सरकारसँग छलफलपछि महावीरले भने- माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं (भिडिओ) – Nepal Press

सरकारसँग छलफलपछि महावीरले भने- माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं (भिडिओ)

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच रक्षा मन्त्रालयमा प्रारम्भिक छलफल सकारात्मक रूपमा टुंगिएको छ ।

मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आज बेलुका पाँच बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले बताए ।

सरकारले चाँडोभन्दा चाँडो आफ्ना मागहरू पूरा गर्नुपर्ने बताउँदै पुनले भने, ‘हेरौं, मागहरू कति चाँडो पूरा हुन्छन् । तर, मागहरु पूरा नभएसम्म आन्दोलन भने रोकिँदैन । भरे बेलुकादेखि वार्ता सुरू हुन्छ ।’

पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । सरकारले नवप्रवर्तन, अनुसन्धान र आविष्कारलाई महत्व नदिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत नवप्रवर्तन, अनुसन्धान र आविष्कारका लागि छुट्याउनुपर्ने, उक्त रकम खर्च गर्न छुट्टै खरिद ऐन बनाउनुपर्ने लगायत पुनको माग छ ।

त्यस्तै नवप्रवर्तित सामानहरूलाई लाइसेन्स, दर्ता लगायत प्रक्रियामा विना झन्झट सहज बनाइनुपर्ने र बजारीकरणमा सहयोग गर्नुपर्ने उनको माग छ । पुन लगायत उनका समर्थकहरु तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *