गृहमन्त्रीलाई भेटेपछि सुनिता डंगोलको प्रतिक्रिया- एकले अर्को मान्छेसँग डराउनुपर्ने अवस्था आयो (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभास गर्न थालेको बताएकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी डंगोलले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएकी हुन् ।
उपमेयर डंगोलले अहिले मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले सीसी क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको उनले जानकारी थिइन् ।
डंगोलले भनिन्, ‘एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ । महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ । महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सिसि क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ । ८ दिन बितिसक्दा पनि घटनाको यथार्थ बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ की छैनौँ भन्ने प्रश्न आएको छ ।’
एमाले स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानकर्षण गराएको थियो ।