सिंगापुरविरुद्ध म्याराथन शतक हान्ने युएईका दुई ब्याट्सम्यान- एक पाकिस्तानी, अर्का भारतीय ! – Nepal Press

सिंगापुरविरुद्ध म्याराथन शतक हान्ने युएईका दुई ब्याट्सम्यान- एक पाकिस्तानी, अर्का भारतीय !

यस्तो छ, युएई क्रिकेट टिममा पाकिस्तानी र भारतीय खेलाडीहरुको हालिमुहाली

काठमाडौं । विश्व मानचित्रमा एक-अर्काका दुश्मन देशका रुपमा चिनिन्छन् भारत र पाकिस्तान । यी दुई देशबीच राजनीतिक–सामरिक प्रतिस्पर्धा जति छ, त्योभन्दा चर्को प्रतिस्पर्धा क्रिकेटमा छ । भारत-पाकिस्तानको म्याच भन्नासाथ संसारभरीका क्रिकेटप्रेमी तरंगित हुने गर्छन् ।

तर, रोचक कुरा के भने यी दुई देशका खेलाडीहरु तेस्रो देशको राष्ट्रिय टिमबाट एकसाथ मिलेर खेलिरहेका हुन्छन् । हो, थुप्रै देशका राष्ट्रिय टिममा भारतीय र पाकिस्तानी क्रिकेट खेलाडीहरु भरिभराउ छन् । यहाँ चाहीँ हामी यूएई टिमको विषयमा चर्चा गर्न गइरहेका छौं, जो अहिले नेपालमा एसीसी प्रिमियर लिग खेलिरहेको छ ।

यूएईले आज भएको खेलमा सिंगापुरलाई धुलो चटायो । यूएईका ब्याट्सम्यानहरुले सिंगापुरका बलरहरुको धज्जी उडाउँदै ४७१ रनको भिमकाय स्कोर खडा गरेको थियो । यो प्रदर्शनमा यूएईका दुई ब्याट्सम्यानले विशाल शतक बनाए । उनीहरु हुन्, कप्तान समेत रहेका ओपनर मुहम्मद वसिम र युवा ब्याट्सम्यान भृत्य अरविन्द । वसिमले ८२ बलमा १६० रन बनाउँदै सिंगापुरका बलरको नराम्रो धुलाइ गरे । उनको इनिङमा १६ छक्का समावेश थिए ।

अर्का शतकधारी भृत्य अरविन्दको शैली भने फरक थियो । उनले सुरुमा सम्हालिएर खेले । पछि उनको इनिङ बुन्ने तरिका परम्परागत थियो । अन्तिम ओभरहरुमा उनले हात खोले । अरविन्दले १३३ बलमा १७४ रन हान्दा ७ छक्का र १७ चौका प्रहार गरेका छन् ।

यो त भयो आजको म्याचको कुरा । अब यी दुई खेलाडीको व्यक्तिगत जीवनको चर्चा गरौं । २९ वर्षिय मोहम्मद वसिम र २० वर्षिय भृत्य अरविन्द क्रिकेटका चिर प्रतिद्वन्द्वी पाकिस्तान र भारतका खेलाडी हुन् ।

वसिम पाकिस्तानका, अरविन्द भारतका । कुनै पनि देशमा तीन वर्ष बसोबास गरेपछि त्यहाँको राष्ट्रिय टिमबाट खेल्न पाइने आइसीसीको नियम अनुसार उनीहरुले यूएईको राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

वसिम सन् १९९६ मा पाकिस्तानमा जन्मेका थिए । पञ्जाब शहरको मियान छन्नुमा हुर्किएका उनी युएईमा आएर तीन वर्ष बसेपछि २०२१ मा युएईको राष्ट्रिय टिमबाट खेल्न योग्य बनेका हुन् । वसिम सँधै विष्फोटक अन्दाजमा खेल्ने गर्छन् । सन् २०२१ को ३ फेबु्रअरीमा उनले टि–१० लिगमा १२ बलमा अर्धसतक बनाएका थिए । टि–१० क्रिकटमा त्यो सर्वाधिक छिटो अर्धसतकको किर्तिमान बराबरी थियो ।

सन् २०२१ को मेमा वसिमलाई पाकिस्तान सुपरलिगमा मुल्तान सुल्तान्सले खरिद गरेको थियो । उनी गत मार्चबाट मात्रै यूएई टिमको कप्तान बनेका हुन् ।

अर्का ब्याट्सम्यान भृत्य अरविन्दको जन्मथलो भारतको चेन्नई हो । उनले दुबईस्थित किङ्स स्कुल अल बार्सामा अध्ययन गरेका थिए ।

सन् २०१९ को नोभेमरमा अरविन्दलाई विकेटकिपर ब्याट्सम्यानको भूमिकामा यूएईको राष्ट्रिय टिममा समावेश गरिएको थियो । एसीसी प्रिमियर कप अन्तरगत नै गत साता कुवेतविरुद्धको म्याचमा अरविन्दले १८५ रनको म्याराथन इनिङ खेलेका थिए ।

वसिम र अरविन्द मात्र होइन, युएईको क्रिकेट टिममा अरु खेलाडीहरु पनि या त पाकिस्तानका छन्, या भारतका । चर्चित अलराउन्डर रोहन मुस्तफा पाकिस्तानी हुन् । अर्का बिग हिटर आसिफ खान पनि पाकिस्तानमा जन्मेका हुन् ।

आर्यन लाक्रा, सन्चित मोहन शर्मा र कार्थिक मेइयाप्पनको जन्मथलो भारत हो । अलराउन्डर अयान अफजल खान पनि भारतीय हुन् । यस्तै, जहुर खान, जुनैद सिद्दिकी, रमिज सहेजाद जस्ता खेलाडीहरु पाकिस्तानी मुलका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर