नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं: नैनसिंह महर – Nepal Press

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन ढिलो नगरौं: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् । राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिहरू सँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए ।

‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति अधिवेशनबाट टुंगो लगाउनुपर्छ,’ उनले भने ।

प्रत्येक दुई-दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र सांगठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाई छ ।

मंसिर ४ मा आम निर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दा समेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुखःद भएको उनले बताए ।

‘पार्टीलाई व्यवस्थित, समयसान्दर्भिक र परिस्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ,’ महर भन्छन् ।

पार्टीमा देखिएका कमीकमजोरीबारे गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाई छ ।

‘हाम्रासामु जनताको भावना र परिवर्तनलाई आत्मसाथ गर्नसक्ने कांग्रेस निर्माण गर्नुपर्ने चुनौती छ । यसको सामना गर्न समयानूकल रणनीति अख्तियार गर्न हामीलाई चुक्ने छुट छैन,’ महर भन्छन् ।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उनले बताए । नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्त्वको राजनीति गर्न सकिने महरले बताए । उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

‘मूल धारका राजनीतिक दलहरूले उपनिर्वाचनमा अपेक्षित नतिजा नल्याउनुमा आम निर्वाचनपछि बनेको बाम गठबन्धन र उनीहरूको भूमिका पनि बाधक बन्यो,’ उनी भन्छन्, ‘कांग्रेस नेतृत्वको चुनावअघिकै गठबन्धन कायम रहेको भए पनि यो अवस्था आउने थिएन । केही परिस्थितिले राजनीति फेरिन पुग्यो । त्यसले मूलधारका सबै राजनीतिक दललाई असर गर्‍यो ।’

राजनीतिक नेतृत्वप्रति जनतामा वितृष्णा पैदा हुँदा नवउदित शक्तिहरूलाई फाइदा पुगेको महरको बुझाई छ । मुलुकको स्थायी राजनीतिक शक्ति मुलधारका पार्टी रहेको भन्दै कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।

‘स्थायी राजनीतिक शक्ति पनि मूलधारकै पार्टी हुन् । केही गल्ती कमजोरी पनि भएका होलान् । अब ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ,’ उनले भने ।

ठूला राजनीतिक दलहरूले समयसापेक्ष राजनीतिक दललाई परिवर्तित गर्न नसक्दा मुलुकको राजनीति लिक बाहिर जान खोजिरहेको उनले चिन्ता व्यक्त गरे ।

‘हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावना अनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छु,’ उनले भने, ‘पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशिलता खोजेको संकेत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।’

समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोही अनुरुप गतिशील हुनसक्नुपर्ने उनको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर