जब नर्भिक चल्न थाल्यो, अनि हामी लखेटियौं
पिताजी लुनकरण दास चौधरीको स्वप्नबाटिका हो नर्भिक, जहाँ फूलहरु रोगमुक्त मुस्कान हाँसिरहेका छन्
नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको । म देखिरहेको छु, मेरो पिताजीको स्वप्नबाटिका जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फुलिरहेका छन् । जहाँ रोगको प्रवेश वर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् । यस्तो स्वप्नबाटिकाको परिकल्पनाकार मेरा पूजनीय पिता स्व. लुनकरणदास चौधरीज्यूको आज १०१ औं जन्म जयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै शब्द सुमन अर्पण गर्न चाहन्छु ।
साथै यहाँहरुको कृपापूर्ण उपस्थितिका लागि पनि कृतज्ञता व्यक्त गर्दै नव वर्षको आत्मीयतापूर्ण शुभकामना अर्पण गर्न चाहन्छु । यहाँहरुको नर्भिकप्रतिको स्नेहका लागि कृतज्ञता व्यक्त गर्न उचित शब्दहरु मसँग छैनन् ।
नर्भिक नामले मात्र होइन, आफ्नो कामले परिचित भएको छ । ३० वर्षअघि रोपिएको बीउबाट हुर्किएको नर्भिक आफ्नो लक्ष्यप्रति इमानदारीका साथ अघि बढ्दै यो अवस्थामा पुगेको संस्था हो । भनिन्छ, सफल हुनु धेरै ठूलो कुरा होइन । तर, सफलता जोगाउन सक्नु सबैभन्दा ठूलो कुरा हो । त्यो सबैभन्दा ठूलो चुनौती हो । यहाँहरु जस्ता संरक्षकहरुको सद्भाव र प्रेरणा तथा यहाँ कार्यरत दक्ष जनशक्तिको कर्मठता र कर्तव्य परायणताका कारण नर्भिक आज यो उचाइसम्म पुग्न सफल भएको छ । म यहाँहरु सबैलाई विश्वास दिलाउन चाहन्छु, नर्भिक सदा इमानदारीपूर्वक आफ्नो लक्ष्यप्रति समर्पित भइरहनेछ ।
वास्तवमा नर्भिकको बारेमा हामीले केही बोल्नुपर्दैन । बोल्छन् ती रोगीका असंख्य आँखाहरु, अनि आफन्तहरु, जो यहाँबाट उपचारित भएर स्वास्थ्य लाभ गरिरहेका छन् । ती आशीर्वादका हातहरु जुन यस स्वस्थ धामको कणकणमा फैलिएका छन् । आज नर्भिक भन्नासाथ सेवा, स्वास्थ्य, सहृदयताको जुन बोध हुन्छ, मैले त्यसैलाई आफ्नो जीवनको परम उपलब्धि ठानेको छु ।
उपलब्धिको कुरा गर्दाखेरी म तीस वर्षपूर्वतिर फर्किएर जब हेर्छु, केही मीठा, केही तीता, केही घतलाग्दा, केही गौरवपूर्ण क्षणको पथमा हिँडेका ती पदचापहरुलाई देख्छु । धेरै मान्छेलाई कौतुहल भइरहन सक्छ, एउटा व्यापारिक घराना किन स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको छ ? यसको पछाडि पक्कै केही न केही कारण हुनुपर्दछ । कोही मलाई सोध्थे, केले तपाईंलाई स्वास्थ्य सेवामा लगानी गर्न प्रेरित गर्यो ? तब म सम्झन्छु, मेरो बचपन (बाल्यकाल) । मेरो जीवन बाल्यकालदेखि नै कहिले पनि धेरै स्वस्थ रहेन । र, आकस्मिक स्वास्थ्योपचारका क्रममा भारत जाँदाखेरी आफूले देखेका, भोगेका ती क्षणहरु म कहिल्यै पनि बिर्सिन सक्दिनँ । त्यो बेला दिल्लीमा अल इण्डिया इन्स्टिच्युट(एम्स)बाहेक न त्योस्तरको अरु अस्पताल नै थिएन न त कर्पोरेट अस्पतालहरु नै आइसकेका थिए । यो करिब ५२ वर्ष अगाडिको कुरा गर्दैछु म ।
नर्भिक नामले मात्र होइन, आफ्नो कामले परिचित भएको छ । ३० वर्षअघि रोपिएको बीउबाट हुर्किएको नर्भिक आफ्नो लक्ष्यप्रति इमानदारीका साथ अघि बढ्दै यो अवस्थामा पुगेको संस्था हो । भनिन्छ, सफल हुनु धेरै ठूलो कुरा होइन । तर, सफलता जोगाउन सक्नु सबैभन्दा ठूलो कुरा हो ।
हामी जतिसुकै भए पनि सामान्य नागरिकभन्दा आफूलाई बाहिर लगेर उपचार गर्नसक्ने सामर्थ्य भएको ठान्छौं । मैले आफ्नै आँखाले देखेको छु, एम्समा जाँदाखेरी भर्नाका लागि मेरा पिताजीले डाक्टरहरुको अगाडि हात जोडेको, झण्डै खुट्टा नै समाउनुभएको । म सम्झिन्छु, एम्सको कम्पाउण्डभित्रै त्यहाँको रुखमुनि मेरी आमाले खाना पकाएर खुवाउनुभएको र, म यो पनि सम्झिन्छु, रगतको टाटा भएको शय्यामा सुतेको ।
मैले अघि बिजको कुरा गरें । त्यही नै बिज मेरो हृदयमा थियो । हामी अलि सक्षम हुँदाहुँदै पनि जब यति धेरै दुःख पाउँछौं भने सामान्य नागरिकको के हालत हुँदो हो ? त्यो नै एउटा प्रण थियो कि म नेपालमा एकदिन अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउनेछु ।
र, आजभन्दा ३० वर्ष अगाडि यसको सुरुवात गरें । त्यसका साक्षी डा. एसके भट्टाचार्य आज यहाँ मौजुद हुनुहुन्छ । म उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु । उहाँहरुको साथ, उहाँहरुको हौसला त्यो बेला नभएको भए यो कार्यको थालनी गर्न त्यति सजिलो हुने थिएन होला ।
हामीले थालनी त गर्यौं । आफ्नो निजी सम्पत्ति थिएन । लिज्ड प्रपर्टीमा सर्भिसेज सुरु गर्यौं । सुरु गरेको केही महिनापछि हामी लखेटियौं । किनभने जब हस्पिटल चल्न थाल्यो, नाम कमाउन थाल्यो, घरधनीहरुलाई लोभ बढेर गयो । त्यसपछि एक ठाउँबाट अर्को ठाउँमा, अर्कोबाट अर्को ठाउँमा सर्दै स्थायी रुपमा थापाथलीमा हामीले थप लगानी गरी आफ्नै जग्गामा हार्ट कमाण्ड सेन्टर स्थापना गर्याैं, जसले कार्डियाक इमरजेन्सीलाई विश्वसनीय स्तरमा आफूलाई विकास गरेको थियो ।
प्रविधिको हिसाबले पनि नर्भिक सधैं अगाडि रह्यो । ३० वर्षअघि नेपालमा पहिलोपटक निजी क्षेत्रमा इको मेशिन ल्याउने पनि नर्भिक नै हो । क्याथ ल्याब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो । नर्भिकले यस्ता धेरै प्रथम कार्यहरु गरेको छ । त्यसको फेहरिस्त मैले अहिले पढ्न थालें भने धेरै समय आवश्यक पर्दछ ।
पैसा कमाउन योभन्दा धेरै ठूला बजार र विकल्पहरु मौजुद छन् । तर, एउटा चित्कार गरिरहेको रोगी, जब स्वास्थ्य लाभ गरिसकेपछि हाँस्छ, मुस्कुराउँछ, त्यो हाँसोको शीतलता जबजब म अनुभव गर्छु तबतब मलाई संसारका सारा कुराहरु फिक्का लाग्छन् । र, आफूमा जन्म-जन्मान्तरको तृप्ति अनुभव गर्दछु ।
पैसा कमाउन योभन्दा धेरै ठूला बजार र विकल्पहरु मौजुद छन् । तर, एउटा चित्कार गरिरहेको रोगी, जब स्वास्थ्य लाभ गरिसकेपछि हाँस्छ, मुस्कुराउँछ, त्यो हाँसोको शीतलता जबजब म अनुभव गर्छु तबतब मलाई संसारका सारा कुराहरु फिक्का लाग्छन् ।
सफलता, असफलता सँगसँगै आउने प्रयत्नहरु हुन् । जब हामी ‘म’को अहम् बाँच्छौं, असफलता हाम्रो नजिक नजिक आउँछ । जब हामी ‘हामी’को महानतालाई बुझ्न थाल्छौं तब हामी सफल हुँदै जान्छौं । स्वास्थ्य सेवा केवल डाक्टरमात्र होइन, नर्समात्र होइन, पारामेडिक्समात्र होइन । केवल अस्पतालको सुविधासम्पन्न भवनमात्र पनि होइन । प्राविधिक, प्रशासनिक एवम् चिकित्सकहरुको सन्तुलित र समर्पित समूहको देन हो । जब सबैको यो निःस्वार्थ भाव समान रुपले एउटै गन्तव्यतर्फ अगाडि बढ्छ तब त्यस कार्यले श्रेय प्राप्त गर्छ । त्यसैले आज नर्भिकको ३० औं वार्षिकोत्सवको यो हर्षोल्लासमय समयमा म सम्पूर्ण नर्भिक परिवारलाई उहाँहरुको यो सफलताका लागि बधाई ज्ञापन गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
आज यस अवसरमा हामीले यस स्थापनाकालदेखि नै सेवा पुर्याउँदै आउनुभएका हाम्रा प्रिय सहकर्मी साथीहरुलाई सम्मान गर्न पायौं, अत्यन्त हर्ष लागेको छ । जसरी स्वास्थ्य विज्ञानमा नयाँ नयाँ सम्भावनाहरु प्रतिदिन थपिँदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौती पनि बढ्दैछन् । हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथसाथै लैजान आज आवश्यक छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मसात गर्दै हामी राष्ट्रलाई समुन्नत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दछौं । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं । तर, सेवा विस्तारका नयाँ नयाँ चुनौतीसँगै ती चुनौतीसँग जुध्न नयाँ जोस र जाँगर पनि आवश्यक रहेको म निवेदन गर्न चाहन्छु । मैले मेरो जीवनको आधा समय नर्भिकलाई अर्पण गरें र नर्भिकलाई आजको यो अवस्थामा लिएर आएँ । त्यसैले अब मलाई विश्वास छ, चौधरी परिवारका नयाँ जोस र जाँगर एवम् मेरी प्रिय पुत्री मेघाले ती चुनौतीहरुलाई अवसरको रुपमा लिनेछिन् र नर्भिकलाई थप उचाइ प्रदान गरी हामी सबैलाई गौरवान्वित तुल्याउनछिन् ।
अन्त्यमा आजको दिनले र विशेषतः यहाँहरुको कृपापूर्ण उपस्थितिले मलाई आफ्नो मानवीय र सामाजिक प्रतिबद्धतामा अघि बढ्न ठूलो हौसला दिएको छ । साथै यस अवसरमा हामीलाई सधैं हौसला, सुझाव, सहयोग गरिदिनुहुने नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, मन्त्रालयका विशिष्ट अधिकृत महोदयहरु, नेपाल मेडिकल काउन्सिलका अध्यक्षज्यू एवं सदस्यज्यूहरु, काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, महानगरका सदस्यज्यूहरु, वडा नम्बर ११ का अध्यक्षज्यू तथा सदस्यहरु ज्यूहरु, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीज्यूहरु सबैमा हार्दिक नमन गर्दछु । यहाँहरुको माया, सद्भाव यसरी नै हामीले पाइरहनेछौं भन्ने पनि मैले विश्वास लिएको छु । साथै आगामी दिनमा नर्भिक अझ बढी व्यापक, प्रविधि एवम् दक्षताका साथ यहाँहरुको सेवा गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
(चौधरीले नर्भिक हस्पिटलको ३०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित समारोहमा व्यक्त विचारको सम्पादित अंश ।)