर्घटनाको छानबिन समितिले बनाएका प्रतिवेदनहरु मन्त्रालयमै थन्किने गरेको महालेखापरीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन कार्यान्वयन किन हुँदैन ?

म मन्त्रालयमा आएको तीन महिना हुन लाग्यो । मलाई अघिल्लो सरकारको अविछिन्न उत्तराधिकारी भन्छन् । तर, म विछिन्न उत्तराधिकारी पनि हो । म निरन्तरतामात्रै होइन, मैले कतिपय ठाउँमा ब्रेक गरेर पनि जानुपर्ने हुन्छ । हिजो के भयो भन्ने कुरा इतिहास भइसक्यो । तर, मलाई लाग्छ, धेरै छानबिन कार्यन्वयनमा आएका छन् । पब्लिकलाई बुझाउन सकिएको छैन होला । यदि छैन भने पुनरावलोकन हुन्छ, समीक्षा हुन्छ र त्यस्तो हुन दिइने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर