आर्थिक संकट हटाउन बाँदर निर्यातको प्रस्ताव, पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स
शेरबहादुर पुन भन्छन्- निर्यातको कुरा गर्नुअघि बाँदरको संक्रमण नियन्त्रण गरौं
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव मंगलबार प्रतिनिधिसभा बैठकमा राखे । उनले अष्ट्रेलियाले पनि राष्ट्रिय जनावर कंगारु लाखौंको संख्यामा मारेको र छाला निर्यात गरेको दृष्टान्तसमेत दिएका थिए ।
गुरुङले भने, ‘श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ । हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’
किसानले बाँदर आतंकबाट भोगिरहेको समस्यालाई हेर्दा गुरुङले ठीकै बोले कि झैं लाग्नसक्छ । गएको स्थानीय तहको निर्वाचनमा बाँदर आतंकबाट आजित गुल्मीका किसानहरुले त बाँदर लखेट्ने उपाय दिने उम्मेदवारलाई भोट दिनेसमेत बताएका थिए । मालिका गाउँपालिका गुल्मीका किसानहरु मकै छर्ने बित्तिकै बाँदरबाट आजित भएपछि स्थानीय चुनावको बेलासमेत उम्मेदवारहरुसँग बाँदर धपाइमाग्न पुगेका थिए । जसले बाँदर धपाउँछ, उसैलाई भोट दिने भनेरसमेत लागेका थिए ।
मालिका गाउँपालिकाका किसानहरुले आफ्ना उम्मेदवारलाई गरेको आह्वानले पनि उनीहरु बाँदरबाट कति आजित छन् भनेर पुष्टि गर्र्छ । गुल्मीकै सत्यवती गाउँपालिकाका किसानहरु २०७६ सालमा बाँदरबाट कतिसम्म आजित भएका थिए भने उनीहरुले लगाएका मकै, आलु, गहुँलगायत अन्न घरमै आएर बाँदरले खाइदिएका थिए । तनहुँको म्याग्दे गाउँपालिकाका किसानहरु बाँदरबाट आजित भएर २०७७ सालमा जंगलमै फलफूल खेती गर्न बाध्य भएको समाचार बाहिरिएको थियो । उनीहरुको यो समस्याको पूर्ण रुपमा निरुपण भइसकेको अवस्था छैन । उनीहरु अहिले पनि बाँदर आतंकबाट पीडित नै छन् ।
तर, उसपभापति गुरुङले भने जस्तो बाँदर निर्यात गरेर समस्या समाधान होला त ? उनले त अझ अगाडि बढेर बाँदर निर्यातबाट अर्थतन्त्र उकास्ने कुरासमेत गरेका छन्, जसको सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ ।
बाँदर निर्यात गर्ने कुरा गर्नुअघि यो तथ्य बुझ्नु जरुरी छ कि नेपालका अधिकांश बाँदर स्वस्थ छैनन् । २०७२/०७३ सालमा अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआईभी/एड्सको संक्रमण देखियो ।
३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआईभी/एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयको अनुसन्धान टीमले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गर्दा यस्तो नतिजा आएको थियो । ३९ बाँदरमा १७ भाले र २२ पोथी थिए ।
त्यतिवेला अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले भनेका थिए, ‘नेपालको पशुपति र स्वयम्भूका बाँदरहरु डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्ने वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआईभी/एड्सलगायतका अन्य रोग सर्न सक्दछ ।’
बाँदरमा अनेक रोगको समस्या पशुपति र स्वयम्भूमा मात्रै नभएर अन्य ठाउँमा हुनसक्ने डा. पुनको अनुमान छ । बाँदरले किसानलाई मात्रै नभएर मान्छेको स्वास्थ्यमा पनि उत्तिकै समस्या पारिरहेको उनले बताए ।
डा. पुनका अनुसार अहिले पनि शुक्रराज ट्रपिकलमा बाँदरले टोकेका बिरामीहरु प्रायः दैनिक उपचारका लागि आइरहन्छन् ।
उनले नेपाल प्रेसलाई भने, ‘तर समस्या के छ भने त्योबारेमा सार्वजनिक रुपमा कस्तो खालको संक्रमण हो, बाँदरबाट सर्ने रोगका लागि के गर्ने भन्ने कुरा स्पष्ट छैन । कुनै निर्देशिकासमेत छैन । मैले कुरा उठाएको त थिएँ । तर, म एक्लैले उठाएको कुराको सुनुवाइ पनि भएन ।’
पुनका अनुसार बाँदरले टोक्नासाथ भाइरस मान्छेको शरीरमा छिर्छ । त्यसले स्वास्थ्यमा कतिसम्म असर गर्छ भनेर भन्न सकिँदैन । तर, कतिपय अवस्थामा बाँदरको टोकाइबाट खतरनाक रोगहरु लागेर गम्भीर समस्या उत्पन्न हुने पुनले बताए ।
श्रीलंकाले आर्थिक सुधारका लागि लोपोन्मुख बाँदर एक लाखसम्म चीन निर्यात गर्ने भनेर केही समयअघि त्यहाँका कृषिमन्त्रीले बताएका थिए । तर, श्रीलंका स्वयंले भने लगभग सबै प्रकारको जीवित जनावरको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
श्रीलंकाले बेच्न चाहेको छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्त पाइने बाँदर हो । तर, यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आईयूसीएन)ले भने संकटापन्न वन्यजन्तुको सूचीमा वर्गीकृत गरेको छ । श्रीलंकाले यसै वर्षमात्रै बाँदरका तीनवटा प्रजाति र बँदेल, मयूरलाई संरक्षित सूचीबाट हटाएको छ ।
तर, श्रीलंकाको बाँदर निर्यात गर्ने निर्णयप्रति भने पशु अधिकारकर्मीहरुले विरोध गरेका छन् । नेपालमा रहेका बाँदरमध्ये पनि आसामी रातो बाँदर र तराई खैरो लंगुर/हनुमान लंगुर खतराको नजिक रहेको रातो सूचीमा रहेको आईयूसीएनले उल्लेख गरेको छ । त्यस्तै नेपालमा पाइने रातो बाँदर र नेपाली खैरो लंगुर भने कम चिन्ता गर्दा हुने जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०१९ ले त आसामी रातो बाँदरलाई संरक्षित वन्यजन्तुको रुपमा सूचीकृतमात्रै गरेको छैन, शिकार गर्नै निषेध गरेको छ ।
प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले राखेको प्रसंग कोट्याउँदा डा. पुन हाँस्दै भन्छन्, ‘त्यो त ठीकै छ । तर, संक्रमण नियन्त्रण त गर्नुपर्यो । बाँदरमा देखिएका रोगहरु मान्छेमा सर्दा त्यसले ठूलो असर गर्नसक्छ ।’
पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआईभी/एड्सको संक्रमण भएको भए हालसम्म सबै बादर मरेको अवस्थामा पशुपतिको जंगलमा भेटिने थियो होला । तसर्थ स्याम्पल लिदा संयोग त्यस्तो परेको होला ।
कालो काङ्रेसको दिमाग नै कालो भएकोले यस्तो भनेको हुन सक्छ।
अन्यथा नलिदा हुन्छ। एस्तो पनि नेता हुन्छ..???
देश बेचेर खाइसकेको हुँदा अब जङली जनावर पनि नछोड्ने विचारमा
छन यिनीहरु…