सरस्वतीनगर हत्याकाण्डमा सीआईबीले थाल्यो अनुसन्धान, हेडक्वाटरले बनायाे समिति
काठमाडौं । एक साताअघि काठमाडौंको सरस्वतीनगरमा दिनदहाडै भएको हत्यामा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले अनुसन्धान सुरु गरेको छ ।
एक सातासम्म अभियुक्त पक्राउ नपरेपछि सीआईबी प्रवेश गरेको हो। यसअघि काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको थियो ।
महानगरीय प्रहरी कार्यालयले एसएसपीको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो । प्रहरी प्रधान कार्यालयले पनि सीआईबी प्रमुख किरण बज्राचार्यकाे संयाेजकत्वमा अनुसन्धान समिति बनाएकाे छ । समितिमा सीआईबीमै कार्यरत एसएसपी दिनेश आचार्य, काठमाडाैं प्रहरी परिसर प्रमुख दानबहादुर कार्की, काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख मनाेज केसी पनि रहेका छन् ।
यसअघि वैशाख ७ गते ३५ वर्षीया निरा आचार्य आफ्नै भाँडा पसलको काउन्टरमा घाइते अवस्थामा भेटिएकी थिइन् । अपरान्ह साढे ३ बजे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । वरीपरि पसल भएपनि हत्यारा घटना गराएर भाग्न सफल भएका थिए ।
अनुसन्धानका क्रममा हत्याराको सीसीटिभी फुटेजबाट तस्बिर आएपनि पहिचान खुल्न सकेको छैन । लामो समय बित्दासम्म पनि हत्यारा पक्राउ पर्न नसकेको भन्दै संसदमा समेत कुरा उठिसकेको छ ।