अर्कै व्यक्तिको अधिवक्ता लाइसेन्सबाट सर्वोच्चमा बहस गरिरहेका पूर्वहवल्दार !
काठमाडौं । चैतको अन्तिम साता काठमाडौं प्रहरी परिसरले ‘भरतविक्रम सिंह’ नाम गरेका व्यक्तिलाई पक्राउ गर्यो । टेकुस्थित प्रहरी परिसरमा भएको प्रारम्भिक सोधपुछमा ती व्यक्तिले आफ्नो नाम मानबहादुर सिंह भएको बताए ।
जाजरकोटको छेडा नगरपालिका स्थायी घर भएको बताउने मानबहादुरबारे प्रहरीले सम्बन्धित जिल्ला प्रशासनमा बुझ्यो । नागरिकताको प्रतिलिपी प्रहरीलाई पठाइयो । मानबहादुरले भनेको जन्ममिति, ठेगाना र अनुहार उक्त नागरिकताको प्रतिलिपीसँग मिल्यो ।
‘नागरिकताको तस्बिर अलिक घोत्लिएर हेर्दा फरक देखिने अवस्था थियो’, काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले भने । त्यसपछि प्रहरीले आफ्नो च्यानल प्रयोग गरेर छेडा नगरपालिकामा बुझ्यो ।
उताबाट खबर आयो- मानबहादुर त डेढ दुई वर्षअघि नै बितिसकेका हुन् । त्यसपछि प्रहरीले थप केरकार गर्यो । अनुसन्धानका क्रममा ती व्यक्तिले आफू मानबहादुर सिंहको भाइ भक्तबहादुर सिंह भएको बताए ।
‘हामीले फेरि नागरिकताको विवरण हेर्यौं । यसपटक ढुक्क हुने अवस्था थियो’, एसएसपी कार्कीले भने ।
प्रहरीले ती व्यक्तिले सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको थियो । भक्तबहादुर आफू अधिवक्ता बनेर त्यहाँ बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिलापत्र कागज गर्न पुगेका थिए ।
‘एकजना नक्कली अधिवक्ताले काम गरिरहेका छन् भन्ने थाहा पाएपछि हामी सुक्ष्म निगरानीमा थियौं । त्यहीक्रममा उनी सर्वोच्च अदालतमा रहेको थाहा पाएपछि सर्वोच्च प्रशासनलाई समेत जानकारी गराएर हामीले गोप्यरूपमा अनुसन्धान गरिरहेका थियौं ‘, कार्की भन्छन् ।
प्रहरीले नेपाल बार काउन्सिलसँग बुझ्दा भरतविक्रम सिंहको नाममा भक्तबहादुरले प्रयोग गर्ने गरेको अधिवक्ता प्रमाणपत्र नम्बर नेपालगन्जका अधिवक्ता गणेशप्रसाद शर्माको भएको खुल्यो । प्रहरीलाई नेपाल प्रहरीकै एक प्राविधिक डीएसपीले आफ्ना बुबालाई मुद्दा मिलाइ दिन्छु भनेर नक्कली अधिवक्ताले ३० लाख रूपैयाँ ठगेको उजुरी गरेका थिए ।
‘अदालतमा मुद्दा पनि मिलाइ दिन्छु भनेर ३० लाख रूपैयाँ ठगेका रहेछन् । पछि आरोपित व्यक्तिलाई डेढ करोड जरिबाना र कैद सजाय भएपछि परिवार छाँगाबाट खसेजस्तै भएछ’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन् ।
भक्तबहादुरका कान्डैकान्ड
भक्तबहादुरले २०५७ साल वैशाख १ गते नेपाल प्रहरीमा जवान पदमा जागिर सुरू गरेका थिए ।
तालिम गरेर दंगा गणमा रहेका बेला उनी सहायक हवल्दार बन्दै सशस्त्र प्रहरी बल (एपीएफ) पुगे । तर, २०६४ सालमा इन्सपेक्टरको फूली लगाएर दुरुपयोग गरेको अभियोगमा उनलाई सशस्त्रले सेवाबाट बर्खास्त गरेको अनुसन्धानका क्रममा खुलेको छ । त्यतिबेला उनी हवल्दार थिए । त्यसपछि नेपालगन्जमा उनले दुई बालकको हत्यामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका थिए । त्यस्तै नेपालगन्जबाट काठमाडौं ल्याएर भएको युवती अपहरणमा पनि उनी मुछिएका थिए । सोहीक्रममा अधिवक्ता गणेशप्रसाद शर्मासँग भक्तबहादुरको चिनजान भएको पाइएको छ ।
‘उनको मुद्दामा बहस गरेका अधिवक्ताको प्रमाणपत्र नम्बर प्रयोग गरेरै उनले अदालती कामकारबाहीहरू गर्दै आएको पाइएको छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । त्यसयता उनले अधिकांश घटनामा आफूलाई कानुन व्यवसायीका रूपमा प्रस्तुत गरेर मुद्दा मिलाउने, छुटाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
‘उनले कुन कुन अदालतमा के-के काम गरेका छन् भन्नेबारे बुझ्ने काम भइरहेको छ । सर्वोच्च अदालतमा अधिव्कता बनेर मिलापत्रको कागज बनाउने सक्ने व्यक्तिले के-के गरे होलान् भनेर अनुमान गर्न सकिन्छ’, अनुसन्धान अधिकारी भन्छन् । हालसम्म उनीविरुद्ध ८ जनाको जाहेरी आएको पाइएको छ । प्रहरीले सरकारी कीर्ते, ठगी र महिला हिंसासँग सम्बन्धित घटानामा उनीमाथि अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार श्रीमतीसँग उनको सम्बन्ध राम्रो थिएन ।