प्रकाश सपूतले क्षमा माग्दै भने- कसैलाई होच्याएर आफू अग्लिनु छैन
काठमाडौं । गायक प्रकाश सपूतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै माया र प्रशंसाले हौसला प्रदान गरेको तथा खबरदारीले सचेत गराएको उल्लेख गरेका छन् । साथै रात्रिकालीन मनोरन्जन व्यवसायी संघलाई सम्बोधन गर्दै गीत हटाउन सार्वजनिक गरिएको विज्ञप्तिको जवाफ पनि दिएका छन् ।
संघका अध्यक्षलाई सम्बोधन गर्दै गीतका पात्र र पात्रको पृष्ठभूमि तयार पार्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको उल्लेख गरेका छन् । कथा निर्माणको प्रक्रियामा रात्रिकालीन व्यवसाय आएको तर, यसलाई आधिकारिक रिपोर्ट जस्तो गरी नबुझिदिन उल्लेख गर्दै उनले लेखेका छन्, ‘यसलाई कथा वा कला सामाग्रीको रूपमा बुझिदिनुहोला । यदि रात्रिकालीन मनोरञ्जन व्यवसाय (दोहोरी साँझ) हुँदैन थियो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदिनँ थिएँ । म सधैँ ऋणी छु । साथै इमानदारिताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैन थियो भने सकम्बरीको कथा पनि मसँग हुँदैन थियो ।’
आफ्नो गीत र भिडिओलाई लिएर प्रेस विज्ञप्ति र अन्तर्वार्ताहरु आएपछि आफू अलिकति झस्किएको तर, अहिले रात्रिकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन व्यवसायीहरू संस्थागत भएर लागेका देख्दा खुसी लागेको उनले उल्लेख गरेका छन् । तर, आफूले विगतमा पाँच वर्षसम्म दोहोरी साँझमा काम गर्दा अपमानजनक व्यवहार खेपेको र थुप्रै नैतिक प्रश्नहरुको सामाना गरेको पनि बताएका छन् ।
‘समग्रमा क्षेत्र राम्रो, नराम्रो भन्दा पनि हामीभित्र राम्रा, नराम्रा पक्ष र प्रवृत्ति छन् । त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोण झनै भयंकर पक्षपाति छ,’ उनले थप लेखेका छन्, ‘हामी सबैको साझा उद्देश्य समस्या समाभान हो । मर्यादिन र सफल व्यवसाय गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो ।’
झनै अहम् भूमिका राज्यको रहेको उल्लेख गर्दै जस्तो समाजमा बसिन्छ, त्यस्तै चेतनाको धरातलमा टेकेर दृष्टिकोण बन्नेदेखि सृजना पनि बन्ने भएकाले यो देशकै समस्या रहेको सपूतले उल्लेख गरेका छन् । उनले आफ्नो सृजनाले प्रत्यक्ष, अप्रत्यक्ष कसैलाई चोट पुगेमा वा अपमानजनक महसुस भएमा सबैसँग क्षमा समेत माग्दै लेखेका छन्, ‘समाजको सृजना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन ।’
उनले आफ्नो सृजनाले प्रत्यक्ष, अप्रत्यक्ष कसैलाई चोट पुगेमा वा अपमानजनक महसुस भएमा सबैसँग क्षमा समेत माग्दै लेखेका छन्, ‘मलाई कसैलाई होच्याएर आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदै छैन । समाजको सृजना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन ।
सात दिनअघि सपूतको ‘सकम्बरी’ सार्वजनिक भएपछि गीतलाई लिएर अनेक कोणबाट बहस भएका थिए । कसैले यथार्थता देखाएको भनेर प्रशंसा गरेका थिए भने कसैले महिलालाई वस्तुकरण गरेको भनेर उनको आलोचना गरेका थिए । ‘सकम्बरी’ सार्वजनिक भएपछि गीतको भर्त्सना गर्दै युट्युबबाट गीत हटाउन माग गर्दै रात्रिकालीन व्यवसायी संघले प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो ।
हेर्नुस् उनको स्टाटस –