अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राजधानीको भुगोलपार्कमा अनशनरत नुवाकोटका श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जीवन अधिकारको रक्षा गर्न र सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो ।

‘अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसको कार्यान्वयन हुन सरकारलाई आग्रह गरिएको आयोगका प्रवक्ता एवम सहसचिव टिकाराम पोखरेले जानकारी दिए । ‘साथै आफ्ना माग राख्दा आमरण अनसन जस्तो कठोर बाटो नरोज्नसमेत आयोग अनशनरत पक्षलाई आग्रह गरिएको उनले बताए ।

यसैबिच आयोगले अनसन स्थल पुगेर अनुगमन गर्नुका साथै अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । स्वास्थ्य परीक्षण गराउँदा उनको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको अनुगमनबाट पाइएको आयोगको भनाइ छ ।

आयोगले २०७५ सालमा किसानको अधिकारसम्बन्धी कानुनको पुनरावलोकन तथा अध्ययन प्रतिवेदन तयार गरी नेपाल सरकारलाई १५ बुँदे सिफारिससमेत गरेको विज्ञप्तिमा स्मरण गराएको छ ।

‘जसमा कृषि प्रविधि, उपकरण तथा सूचनाको पहुँचको अधिकार, नीतिगत निर्णयमा सहभागिताको अधिकार, किसान परिचय पत्र उपलब्ध गराई विशेष सहुलियतको व्यवस्था गर्न, किसानले उत्पादन गरेको खाद्यान्नको भण्डारण र सुरक्षण, बजार व्यवस्थापन र अन्नको सुरक्षा गरी किसानसहित सबै नागरिकलाई खाद्यान्नमा सहज पहुँचको व्यवस्था गर्न लगायतका सिफारिसहरू रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्र पूर्णरुपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागसहित घिमिरे गत वैशाख ५ गतेदेखि आमरण अनशनमा छन् । नुवाकोटको ककनी निवासी घिमिरे खाली खुट्टाले हिँड्दै काठमाडौँ आएर असन सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर