राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर भोलिदेखि उठाइने – Nepal Press

राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर भोलिदेखि उठाइने

काठमाडौं । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा थुप्रिएकाे फाेहाेर भोलिदेखि उठाइने भएको छ ।

सर्वोच्च अदालतले तीनदिनभित्रमा नउठेको फोहोर उठाउन महानरपालिकालाई निर्देशन दिएपछि भोलिदेखि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर उठ्ने भएको हो । आज सिंहदरबारभित्रको फोहोर उठाइएको छ ।

१६ दिनमा २५ टन फोहोर उठाइएको छ । आज सिंहदरबारमा थुप्रिएको फोहोर उठाइसक्ने परिवर्तन सेवा प्रालिका प्रमुख व्यवस्थापक मित्र प्रसाद घिमिरेले नेपालप्रेसलाई बताए ।

सिंहदरबारको फोहोर उठाउने जिम्मा महानगरले निजी कम्पनीलाई दिएको थियो । परिवर्तन सेवा प्रालिले सिंहदरबार, राष्ट्रपति कार्यालय, बालुवाटारको फोहोर उठाउँदै आएको थियो ।

महानगरका मेयर बालेन साहले गत चैत २५ गते सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर नउठाउन निर्देशन दिएको थियो । मेयर साहको निर्देशनपछि १६ दिनदेखि फोहोर उठ्न छाडेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको  छ ।

परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाएको छ । गत चैत २५ गते मेयर साहले सि‌ंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरको नाममा आदेश जारी थियो ।अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *