दुर्लभ पन्छी सारस संरक्षणको योजना बनाउन विज्ञ टोली लुम्बिनीमा
रुपन्देही । दुर्लभ पंक्षी सारस संरक्षणको योजना बनाउन विभिन्न क्षेत्रका विज्ञहरु लुम्बिनीमा जुटेका छन् । सारस क्रेनको प्रमुख बासस्थान मानिएको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा यो पक्षीको संरक्षणको परियोजना सुरु भएपछि उनीहरु यहाँ जुटेका हुन् ।
टोलीले १० दिनसम्म बसेर यसका विषयमा गम्भीर अध्ययन गर्नेछ । सिमसार क्षेत्रको अतिक्रमण बढेकाले सारस संरक्षणमा संकट आइलागेको भन्दै आलोचना बढेकाले विज्ञहरुले यसमा सरोकार राखेका हुन् ।
वुद्धजन्मस्थल रुपन्देहीको लुम्बिनी क्षेत्र, कपिलवस्तु र पश्चिमनवलपरासीका विभिन्न क्षेत्रमा सारस पंक्षीले वासस्थान बनाउँदै आएको छ । सिमसार क्षेत्रमा रहने विश्वको दुर्लभ पंक्षी संरक्षणका लागि अहिले विज्ञहरुले विशेष पहल गर्दै आएका छन् ।
नेपाल जोलोजिकल सोसाइटीका महासचिव डा. हरि शर्माले संरक्षित पक्षी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्यांक यकिन गर्ने, यसको बासस्थानको अवस्था र भोग्दै आएका समस्या तथा चुनौतीको पहिचान गर्ने, प्रजनन् दरको अवस्था पत्ता लगाउने तथा मानव र यो पक्ष्ँीको सम्बन्धको बारेमा वैज्ञानिक जानकारी संकलन गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको बताए ।
स्थानीय मानिसलाई यसबारेमा सचेतना जगाई बासस्थानको संरक्षण गरी सारसलाई पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने उनको भनाइ थियो । नेपाल जोलोजिकल सोसाइटीको आयोजना र प्राणिशास्त्र केन्द्रीय विभाग, विश्व वन्यजन्तु कोष,इन्टरनेशनल क्रेन फाउन्डेशन र नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा शुरु भएको यो परियोजनाले सारस संरक्षण गरी पर्यापर्यटनमा टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन् ।
लुुम्बिनी प्रदेश पर्यटन वोर्डका कार्यकारी निर्देशक रामु जैशीले दुर्लभ पक्षी सारसलाई पर्यापर्यटनस“ग जोड्दै वन्यजन्तु र संस्कृतिसमेतको पर्यटन मोडल बन्नसक्ने बताएका छन् । डा. हेम कटुवालले नेपालमा सारसको अवस्था, चुनौतिवारे प्रस्तुतिकरण दिए भने विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालले नेपालमा सारसको अवस्था, विकास र सा“स्कृतिक महत्वका साथै दिगो पर्यापर्यटनको बारेमा जानकारी दिएका थिए ।
ग्रीन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले सारसको महत्व र यसको संरक्षणमा स्थानीयको भूमिकाका बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाल जोलोजिकल सोसाइटीका डा. विष्णु भट्टराई र संदीप रेग्मीले सारसको तथ्यांक संकलनमा प्रयोग गरिने प्रविधि र ग्रिडको विषयमा सहभागी तथा अनुसन्धानकर्ताहरुलाई जानकारी दिएका थिए ।
सारस क्रेनको विस्तृत अध्ययन गरिने सो परियोजनामा १८ वटा समूहमा विभक्त भई ४० जना जानकार प्राविधिक तथा विज्ञहरुको सहभागिता रहने सोसाइटीका केशव महतले बताए । बिहीबार टोली कपिलवस्तुमा अध्ययनका लागि गएको नेपाल जोलोजिकल सोसाइटीका डा. विष्णु भट्टराईले जानकारी दिए । रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न क्षेत्रहरुमा पुगेर यो टोलीले अध्ययन गर्ने उनको भनाइ छ ।
नेपालमा सारसको संख्या करिब ८ सय छ । सबैभन्दा बढी लुम्बिनीमा तीन सयभन्दा बढी सारस रहेको लुम्बिनी विकास कोषले जनाएको छ । सिमसार क्षेत्रको संरक्षणका कारण पछिल्लो समय सारसको संख्या लुम्बिनीमा अझै बढ्दै गइरहेको छ । बालक सिद्धार्थका पालादेखिको त्यहीँ पन्छी सारस बुद्ध जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु आसपासमा पाइन्छन् ।
संसारका अरु क्षेत्रको तुलनामा यस क्षेत्रमा सारसको संख्या बढी छ । शान्ति र प्रेमको प्रतीक मानिने पन्छी सारससँग गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । बुद्धका दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएको बताइन्छ ।
वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेकोभन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरुबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुवैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो । शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो । गौतम बुद्धको जीवनमा भएको यो निकै महत्वपूर्ण र प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययन र रहनसहन हेर्न कैयौँ पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ श्रेणीको चरा मानिने सारसको संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवाहरु सक्रियताका साथ लागेका छन् ।
लुम्बिनीको भियतनाम मन्दिर, कोरिया मन्दिर, कोषका कर्मचारी आवास क्षेत्र परिसर तथा नगरपालिकाको जोगडा, आमालगायतका क्षेत्रमा सारस देख्न पाइन्छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले अघिल्लो कार्यकालमा नै सारसलाई लुम्बिनीको नगर पन्छी घोषणा गरेर संरक्षणको काम गरिरहेको छ । सारस संरक्षणका लागि लुम्बिनीमा सारस पार्क निर्माणको तयारी समेत गरिएको छ । यस्तै, विकास कोषले सिमसार क्षेत्रको संरक्षण र विकास गरिरहेको छ ।