अर्थमन्त्रीसँग विराटनगरका व्यवसायीको माग- बथनाहासम्मको रेलमार्गका लागि बजेट आवस् – Nepal Press

अर्थमन्त्रीसँग विराटनगरका व्यवसायीको माग- बथनाहासम्मको रेलमार्गका लागि बजेट आवस्

विराटनगर । विराटनगरका उद्योगी व्यापारीहरूले विराटनगर-बथनाहा रेल मार्ग सञ्चालन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन् ।

प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएका अर्थमन्त्रीलाई उद्योगी-व्यापारीले १८ वर्ष बित्दा पनि रेल मार्ग सुचारु नभएकाले सुचारु गर्नेगरी बजेट विनियोजन गर्न माग गरे । प्रदेशका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रमा भोगेका समस्या समाधान गर्ने र जनताले महसुस गर्नसक्ने बजेट ल्याउन उनीहरूको सुझाव छ ।

अर्थमन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार अन्तरक्रिया कार्यक्रम भएको थियो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले विराटनगर-भारतको बथनाहा रेल सञ्चालनको काम सुरू भएको १८ वर्ष बित्न लाग्दासमेत पूरा नहुँदा औद्योगिक क्षेत्रमा निराशा छाएको बताए ।

‘१८ वर्ष पहिले साढे १८ किलोमिटर रेल्वे निर्माणको लागि काम थालिएको थियो । तर, त्यो कटहरी गाउँपालिकामा मुआब्जासम्बन्धी विवादले काम अघि बढ्न नसकेको बताए । रेल सञ्चालन गर्न भारतीय पक्ष तयार भए पनि नेपाल जागरूक हुन नसक्दा अघि बढ्न सकेन ।’

कार्यक्रममा मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भारतसँगको खुला सिमानाका कारण हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर पुगेको बताए । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको गलत नीतिका कारण तरलता अभाव हुँदा औद्योगिक तथा व्यापारिक क्षेत्र संकटग्रस्त भएको बताए ।

उनले निकासी गर्दा कच्चापदार्थमा लाग्ने अन्तःशुल्क फिर्ता हुनुपर्ने, भन्सारमा लागिएका सन्दर्भ मूल्यसूचीलाई ६ महिनामा परिवर्तन गर्नुको साटो समय सान्दर्भिकरूपमा परिवर्तन गरिनुपर्ने सुझाव दिए ।
अर्थमन्त्री डा । प्रकाश शरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलता भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नका लागि इमानदार भएर काम गर्ने बताए ।

उनले बजेट पेश भएका दिन देखी नै काम नगर्दा पनि समस्या भएको बताएका छन् ।

बजेट पेश भएकै भोलिपल्टदेखि काम गर्नसमेत उनले कर्मचारीहरूलाई निर्देशन दिएका छन् । निजी क्षेत्रले पारदर्शीताको कमजोरी भएकाले सच्याउनु पर्ने बताएका छन् ।

‘एउटै लक्ष्य प्राप्ति गर्नका लागि हामी लागेका छौं । निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर