काजमा बसेकालाई दरबन्दीमा पठाउन आईजीपी कुँवरको तारन्तार ताकेता, सिपाही-हवल्दारको ‘रुवाबासी – Nepal Press

काजमा बसेकालाई दरबन्दीमा पठाउन आईजीपी कुँवरको तारन्तार ताकेता, सिपाही-हवल्दारको ‘रुवाबासी

काठमाडौं। प्रहरी महानिरिक्षक(आईजीपी) बसन्त कुँवर आफूलाई पठाइएको दरबन्दीमा नजानेमाथि कठोर बनेपछि यतिबेला प्रहरी कार्यालयहरुमा सिपाही- हवल्दारको रुवाबासी चलेको छ।

आफ्नो रमाना रोकिदिन भन्दै उनीहरुले ‘हाकिम’हरुसँग आग्रह गरिरहेका छन् ।  उनीहरु आफ्ना विभिन्न समस्याहरु देखाएर रमाना नदिन आग्रह गरिरहेको विभिन्न कार्यालयका प्रमुखहरु बताउँछन्।

‘तर आईजिपी साबले नै यसमा कडाई गरेपछि हामीले अहिले गर्न सक्ने अवस्था केही छैन। दरबन्दीमा पठाउँदा कतिपय अनुसन्धानमुखी युनिटहरुमा विशेषज्ञ अनुसन्धान अधिकारीहरुको अभाव चाहीँ हुन सक्छ,’ एक प्रहरी युनिटका प्रमुखले भने।

गत साता मात्र प्रहरी प्रधान कार्यालयले सरुवा र बढुवा भएका तथा काजको अवधि सकिएका सबै प्रहरी अधिकारीलाई आफ्नो दरबन्दीमा पठाउन देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।

‘विभिन्न पावर लगाएर दरबन्दीमा नजाने र आफ्नो अनुकुल ठाउँमा बस्ने प्रचलन नै रहेको थियो। सरुवा र बढुवा भएर पनि रमाना नबुझ्दा वा रमाना नदिँदा विकृती बढेको थियो। काजमा बसेकाहरु पनि ६ महिना बितेपछि सोही ठाउँमा बसिरहेको देखियो। ती सबैलाई दरबन्दीमा जान भनिएको हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

हालका आईजीपी बसन्त कुँवर मधेश प्रदेशको प्रमु्ख रहेका बेला उनले मातहतका सबै प्रहरी अधिकारीलाई आ-आफ्नो दरबन्दीमा पठाउन खोजेका थिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व लिएपछि तत्कालिन एआईजी दिवेश लोहनीले पनि दरबन्दीमा नगएका प्रहरी अधिकारीलाई तत्काल रमाना दिन सर्कुलर जारी गरेका थिए।

‘सबै राम्रो ठाउँमा मात्र बस्ने भए नराम्रो र दुर्गम ठाउँमा चाहीँ को जाने ?’, प्रहरी प्रधान कार्यालयका ती उच्च अधिकारी भन्छन्। स्रोतका अनुसार गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रहरी प्रधान कार्यालयले आफ्ना कर्मचारी व्यवस्थापनको तयारी गर्दा करिब ४० प्रतिशत कर्मचारी आफ्नो दरबन्दीमा नरहेको पाइएको थियो।

‘करिब ७९ हजार प्रहरी कर्मचारीमध्ये ३५ हजार कर्मचारी आफ्नो दरबन्दीमा थिएनन्। यो त ठुलो समस्या हो नी’, उच्च प्रहरी अधिकारी भन्छन्। हाल कार्यालय प्रमुखको कार्यकाल एक वर्षको हुने गरेको छ। अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, साइबर ब्युरो, लागु औषध नियन्त्रण ब्युरोजस्ता विषेशज्ञ युनिटहरुमा सिपाहीँ हवल्दारलाई १० वर्षसम्म काम गर्न दिइने व्यवस्था छ।

श्रीमान श्रीमतीलाई सँगै बस्न मिल्ने गरी सरुवा

प्रहरी प्रधान कार्यालयले केही समय अघि श्रीमान श्रीमतीलाई सँगै बस्न मिल्ने गरी प्रहरी कर्मचारीको सरुवा गरेको थियो। प्रहरी प्रधान कार्यालयले यसरी मिलाएर सरुवा गरेको पहिलोपटक हो।

त्यसरी करिब ९ सय जना श्रीमानरश्रीमतीहरुलाई नजिकैको प्रहरी कार्यालयमा दरबन्दी हुने गरी सरुवा गरिएको छ। त्यसअघि नाता प्रमाणित हुने कागजपत्र पेश गर्ने गरी प्रहरी प्रधान कार्यालयले निवेदन माग गरेको थियो।

एउटा दर्जामा एकपटक श्रीमान श्रीमती सँगै बस्ने मिल्ने गरी सरुवा व्यवस्थापनको निती प्रहरी प्रधान कार्यालयले हालै कार्यान्वयनमा ल्याएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *