ह्वात्तै बढ्यो बैंकहरूको खराब कर्जा, यी तीन बैंकलाई झनै सकस – Nepal Press

ह्वात्तै बढ्यो बैंकहरूको खराब कर्जा, यी तीन बैंकलाई झनै सकस

कुन बैंकको खराब कर्जा कति ? (सूचीसहित)

काठमाडौ । ऋणीहरूले समयमै ऋण तथा किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । चालू आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूलाई हेर्दा अहिले खराब कर्जा टाउको दुखाई बनेको छ ।

सबैभन्दा बढी तनाव सिभिल बैंकलाई गाभेको हिमालयन बैंक, नेपाल बैंक र कृषि विकास बैंकलाई देखिएको छ । यिनीहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । अहिले हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम थियो ।

त्यस्तै, कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कृषि बैंकको २.३२ प्रतिशत खराब कर्जा थियो । अधिकांश बैंकहरूको खराब कर्जा ३ प्रतिशतभन्दा माथि छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ खराब कर्जा बढेको बैंकहरूको प्रतिवेदन चिन्ताको विषय भएको बताउँछन् ।

‘आर्थिक मन्दी, व्यापार-व्यवसायमा आएको गिरावटजस्ता कारणले ऋणको ब्याज तथा किस्ता तिर्न समस्या भइरहेको छ । तिर्न सक्ने क्षमता भएकाहरू पनि मिनाहा होला अथवा अरु कुनै नीति आउला कि भनेर नतिरी बसेको अवस्था पनि छ । यसले खराब कर्जा बढेको हो’, खालिङ सुनाउँछन् ।

खराब कर्जाले जोखिमसँग सामना गर्नसक्ने बैंकहरूको क्षमता के छ भन्ने पनि मूल्यांकन हुने उनको भनाई छ । जहिले भएपनि कर्जा तिर्नैपर्ने भएकाले उल्टै ऋणी स्वयम्‌लाई भार थपिँदै जाने उनको तर्क छ ।
उनी भन्छन, ‘ऋण मिनाहा, व्याज घट्ने भन्ने हुँदैन । उनीहरूले जसरी पनि तिर्नुपर्छ । बरु अहिलेदेखि ऋण क्लियर गर्दै गए उनीहरूलाई नै सहज हुन्छ ।’

आर्थिक मन्दी, बैंकको चर्को ब्याजदरका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा खराब कर्जा दर बढेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूले घर जग्गामा गरेको लगानी नउठ्दा पनि खराब कर्जा बढेको जानकारहरू बताउँछन । कित्ताकाट बन्द हुँदा कारोबार लगभग ठप्प प्राय बनेको थियो । भर्खरैमात्र सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको निर्धारित समयमा उठ्न नसकेको ऋण नै खराब कर्जाको सूचीमा गनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर