मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे – Nepal Press

मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे

पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वका सरकार ढलेसँग कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे दौडिए । शनिबार सरकार ढलेसँगै आइतबार हतारमा काठमाडौं पुगे । काठमाडौं पुगेर सभापति शेरबहादुर देउवालाई भेटेपछि उनले गण्डकी प्रदेशको नेतृत्व पहिला माओवादीले पाउने सुईंको पाए ।

सुईंको पाएसँगै कांग्रेसका सबै सांसदलाई काठमाडौं गुहारे । कांग्रेस सांसदको काठमाडौं डेलिगेसनपछि गण्डकीमा कांग्रेसले पहिला नेतृत्व गर्ने सहमति भयो । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रचण्ड गण्डकीको नेतृत्व पहिला कांग्रेसलाई दिन तयार भए । सहमतिसँगै कांग्रेस सांसदहरु मंगलबार पोखरा फर्किए ।

उता माओवादी केन्द्रले पहिला कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति भएको सुईंको पाएसँगै तरंगित बन्यो । मंगलबार बिहानै माओवादी केन्द्र संसदीय दलको बैठक बसेर सरकारको नेतृत्व पहिला माओवादीले पाउनुपर्ने दाबीलाई निरन्तरता दिने निर्णय गरे ।

‘गण्डकीमा पहिला सरकारको नेतृत्व माओवादी गर्न पाउनुपर्छ भन्ने हाम्रो दाबी हो, हामीले मंगलबार बैठक बसेर दाबीलाई निरन्तरता दिने निर्णय गरेका छौं, हाम्रो दाबी नै रहन्छ,’ माओवादी केन्द्रकी प्रमुख सचेतक सुशिला सिंखडाले भनिन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन उनी काठमाडौं लागेका छन् । उनी मंगलबार दिउँसो काठमाडौं लागेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘के कति कारणले कांग्रेसलाई दिने सहमति भएको हो, प्रधानमन्त्रीसँग बुधबार बिहानका लागि समय मागेका छु, छलफलका लागि काठमाडौं जान लागेको हुँ ।’

माओवादीसँग आलोपालो सरकार चलाउने सहमति भएको कांग्रेसका नेताले बताउँदै आएका छन् । कांग्रेस सांसदहरु ८ सीट भएको माओवादीलाई कुनैपनि हालतमा पहिला सरकारको नेतृत्व दिन नहुने बताउदैँ आएका छन् । माओवादी नेताहरु भने यसअघि पनि कांग्रेसलाई मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै अहिले आफूहरुको पालो रहेको बताउँदै आएका छन् ।

प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानमध्ये एक मुख्यमन्त्री बन्ने प्राय निश्चित छ ।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्रीमा हानथापः कांग्रेस सांसद फर्किए, माओवादी सांसद काठमाडौं लागे

  1. सबैतिर खान हानथाप । यिनको हानथापले जनता वाक्क भैसके । अबको चुनावमा अहिलेका गठबन्धनका सबै दललाई जनताले माटोमुनि पुर्याईदिन्छन । निश्चित छ । देश यिनका बाउको विर्ता हो बाँडपचुँडी खान ? सधै अस्थिरता, सधैं लुछाचुँडी, सधैं पदको लागि झगडा, काम गर्ने केही होईन । यस्ता लुटेराहरूको गठबन्धन नामको झुण्डलाई अब जनताले जहाँ पनि बहिस्कार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर