कतारविरुद्ध नेपालको खराब ब्याटिङ, १५७ रनमै अलआउट – Nepal Press

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, १५७ रनमै अलआउट

दशौं नम्बरमा आएर सन्दीपले बनाए उच्च स्कोर

काठमाडौं । कमजोर मानिएको कतारविरुद्ध नेपालले खराब ब्याटिङको नमूना प्रस्तुत गरेको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाली ब्याट्सम्यानहरु कतारका बलरसामू निरिह देखिए ।

टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको नेपाल १५७ रनमै अलआउट भएको हो । पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बन्यो ।

नेपालका कुनै पनि ब्याट्सयानले ४० भन्दा माथिको स्कोर बनाउन सकेनन् । १० औं नम्बरमा आएका सन्दीप लामिछाने सबैभन्दा धेरै रन बनाए । नेपालका लागि तल्लो क्रमका ब्याटर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन योगदान गरे ।

उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरे । नेपालका ५ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेलले ३६ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन बनाए ।

आसिफ शेखले २७ बलमा १९ रन, सोमपाल कामी र आरिफ शेखले समान ११ रन जोडे । भने, दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।

कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चिए । ओवासिस अहमदले १० ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिँदा, गयान मुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर