ब्याटिङ क्रममा घटुवा गर्दा दीपेन्द्रसिंह ऐरीको लय भंग – Nepal Press

ब्याटिङ क्रममा घटुवा गर्दा दीपेन्द्रसिंह ऐरीको लय भंग

पछिल्ला १० म्याचमा दीपेन्द्रको स्कोर- ०, १२, ७, ५*, १०*, ३४, ७, ४, ८, ७

काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम सम्हालेपछि ब्याटिङ क्रममा केही परिवर्तन गरे । उनले गरेको एउटा महत्त्वपूर्ण फेरबदल हो, दीपेन्द्रसिंह ऐरीलाई मध्य क्रमबाट तल्लो क्रममा घटुवा ।

लामो समयदेखि नेपाली ब्याटिङको एउटा खम्बाका रूपमा रहँदै आएका छन् ऐरी । उनले आफ्नो ब्याटबाट नेपाललाई थुप्रै खेल जिताएका छन् । प्राय चौथो र पाँचौँ नम्बरमा ब्याटिङ गर्ने गरेका ऐरीलाई नयाँ प्रशिक्षक देसाईले ‘फिनिसर’ को नयाँ भूमिका दिए । तर, त्यसयता उनको ब्याट चल्न छोडेको छ ।

परिस्थितिअनुसार आफूलाई ढालेर लामो इनिङ खेल्न सक्ने क्षमताका ब्याट्सम्यान हुन् ऐरी । आवश्यक पर्दा टिकेर खेल्ने र चाहिएको बेला ठूला सट खेल्न सक्ने भएकाले ४ वा ५ नम्बर नै उनलाई सुहाउँदो थियो ।

प्रशिक्षक देसाईले भने उनलाई फिनिसरको भूमिका दिएर ७–८ नम्बरमा खेलाइरहेका छन् । तर यो निर्णयले नेपाललाई ब्याक फायर गरेको छ । दीपेन्द्रले आफ्नो ब्याटिङ फर्म लगातार गुमाउँदै गएका छन् ।

हाल नेपालमा जारी एसीसी प्रिमियर कपमा पनि दीपेन्द्रको ब्याटिङ फ्लप भइरहेको छ । समूह चरणका तीन खेलमा दीपेन्द्रले उल्लेख्य रन बनाउन सकेनन् । पहिलो खेलमा मलेसियाविरुद्ध छैटौँ नम्बरमा ब्याटिङ गर्दै उनी ३ बलमा ५ रन बनाएर अविजित रहेका थिए ।

दोस्रो खेलमा ओमानविरुद्ध सातौँ नम्बरमा आएका उनी सात रनमै आउट भए । समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालको ब्याटिङ नचल्दा दीपेन्द्रको ब्याटबाट पनि १२ रन मात्रै निस्कियो । उक्त म्याचमा दीपेन्द्रलाई आठौँ नम्बरमा धकेलिएको थियो ।

आज भएको कुवेतविरुद्धको सेमिफाइनलमा पनि दीपेन्द्रले रन बनाउन सकेनन् । दुई बलको सामना गरेका उनी शून्यमै आउट भए ।

एसीसी प्रिमियर कप अगाडि विश्वकप लिग २ का पछिल्ला म्याचहरूमा दीपेन्द्रले ब्याटबाट अपेक्षित योगदान दिन सकेका थिएनन् । उक्त लिगका पछिल्ला १२ खेलमा नेपालले ११ खेल जित्दा उनले एउटा खेलमा म्याच विनिङ पारी खेले । उनले स्कटल्यान्डविरुद्धको म्याचमा कठिन अवस्थामा आएर नटआउट ८५ बनाउँदै टोलीलाई जितसम्म डोर्‍याएका थिए । तर, त्यसपछिमा ९ म्याचमा उनको उच्च स्कोर थियो ३४ रन । कुल मिलाएर ती ९ ओडीआइ खेलमा दीपेन्द्रले १०० रन जोडेका छन् । यी सबै खेलहरूमा उनलाई तल्लो क्रममा ब्याटिङ गर्न पठाइएको थियो ।

दीपेन्द्रलाई ४ नम्बरबाट सात–आठमा झारिएपछि उनको आत्मविश्वास खस्किएको महसुस गर्न सकिन्छ । यदि ब्याट्सम्यानका रूपमा मात्रै खेलिरहेका हुन्थे भने टिममा उनको स्थान नै संकटमा परिसक्थ्यो । तर, अलराउन्डरको भूमिकामा भएकाले उनी अझै पनि टिममा अटाइरहेका छन् । ब्याटिङ नचल्दा पनि उनले उत्कृष्ट बलिङ तथा धारिलो फिल्ङिडबाट टिमलाई योगदान दिइरहेकै छन् । सन्दीप लामिछाने र ललितसिंह राजवंशीपछि तेस्रो स्पिनरका रूपमा नेपालले दीपेन्द्रलाई सफल प्रयोग गरिरहेको छ ।

तर, अझै पनि दीपेन्द्रबाट ब्याटिङमै बढी योगदान अपेक्षित छ । संसारमा दिग्गजभन्दा दिग्गज ब्याट्सम्यानहरू पनि खराब समयबाट गुज्रिन्छन् नै । राम्रा ब्याट्सम्यानलाई छिटो फर्ममा फर्काउन मद्दत गर्नु प्रशिक्षकको दायित्व हुन आउँछ । यसको एउटा उपाय भनेको माथिल्लो क्रममा वा टिम सहज अवस्थामा हुँदा ब्याटिङमा पठाउनु हो, ताकि उनीहरूले समय लिएर खेल्न सकुन् ।

आउट अफ फर्म ब्याट्सम्यानलाई दबाबको स्थितिमा वा रन गति बढाउनुपर्ने बेला क्रिजमा धकेल्दा चाहेको नतिजा नआउन सक्छ । दीपेन्द्रको हकमा त्यही भइरहेको छ । उनी क्रिजमा आउँदा या त टिम चरम दबाबमा हुन्छ, या चौका–छक्का हानेर रन गति बढाउनुपर्ने हुन्छ । यस्तोमा उनलाई आफ्नो फर्म फर्काउन कठिन भइरहेको छ ।

नेपालले एसीसी प्रिमियर कपको फाइनल सोमबार यूएईविरुद्ध खेल्दैछ । यो नेपालका लागि निकै महत्त्वपूर्ण म्याच हो । यदि फाइनल जितेमा नेपालले एसिया कपमा स्थान बनाउँदै भारत पाकिस्तानजस्ता क्रिकेटका पावर हावसहरुसँग भेट निश्चित गर्ने छ ।

अहिले नेपाली टिमको मनोबल निकै उच्च छ । सबै खेलाडीहरू फर्ममा छन् दीपेन्द्र बाहेक । उनलाई यो फाइनल एउटा उपयुक्त अवसर हुनसक्छ, आफ्नो गुमेको फर्म फर्काउने । आशा छ, टिम म्यानेजमेन्टले उनको ब्याटिङ अर्डरमा पुनर्विचार गर्ने छन् । विश्वकपको वर्ल्ड क्वालिफायर्समा पनि स्थान बनाइसकेको नेपालका लागि दीपेन्द्रको ब्याट चल्नु निकै महत्त्वपूर्ण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर