मर्चवारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षविरुद्ध दोहोरो नागरिकताको उजुरी – Nepal Press

मर्चवारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षविरुद्ध दोहोरो नागरिकताको उजुरी

उपाध्यक्ष र वडाध्यक्षको भेटियो भारतीय निर्वाचन आयोगको पहिचानपत्र

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरई, उपाध्यक्ष आशा सिंह र वडा नं ५ का अध्यक्ष कृष्णकुमार सिंह भारतको समेत नागरिकता लिएको विषय बाहिर आएपछि विवादमा तानिएका छन् ।

मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा र वडा नं.५ का अध्यक्ष कृष्णकुमार नाताले बुहारी र काकाससुरा हुन् । दुई देशको नागरिकता लिएको आरोप लागेका तीनै जना हृदयेश त्रिपाठी अध्यक्ष रहेका जनता प्रगतिशील पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

पालिका अध्यक्ष बरईको विषयमा उजुरी परे पनि कुनै बलियो प्रमाण भेटिएको छैन । उपाध्यक्ष आशा र वडाध्यक्ष कृष्णकुमारका मिल्दो प्रमाण भेटिएका छन् । उनीहरुले सार्वजनिक भएका ती प्रमाण झूटो भएको दाबी गरेका छन् । उनीहरुसँग दुई देशको नागरिकता रहेको भन्दै प्रमाणसहित जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेको छ ।

लामो समयदेखि रुपन्देहीको दक्षिणी क्षेत्रमा राजनीति गर्दै आएको सिंह परिवारका अगुवा जसवन्त सिंहले पञ्चायतकालमै अंगीकृत नागरिकता लिएको स्थानीयको भनाइ छ । उनी सो क्षेत्रमा प्रधानपञ्च तथा बहुदल आएपछि गाविस अध्यक्ष भएका थिए । उनकी श्रीमती पनि प्रधानपञ्च भएकी थिइन् ।

उनका चार भाइछोरा सबै राजनीतिमा छन् । जेठा छोरा श्रीपत गाउँफर्कको समयमा प्रधानपञ्च तथा २०५४ सालमा इलाका सदस्य भएका थिए । माइला छोरा राजकुमार प्रधानपञ्च तथा पछि गाविस अध्यक्ष हुँदा उनकी बुहारी आशा अहिले उपाध्यक्ष र साइँलो छोरा कृष्णकुमार अहिले वडाध्यक्ष छन् । कान्छा छोरा अर्जुन पनि सोही क्षेत्रमा राजनीति गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष बरईले आफूसहित उपाध्यक्ष आशा र वडाध्यक्ष सिंहले दुई देशको नागरिकता लिएको विषयमा मुद्दा परेको पुष्टि गरे । ‘मेरो नाममा पनि मुद्दा परेको थियो दोहोरो नागरिकता लिएको भनेर । त्यसमा केही प्रमाण भेटिएको छैन, उपाध्यक्ष र वडाध्यक्ष सिंहका बारेमा केही प्रमाणहरु देखाइएको छ । वास्तविकता के हो, छानबिन होला नि’, उनले नेपाल प्रेससँग भने ।

उनका अनुसार उपाध्यक्ष आशाको घर भारतको नौतनवामा भएको यथार्थ हो । उनको भारतीय आधार कार्ड र निर्वाचन कार्ड सार्वजनिक भएको छ । ‘नागरिकताको विषयमा छानबिन भएपछि प्रमाणित होला । दुई देशको नागरिकता लिन पाइँदैन भन्ने विषयमा म प्रस्ट छु’, अध्यक्ष बरईले भने, ‘दोषी भेटिए त म पनि कारबाहीमा पर्छु नि ! उजुरी परेकै छ, केही प्रमाण भेटाएका छैनन् । म, उपाध्यक्ष र वडाध्यक्ष एकै पार्टीका हौं ।’

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपाध्यक्ष आशा र वडाध्यक्ष कृष्णले लिएको भनिएका दुई देशको नागरिकताबारे उजुरी परिसकेको र छानबिन चलिरहेको बताए । पाण्डेले दोहोरो नागरिकता लिएको पुष्टि भए कारबाही हुने प्रस्ट पारे ।

‘उजुरी परेको छ । उजुरीपछि सम्बन्धित शाखाबाट यसको अनुसन्धान सुरु हुन्छ, सम्बन्धित व्यक्तिसँग बयान अझै भएको छैन, कानूनविपरीत जान कोही पाइएन’, उनले भने ।

स्थानीय पत्रकार रामविकास चौधरीले उपाध्यक्ष आशा र वडाध्यक्ष कृष्णकुमारको विषयमा नेपाल र भारतका सबै प्रमाणसहित उजुरी परेकाले यथार्थ के हो भन्ने विषयमा छिटो छानबिन हुनुपर्ने बताए । भेटिएका प्रमाणअनुसार भारत निर्वाचन आयोगको पहिचानपत्रको आधारमा आशा सिंह जानकी नगर वडा नं.१८ थाना नौतनवा, तहशील नौतनवा जिला महराजगंज (उ. प्र.) भारतका स्थायी बासिन्दा हुन् । उनको मकान संख्या ४० हो ।

सोही ठेगाना देखिएको कृष्ण सिंहको पहिचानपत्रमा मकान संख्या ४१ छ । आयोगको पहिचानपत्रमा उनीहरूको पिन कोड नं. क्रमशः २७३१६४ उ.प्र. र २७३१६१ उ.प्र. उल्लेख छ ।

माथि उल्लेख भएअनुसार उपाध्यक्ष आशाका ससुरा जसवन्त सिंहका चारभाइ छोरामा श्रीपत, राजकुमार, कृष्णाकुमार र अर्जुनमध्ये आशा राजकुमार सिंहका जेठा छोरा भारत सिंहका श्रीमती हुन् । त्यसैगरी वडाध्यक्ष कृष्णाकुमार सिंह जसवन्त सिंहका साइँला छोरा तथा उपाध्यक्ष आशाका ससुरा काका हुन् ।

राजकुमार सिंह पञ्चायतकालमा ओडवलिया गाउँ पञ्चायतमा २०३९ र २०४३ मा दुईपटक प्रधानपञ्च जितेका थिए भने २०४९ र २०५४ मा दुई पटक सिलौटिया गाविस अध्यक्ष निर्वाचित भएका थिए । पछिल्लो स्थानीय तह निर्वाचनमा उनकी बुहारी आशा मर्चवारीको उपाध्यक्ष निर्वाचित भएकी हुन् । पहिले विभिन्न पार्टीमा रहेका उनीहरु अहिले भने जनता प्रगतिशील पार्टीमा आवद्ध छन् ।

स्वर्गीय जसवन्तका जेठा छोरा श्रीपत २०३२ चैत २९ गते तत्कालीन ठर्की गाउँ पञ्चायतमा प्रधानपञ्च र २०५४ सालमा इलाका सदस्य बनेका थिए । त्यसैगरी अर्जुन सिंहले २०५४ सालमा ठर्की गाविसमा अध्यक्ष जितेका थिए भने आशा र कृष्णा २०७४ को स्थानीय तह निर्वाचनमा मर्चवारी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष हुन् ।

स्थानीयलाई दबाबमा राखेका सिंह परिवारले जस्तो गलत गरे पनि उनीहरु बोल्दैनन् र डराउँछन् । नेपालमा राजनीति गरेर भारतमा सम्पत्ति जोडेको विषयमा धेरैजानकार रहे पनि कोही खुलेर बोल्न तयार छैनन् ।

‘यहाँ उनीहरुको सबै परिवार राजनीतिमा छ, नेपाल र भारतमा सबैले चिनेका छन्, कोही बोल्न सक्दैन । उनीहरुको विरोध गरे, यहाँ कोही बस्न सक्ने अवस्था रहँदैन’, एक स्थानीयले भने, ‘नेपाल र भारत दुबैतिर घरजग्गा रहे पनि उनीहरू खासमा भारतमै धेरै बस्छन् । यहाँभन्दा ठूलो घर भारतमा छ । यहाँ कमाउन आउँछन्, लगानी उतै गरेका छन् ।’

दिनभर मर्चवारी गाउँपालिका- ५ ओडवलिया रहे पनि बेलुका बस्न भारत नौतनवास्थित निवासमा जाने स्थानीय बताउँछन् । यो विषय उनीहरु आफैंले पनि स्वीकार गरेका छन् ।

वडाध्यक्ष कृष्णकुमारले आफ्नो बाबु र आमा दुबैजना पञ्चायतकालमा चारचार पटक प्रधानपञ्च जितेको र आफूहरु पुरानो बासिन्दा भएको र भारतको कुनै प्रमाण नभएको दाबी गरे । आफूविरुद्ध लागेकाहरुले नभएको भारतीय निर्वाचन कार्ड बनाएर बदनाम गर्न खोजेकाले छानबिन हुनुपर्ने उनको जिकिर छ ।

भेटिएको भारतीय कार्डमा उनको नाम कृष्णा सिंह छ । नेपालमा कृष्णकुमार सिंह छ । अरु फोटादेखि ठेगाना सबै दुरुस्त मिलेको छ । तर उनले भारतको त्यो कार्ड सबै नक्कली रहेको दाबी गरेका छन् ।

उनले भारतको नौतनवामा आफूहरु बस्ने घर मावली हजुरबुबा त्रिवेणी क्षेनियाको नाममा रहेको बताए । त्यो आमाले माइतबाट पाएको उनको दाबी छ । सिंहले आफूहरुको नाममा भारतमा कुनै पनि सम्पत्ति वा कागज प्रमाण नभएको दाबी गरे ।

उपाध्यक्ष आशाले पनि भारतीय कागजपत्र सबै नक्कली भएको बताइन् । भारत देवरिया माइत भएकी आशाको नेपाली नागरिकता वैवाहिक अंगीकृत हो । केही दिनअघि मात्र कसैले आफ्नो नाम जोडेर भारत निर्वाचन आयोगको फर्जी पहिचानपत्र तयार गरेको उनले दाबी गरेकी छन् ।

वडा नं १ का अध्यक्ष कृष्ण सिंहले उजुरी परेका व्यक्तिहरु पुस्तौंदेखि यहाँ बस्दै आएको र सीमा क्षेत्रमा बस्नेहरुको भारतमा पारिवारिक सम्बन्ध, आवतजावत हुने बताए । ‘उनीहरुको भारतमा घरसम्पत्ति त छ । तर, आफ्नो नाममा छैन होला, दोहोरो नागरिकताको विषय त छानबिन होला नि ! उजुरी परेको सुनेको छु’, उनले भने ।

के हुन्छ कारबाही ?

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तीनै जनाको नागरिकता र भारतीय कार्डहरुको दुरुपयोगका विषयमा प्रशासनमा मुद्दा परिसकेको छ । नागरिकता ऐन २०६३ को धारा १४ (१) अनुसार कुनै विदेशी व्यक्तिले झूटो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याइ नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ ।

त्यसैगरी नेपाल सरकारले कुनै व्यक्तिलाई नेपालको नागरिकताबाट हटाउने गरी दिएको आदेशउपर ३५दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन लाग्नसक्ने सोही धाराको दफा २ मा उल्लेख छ ।

अधिवक्ता शिव गौडेलले दोहोरो नागरिकताको विषयमा कारबाही हुने विषय प्रस्ट कानून रहे पनि तराईमा यस्तो समस्या धेरै रहेको र धेरैको दोहोरो नागरिकता रहेपनि उजुरी नपरेका कारण कारबाही नभएको बताए ।

‘धेरै व्यापारी, दलका नेता तथा अन्यको दोहोरो नागरिकता छ । सबैभन्दा डरलाग्दो समस्या यता कमाएर उता सम्पत्ति जोड्ने अवस्था डरलाग्दो छ । उजुरीपछि कारबाही हुने हो । प्रश्न उठेपछि जवाफदेही हुनुपर्छ । जनप्रतिनिधि यस्तो गम्भीर विषयमा जोडिएपछि उनीहरुले सिफारिस दिएर बन्ने नागरिकता कस्तो बन्ला ? दलीय नेतृत्व यसमा गम्भीर बन्नुपर्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर