चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, बोहोराको मोबाइल फुटाइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवनमा हुलहुज्जत भएको छ । मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्तिहरु उनीमाथि आइलागेका थिए ।
चिनवन २ को वडा नम्बर ११ स्थित नयाँ किरण माध्यमिक विद्यालय अगाडि घटना भएको हो । रवि आफ्ना केही सहयोगीसहित सो विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए । ‘रवि दाइ हाइ हाइ’ भन्दै नाराबाजी भएपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका हुन् ।
‘के को हाइ हाइ ? अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेपछि प्रहरीले रविलाई सुरक्षा दिएर लगेको थियो । ती युवाहरु र प्रहरीबीच झडपसमेत भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए । एक कार्यकर्ताले उनको मोबाइल खोसेर फ्याकिदिएको सार्वजनिक भिडियोमा देखिन्छ ।
बोहोराका अनुसार सभापति लामिछानेलाई कुनै चोटपटक लागेको छैन । त्यहाँ पार्टीका तर्फबाट कुनै नाराजुलुससमेत नगरिएको उनले स्पष्ट पारे ।
‘हामी हिँडिरहेकामात्र थियौं । सभापतिज्यूले सबैलाई अभिवादन फर्काइरहनुभएको थियो । बाटोमा बसिरहेकाहरुले उहाँको समर्थनमा नारा लगाउनुभयो । हामी उहाँहरुलाई नारा नलगाउन भनिरहेका थियौंं । त्यत्तिकैमा आक्रमण भयो’, बोहराले भने ।
आक्रमण प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु कुन पार्टीका हुन् भन्ने स्पट भएको छैन । स्थानीय प्रशासनले यसबारेमा जानकारी नरहेको बतायो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल प्रेसलाई भने, ‘त्यस्तो कुनै घटना भएको छैन । मलाई यसबारेमा जानकारी भएन ।’