लुम्बिनीमा उपधारा २ अनुसार सरकार गठन आह्वान, बिहीबार ४ बजेसम्म समय – Nepal Press

लुम्बिनीमा उपधारा २ अनुसार सरकार गठन आह्वान, बिहीबार ४ बजेसम्म समय

रुपन्देही । लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् ।

गिरीले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनमा अन्योल देखिएको थियो । संविधानको धारा १६८ को उपधारा २ कि ३ मा जाने भन्ने विषयमा अन्योल देखिएपछि प्रदेशका प्रमुख अमिक शेरचनले यसबारे छलफल सुरु गरेका थिए । शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरेर लिखित राय नै मागेका थिए ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलहरुको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न २०८० साल बैशाख १४ गते बिहीबार ४ बजेभित्र दावी पेश गर्न आह्वान गरिएको छ ।

योसँगै यसअघि ५३ जना सांसदले मुख्यमन्त्री बनाउन कांग्रेस दलका नेता डिल्ली चौधरीको नाममा हस्ताक्षर बुझाइसकेकाले उनी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । कांग्रेस पहिलो पटक लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा जाने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर